हरेक साना सहरहरूमा एक यस्तो होटल हुन्छ जो वर्षौँको खोजले भेटाइन्छ। यहाँ धुलिखेलमा पनि यस्तै एक होटल छ।
कलेज छोडेको धेरै वर्ष भइसकेको थियो। संयोगले यो भोजनालयभित्र छिर्दै थिएँ। स्मरणको गर्भमा ओज लिएर बसेको यस ओज–नालयमा म फेरि फर्केर आएको थिएँ।
यस होटलमा मेरो अतीतको केही अंश छ। मेरो अतीत जो कहिलेकाहीँ म स्वप्न नगरीमा गएको झैँ प्रवेश गर्छु, पस्छु अनि हेर्छु ऐनाहरूमा आफ्नो अनुहार। यहाँ मैले मेरो केही अंश प्रतीक्षामा कटाएको छु। आशा खेर फालेर निराशाको चरम आवेशमा यहाँका कुर्सीहरूलाई तताएको छु। हेरेर बसेको छु आशा आउने दोबाटोहरू। यादहरूका अफिम सागरमा डुबुल्की मारेको छु। आफै मारेको छु। आफू हराएको छु। आफूमा हराएको छु।
आजकाल फेरि म यो रोजना–लयमा स्मृति भर्न आउने गरेको छु। आज फेरि त्यहाँ गएको थिएँ। गएर आफ्नो कोठा आएपछि मन भारी भयो। धेरै दिन भएको थियो यो कथा मेरा औँलाहरूले लेख्न चाहेका। आज मेरो साँझ फुर्सदको प्रहरमा रहेछ। यसले कथा मेरो ल्यापटपमा लेख्न पायो। यो भोजनालयको कथा, त्यो मेरो स्मृतिको कथा, जसको अनुभूतिसँग मेरो जोबन मेटामर्फोसिस भएको थियो। भ्रूणबाट जवान बनेको छ। यस भोज–मनालयले मेरो यौवन बचपना र मनको अतृप्त इच्छालय लुकाएको छ। मेरा धेरै साथीहरूको जस्तै यी भित्ताहरूमा मेरो मभित्रको म छ।
तर आजकाल ती भित्ताहरू परिवर्तित छन्। आज यहाँ छ। जहाँ छ तर मूल सार तत्त्व एक छ। भोजनालयको ब्रह्म एक छ। जो पहिला पनि त्यहाँको खानामा थियो। अहिले पनि त्यो मिठासमा छ। धन्यवाद छ। मूल गुह्य तत्त्व एक छ।
सोचेको थिइनँ पहिलो घटनापछि म यो खाना गृहमा आउने कमसेकम मेरा साथीहरू मध्यको अन्तिम पात्र बन्नेछु।
होस्टेलका दिनहरू थिए। थिए भनौँ कि छन् भनौँ। आज पनि कतै भूतहरूको गर्भमा या कतै ब्रह्माण्डको गर्भमा छन् जस्तो लाग्छ। घटनाहरू कुनै अर्को ब्रह्माण्डको ग्रहमा दोहोरिँदै हुन्छन् जस्तो लाग्छ। ती यस माटोमा काटिएका दिनहरू धर्तीमा आफ्नो भोग गर्न आए। क्रमशः गए। जीवनका स्वर्णिम समयहरू मेटामर्फोसिस भएका प्रहरहरू थिए। उमंग लिएर आए। जोस भर्न आए। संसार हेर्ने कल्पना थियो। अठोट थियो। सबभन्दा महत्त्वपूर्ण त यौवन थियो। यौवन रहरहरू थिए। ती सबै एकमुष्ट मभित्र डि नोभो भएर आए। एक बिउ बनेर आए जो बिरुवा बने अनि पूर्ण रुख बने। चौकोटको अनकन्टार गाउँको बीचमा मरुद्यानझैँ लाग्ने सानो सहर थियो। अझै छ। मरुद्यानमा घटनाहरू बनेर आए।
त्यस मरुद्यानमा अझै उस्तै कक्षा कोठाहरू छन्। अझै उस्तै विद्यार्थीहरू छन्। अझै उस्तै शिक्षकहरू छन्। तर फरक छ। पहिला म सानो थिएँ। अलिक सानो भनौँ। गोलार्धमा सानो थिएँ। रहरहरू ठूला थिए तर गर्न सक्ने सामर्थ्य सानो थियो। अहिले पनि उस्तै छु तर जीवनका वसन्तहरूले नयाँ मौसमहरू लुटाउँदै र लुट्दै गरेको जस्तै फेरि अर्को अठोट भिडाएर एक दशकमा पुर्याउने जमर्को गर्दै थियो। अब मेरा शिरमा उत्ति केशहरू छैनन् जति पहिला थिए। पहिला त्यति जुँगा थिएन जति अहिले छ। पहिला म अर्को पत्तिमा बसेको हुन्थेँ अहिले अर्को पङ्क्ति मेरो उभिने कोठा बनेको छ।
