स्वर्ण सोपानका तख्ता सरी हत्केलाहरू टेक्दै
उक्लनु तिमी यो काँधैसम्म र हेर्नु चारैतिर
उम्डग्का लहलहाउँदा फाँटहरू
जहाँ शिशिरको सिरेटो आफै कठ्याङ्ग्रिएको होस्
र हटुन् निराशाका काला बादलहरू।
म नसकुँला हत्केलामा गुराँस फुलाउन
फुल्नु आफै मनको पहराहरूमा
मुटुको अडेस लागि हेरुँला एकोहोरो
ढुकढुकीको सरगमको तालमा।
चैतपछि पहराका छातीमा पुग्नु
म परेलीका ओत लागि हेरी रहुँला-
मनग्यै तिमी सहस्र धारा सरी बहेको
र सिँचुँला जर्जर आकांक्षाका गराहरू।
औँसीको कठोर रातमा जब अन्धकारको च्यादरले
सब थोक ढाकेका बेला
त्यहाँ अनगिन्ती ताराहरू हुने छन्
जो कहिलेकाहीँ मौन रूपमा टिमटिमाउँछन्
ताराबिच औँसी बनी आत्मशुद्धी र नयाँ सुरुवातको प्रतीक हुन्।
रात शान्त छ किनकि त्यो भोलिको गर्जन हो
औँसी केवल अन्त्य होइन
एक नयाँ सुरुवातको ढोका हो मेरो सेतो मन
र हो प्रारम्भ अँध्यारोबाट प्रकाशतर्फ जानुपर्ने यात्राको।