बाध्यताले विदेशिएको सन्तानको पीडा त हजुरलाई थाहा छ नि है आमा! आफू खाइनखाइ सन्तानलाई गुणस्तरीय शिक्षा दिन कुन राम्रो छ, त्यही स्कुलमा पढाउनु भयो। स्कुले जीवनमा न त मलाई अभावमा राख्नुभयो न त दबाबमा।
मेरा बाल नयन र मस्तिष्कले हजुरहरूले दुःखको बिम्ब देखेको थियो तर मलाई भोग्न दिनु भएन। मेरा आँखामा हजुरहरूका फुटेका हात र कुर्कुच्चा र अहोरात्रको परिश्रमले उब्जाएको पसिनाको गन्ध अझै याद छ। खेतबारीको उब्जनीले आफूलाई खान मात्र पुगेर भएन, नगदे बाली तरकारी रोपेर, दूध बेचेर गाउँमै केही गर्ने हो भन्ने हजुरहरूको गन्थन म साँझको गृहकार्य गर्दा सुन्थेँ।
एकदिन हजुरहरूले दुखी हुँदै 'हामीबाट दश रुपैयाँ किलो लगेको तरकारी बिचौलियाले बजारको तरकारी पसलेलाई ८० रुपैयाँ किलो बेच्दोरहेछ, पसलेले १ सय २० घटि नबेच्ने रहेछ, आखिर मर्ने त हामी किसानमात्र रहेछौँ' भनेको सुनें।
ऋण काढेर व्यवसायिक रुपमा गोठभरि गाई, भैँसी पाल्नेलाई अनुदान नदिएर फर्म मात्र दर्ता गरी केही नगरेका राजनीतिक पहुँच भएका नक्कली व्यवसायीले सरकारबाट अनुदान झ्वाम पारेको भन्दै हजुरहरूले गरेको गन्थनमन्थनको पनि म असल श्रोता हुँ।
समय बित्दै गयो। म हुर्कँदै गएँ। मेरो पढाइ पनि उकालो लाग्दै गयो।
'अब यसलाई पढाउन सहर झरौँ, थाँतथलो कुरेर के गर्ने? लगाएको खेती बाँदरलाई ठिक्क! मर्दा मलामी छैनन्' भन्दै सहर झर्नुभयो।
संघीयताले गर्दा गाउँमा विकास त भयो; बाटो पुग्यो, बिजुली र धारो पुग्यो तर गाउँ रित्तिँदै गयो। मैले राम्रो नम्बर ल्याएर १२ पास गरेँ। हजुरहरू पनि खुसी हुनुभयो। एक सुक्को घुस नखाइ सरकारी जागिरबाट निस्किनु भएका बाबाको पेन्सनले घर खर्च चल्थेन। बिरामी हुँदा र सन्तान पढाउँदा घरखेत बेच्नु पर्ने, शिक्षा र स्वास्थ्य साह्रै महङ्गो भन्ने बाबाको गुनासो।
'दुनियाँका छोराछोरी विदेशिए। फलानाका छोराले अमेरिकामा घरगाडी किन्यो, रियल स्टेटको काम गर्छ रे, बाउआमालाई पैसाले पुरेको छ! अमेरिका त पानी पँधेरो' भन्ने जस्ता गफ चिया पसलमा सुनेदेखि होइन त हजुरहरूले मेरो पासपोर्ट बनाउन कस्सिनु भएको? छिमेकी आन्टीलाई छोरीले क्यानडाबाट आइफोन पठाइदिएकी छ भन्दै आफूभित्र पनि विलासिता र रहरको हुरीमा बेरिन खोज्दै दिनको एकपटक फोटो खिच्देऊ त नानी भन्दै पुग्नुहुन्थ्यो होइन त?