एक दशक रूपान्तरणको लागि लामो समय होइन। खर्बौँ खर्ब वर्षहरू यसै एक निमेषझैँ आएर गएका यी ब्रह्माण्डको नियतिमा मेरा यी दशक कसैका लागि ठोस उपलब्धिमूलक नहोलान् जति म होस् भन्ने चाहन्छु। तर संसारलाई उपलब्धि नभएका ती वर्षहरू मेरा लागि उपलब्धि नभएका भन्न सकिँदैन। कुनै प्रहर एक भोगीको लागि विशेष हुन सक्छ। त्यही प्रहर अर्को भोक्ताको लागि कौडी तुल्य हुनसक्छ।
मेरो यो दशकले जीवन सिकाएर गयो। हरेक बाँचेका दशकहरूले जस्तै महत्त्वपूर्ण बनाएर गए। हरेकलाई जस्तै। मलाई पनि। मैजस्तै। मेरो अनुभवलाई सिकाएको जस्तै।
हिजो म विद्यार्थीहरूको पङ्क्तिमा बस्ने गर्थेँ, आज म परस्पर विरोधी पङ्क्तिमा उभिएर पढाउने गर्छु। म ती प्रहरहरूलाई पढाउँछु जसले सुनौलो भविष्य खोज्दै आएको अनुभव गर्दै छन्।
यस्तै छ मेरो अनुभव। यस्तै छ मेरो मपना। यस्तै छ यहाँको हावा। मेरो हावा। मेरो बतास जो यो बतासे डाँडाबाट उम्किएर भाग्न खोज्छ, पूर्व तिर। सायद हावाको गन्तव्य सूर्य हो। जो यो मरुभूमिबाट रौद्र रूपायन घाम खोज्न लम्कँदो छ। कतैको सांसारिक मोह मायाबाट पर। प...र। खै कता? प...र , जहाँ म बाँच्न सक्दिनँ। कोही बाँच्न सक्दैन। मेरो प्रेम पनि बाँच्न सक्दैन, मेरो मोह र मेरो माया कतै बाटामै बिलाएर रूपान्तरण हुनेछ। अर्को शक्तिमा।
यस्तो लाग्छ म यो भाव नगरिको अन्तिम पात्र हुँ। अन्तिम शिव हुँ। जो ध्यानलाई आफ्नो मायावी तत्त्वमा विलीन गराएर गोसाईंकुण्डमा सुत्न गएका छन् नीलकण्ठे–स्वर भएर। स्वरमा स्वर मिलाएर।
निलकण्ठ आज कतै छन्। सायद कोकिल कण्ठ छन्। सायद लेखकीय कण्ठ बन्दै छन्। लाग्छ उनै मायावी राम–कण्ठका विद्यार्थीहरू कुनै बिरामीलाई जाँच्दै छन् कुनै अस्पतालहरूमा। कोही अस्पतालका कोरिडोरहरूमा नाच्दै छन्। हामी राम राज्यका विद्यार्थीहरू।
सायद शिव मैले लिइरहेको हावामा अक्सिजन बनेर भर्खर आए अनि फेरि कार्बनडाइअक्साइड बनेर यो घनचक्करमा उडेर गए।
तर अहिले म यहाँ छु। यहाँ लेख्दै छु। यो पावन ओजनालयमा। यो मिठो मोजनालयमा। स्मिना भोजनालयमा।
००७ वर्ष सायद ०७ महिना हुनपर्छ। मलाई याद छ त्यो ००७ वर्ष नै हो। किनभने मेरो जीवनमा म खुला साढे भएर हिँडेको पहिलो वर्ष थियो। राजाको साढे फुकाइएको पहिलो वर्ष थियो। म राजाको साढे थिएँ। म युवराज थिइनँ तर मलाई मेरा बाबा आमाले राजसी ठाँटमा बाँधेर पालेका थिए। मायाले बाँधेर पालेका थिए। जति सकिन्छ उत्ति बाँधेका थिए। तर समय आइसेको रहेछ। बन्धन फुका गर्न बाहेक अर्का विकल्प थिएन। सायद त्यो प्रहरको उहाँहरू युगौँदेखि प्रतीक्षा गर्दै हुनुहुन्थ्यो।
ल जा। तँ अब फुका भइस्। संसार चिन्न पर्छ। जीवन जिउनु पर्छ।
मलाई याद छ त्यही वर्ष हो जुन वर्ष धुलिखेलमा फेब १४ सदाझैँ रौसिएर आएको थियो। एक युगमा एक दिन भएर आएको थियो। धेरै वर्षपछि धुलिखेललाई प्रकृतिले अचम्मित पारेको थियो। यहाँका बुढा मियाँहरू पनि अचम्मित थिए। हामी तरुण जराहरू पनि रौसिएका थियौँ। हिउँ परेको थियो।
इट वाज स्नोइङ इन काठमाडौँ। कुनै हलिवूड चलचित्रको संवाद थियो।
के साँच्चै काठमाडौँले हिमपात अनुभव गरेको छ त? मैले १८ गृष्म पार गर्दा पनि अनुभव गरेको थिइनँ।
धेरै वर्ष भइसकेको रहेछ नगरेको। तर त्यो वर्षले गर्यो। धुलिखेलमा गर्यो। म भन्न सक्दिनँ काठमाडौँमा गर्यो या गरेन तर त्यो वर्ष धुलिखेल मेरो काठमाडौँ भइसकेको थियो। बालपन काठमाडौँमा बिताएर म यौवन रहर पूरा गर्न, यौवन अनुभव संगाल्न धुलिखेल आएको थिएँ।
हामी कक्षा कोठामा रङ्गरलिँदै थियौँ। त्यस दिनहरू परिचयात्मक थिए। समयले पूर्व झापादेखि पश्चिम स्याङ्जासम्मका तरुणहरू एक कोठामा हुलेको थियो। तरुण तरुनाहरू एकसँग अर्कोको भावना, मोह, मायाहरू आदान प्रदान गर्दै थिए। केही उत्साहका रङहरू कक्षा कोठाभित्र आदान प्रदान हुँदै थियो।
कोठानगरिभित्र छिर्दै असरफ सर आफ्नै पारामा रौसिन लाग्नु भयो।
‘कम कम। कम आउटसाइड। इट्स स्नोइङ।'
अर्को पलमा हामीहरू कक्षा कोठाबाट बाहिर हिउँको आनन्द लिँदै थियौँ। फराकिलो चौर थियो, छ। भवनहरूबाट बेरिएर चौरले आफ्नो ढुङ्गाले छाएको अस्तित्व जोगाएको थियो, छ। उसलाई हिउँका कोमल रुईहरूले स्पर्श गर्दै थिए। हिउँका सेता रुईहरूले मनभित्र आनन्दहरू उडाएर ल्याएका थिए। बालपन हटाएर हामीहरू सबैमा यौवनको पहिलो पाइला टेकाएको थियो।
आगो अघि नौनी पग्लनै पर्छ। उसै गरी पग्लिँदै थियो रुई। अनि उसै गरी पग्लँदै थियो हाम्रो शरीरभित्रको रुई। बालापनलाई हटाउँदै थियो रुई। हामीहरूसँग किशोर बन्न खोज्दै थियो रुई। सायद बालापन पगालेर एक केटो सायद एक पुरुष बन्न तयार थियो। एक केटी सायद एक तरुणी बन्न तयार थिई।
द्याट वाज अ प्लेस ह्वेर ब्वाइज चेन्ज इन्टू मिन।
थाहा छैन पुरुष भइयो भइएन। अझै लाग्छ केटौले नै छु।
त्यो कण हिउँ बनेर आयो अनि पानी बनेर धर्ती रुझाएर गयो। ती कणहरू ती नै प्रहरहरूमा आए– गए। तर हामीमा त्यो सौन्दर्य हुत्त्याएर गए जो आजपर्यन्त हाम्रो मनका तरेलीहरूमा घुम्टो ओढाएर राखिएको छ।
दसैँ-तिहार बीचको समय थियो। स्पोर्टस् विक चलिरहेको थियो। हामीहरू दिनभर केयूको फुटबल मैदानमा खेलेर, कसैले खेल हेरेर, कोही हेरिएर, कसैले माया पिरती कोरलेर, कोरलिएर हाम्रो रोमाञ्चनालय आएका थियौँ।
स्मिना त्यो बेला बच्चै थिई।
रोड छेउको घर, घरको अघिल्लो सटर बाहिर एक र्याक। र्याकमा दुनोट, पफ, अनि केही डब्बाभित्र चकलेटहरू थिए। अर्को ठूलो र्याकमा बिस्कुट चाउचाउ थियो। केही थान दारु जो भारु साटेर आएका थिए होटलको र्याकमा। छेउमा एक टेबल अनि टेबललाई परस्पर दुई तिर घेरेको लामो कुर्सी। ती कुर्सीहरूको परस्पर विपरीत साहुनी अन्टीको अफिस। ती दुई ठाउँलाई चिरेर भित्र जान सकिने ढोका। ढोका दिउँसो सधैँ खुला रहन्थ्यो तर राति बन्द हुनु पर्थ्यो। त्यहाँभित्र केही ओछ्यानहरू थिए। अनि भित्र, बाहिरको जस्तै गरेर राखिएका केही टेबल कुर्सीहरू थिए।
म त्यो भित्री कोठाको भित्री कुर्सीमा बसेर खाना चपाउँदै थिएँ।
साहुनीले लेराएर एक पटक खाना थपिदिएकी थिइन्। साहुनी अर्को पटक फेरि आउँदा म पहिलाको जत्तिकै थपिदिने आग्रह गर्दै थिएँ। भोको पेट, खेलको थकान, अनि प्यान्डोरा बक्सझैँ भर्खर-भर्खर खुल्न थालेको यौवनको पोकोको कारणले होला म अझ माग्दै थिएँ।
'खाना थपिदिनुस्।'
साहुनीले खाना थप्दै मतर्फ हेरेर भनिन्। फ्याट्ट सोच्दै नसोचेर भनिन्– 'मान्छे यत्रो छ, खाना चाहिँ कति खाँदो रहेछ!'
मैले तोरीको फूल देखेँ। मान्छेहरू अर्को निमेषमै तोरीको फूल देख्न सक्ने हैसियत राख्छन्। मैले पनि अनुभव गरेँ।
फूलहरू देखिहाले पनि मैले केही प्रतिक्रिया दिइनँ। त्यो समयमा मलाई थपिएको खाना खाऊँ कि नखाऊँ भयो। खाना कहिले खाएर सकाएछु थाहा पाइनँ। बाहिर निक्लिएर पैसा तिर्न लागेँ। म अझै तोरी बारीमा रमिरहेकै थिएँ।
त्यहीबाट सोधेँ– 'मेरो कति भयो? मैले तीन चोटि थपी थपी खाना खाएको छु।'
साहुनीले मुसुक्क हाँसेर उत्तर दिइन्।
म र साथी जनक (मेरो रुम पार्टनर) आफ्नो पैसा तिरेर बाटो लाग्यौँ।
मनमा सङ्कल्प थियो। म अब यो पसलमा फेरि कहिल्यै फर्किन्नँ।
कलेज छोडेको ६ वर्षपछि पुनः त्यो भोजनालयमा छिर्दा म त्यो पहिलो दिन सम्झिरहेको थिएँ। फेरि त्यहाँका कयौँ साँझहरू, कयौँ बिहानीहरू सम्झना आउन थाले।
आज मेरो यौवन डेट एक्सपायरी भएको छ। एक्पायरी हुँदै गरेको देखेका यहाँका भित्ताहरू भुक्तभोगी छन्। ती भित्ताहरू भग्नावशेष बनेर कतै कुहिएका छन्। तर विडम्बना आज ती भित्ताहरू छैनन्। समयको परिवर्तनले भित्ताहरू परिवर्तन गरिदिएका छन्।
हाम्रो ब्याचका तरुण तरुनाहरू आज देश विदेश कहाँ-कहाँ खाइसके। तर आजसम्म यहाँ खान आउने अन्तिम पात्र म छु। म मात्र छु।
एक मोटे गोफुल्ले बच्चो उफ्रँदै साहुनी अन्टीको भान्सामा गएर अन्टीसँग लाडिँदै थियो।
मैले बुझिहालेँ अन्टीको नाति ठूलो भइसकेछ। स्मिना उही बेला नै जवान बनेर आफ्नो बर आफै रोजिसकेकी थिई। उसका मायाका चिनारीहरू आज दुई जना बनिसकेका रहेछन्।
पैसा तिरेर बाहिर निक्लनै लाग्दै थिएँ। भित्तामा देखेँ, केही लखिएको थियो- स्मिना भोजनालय।