रहरलाई बाध्यताको टालो हाल्न कहाँ सहज थियो र! नेपालको राजनीतिक अवस्थाले कसैको भविष्य सुरक्षित छैन। तिमी र तिम्रो सन्तानको भविष्य उज्वल होस्, हामीले भोगेजस्तो अभाव तिमी र तिम्रा सन्ततिले भोग्न नपरोस् भनेर ऋण काढेर मलाई विदेश पठाउनुभयो। नेपालमै केही गर्छु भन्दा ऋण नपत्याउने व्यक्ति तथा बैंकले विदेशिने भन्ने बित्तिकै सजिलै ऋण पत्याए। सबैका सन्तान विदेशिँदा उनीहरू मालामाल।
एयरपोर्टमा विदेशिने धेरै थिए, नेतादेखि सम्भ्रान्त परिवारका छोराछोरी हाँस्दै खादाले पुरिएर नेपालमा कमाएको धन तह लगाउन विदेशिएका जस्ता लाग्ने। रुँदै भक्कानिएर देश छोड्नेको जमात धेरै। नेता र आम नागरिक सबैका सन्तानको गन्तव्य फरक तर बाटो एउटै। ऋण काढेर सन्तान बेच्नुको पीडा! देशको वर्तमान अवस्था र भविष्यको झलक। म विदेशिएको दिनदेखि हजुरहरूलाई हेर्ने दृष्टिकोण पनि फरक भएछ है आमा! हिजो निन्दा गर्ने आफन्त र छिमेकीले आज प्रशंसा गर्न थालेछन्, हिजो सय रुपैयाँ उधारो दिन गाह्रो मान्नेले आज जति चाहिन्छ लैजानू भन्नुमा यही विदेशी भूमिको भूमिका त होला नि है?
आमा, यहाँको नियम कानुन र परिवेशअनुसार चल्न मलाई कम्ती गाह्रो भएन र। पढाइसँगै घर,गाडी सबै कुराले यसरी जेलेको थियो कि त्यो कुरै नगरौँ, जिरोबाट हिरो हुन धेरै खारिन पर्यो। योग्यता, सीप, क्षमता अरु देशले पत्याउने आफ्नै देशले नपत्याउने यो दुःख र मेहनत नेपालमा गर्ने हो कोही विदेशिन पर्दैनथ्यो तर के गर्नु सिस्टमले भन्दा पनि खोइ कसले चलाएको छ मेरो देश पत्तै नपाइने।
यहाँबाट नेपाल प्रायः गाडी ड्राइभ गर्दा फोन गर्थेँ, यो मेरो बाध्यता थियो तर देख्नेलाई त लाग्दो हो- आहा! महङ्गो एसी गाडीमा सरर!
यहाँ श्रीमान् र श्रीमतीको पनि ड्युटी टाइम फरक हुँदा त हप्तौँ पनि भेट हुँदैन। सुन्दर भविष्य खोज्दा खोज्दै यहाँ अल्मलिएको पत्तै हुँदैन। जे पनि मोर्गेज (किस्ता) मा पाइने विलासिताको साङ्लो बडो गजबको छ यहाँ। किस्तामा किनेको घर मर्मत गर्दैमा हैरान! यता बनायो उता भत्कन्छ, उता बनायो यता। एउटा फोन किन्यो छ महिना नहुँदै अर्को अपडेट आउँछ, कतिपय सिस्टम चल्दैन किन्नै पर्ने बाध्यता। यहाँ कमाएको यहीँ सक भन्ने, उमेरमा तिरेको ट्याक्स बुढेसकालमा सुविधा दिने गज्जब कन्सेप्ट।
आमा, मैले यहाँ आएपछि हजुरलाई ल्याउन मिल्ने बित्तिकै बोलाउँदा आउनु भएन। प्रत्येक दशैंमा आउनु भन्दा 'घरमा जमरा राख्नपर्छ, आफन्त टीका लाउन आउँछन् आउँदिनँ नरिसाऊ' भन्नुभयो। 'आएर के गर्नु! तिमीहरू काममा जान्छौ, म एक्लै घरमा के गरेर बस्ने? यहाँ सात टोल सुनिने गरी बोले पनि पाइन्छ, त्यहाँ आएर चुप लागेर कति बस्नु, टिभीसँग कति बोल्नु, आउँदिनँ' भन्नुभयो। हामीले पनि सेटल हुन कमाउने चक्करमा कर गर्न सकिएन।
मैले यहाँ नेपाली संस्कार भुलेको छैन आमा! भोलि आफूलाई पनि पर्छ भन्दै सोसाइटीमा घुलमिल हुन न्वारान, पास्नी, व्रतबन्ध, विवाह वर्षगाँठ र जन्मदिनका कार्यक्रममा सहभागी हुन्छु। जन्मभूमिलाई आपत पर्दा चन्दा उठाउने कार्यमा थोरै भए पनि सहभागिता जनाउन पाए कम्ता खुसी हुँदैन र यो मेरो नेपाली मन। नेपालमा हुँदा जिउँदाको जन्ती र मर्दाको मलामी भन्ने भनाइ पछ्याउँदै हुर्केको म यहाँ पनि यस्ता कार्यमा जसरी भए पनि सामेल हुन्छु।
आमा! हजुरले नेपालबाट फोन गरेर 'तँसँगैको प्रवेशले जुम्ल्याहा सन्तान पायो, सृजनाको छोरो दशमा पढ्ने भइसक्यो' जस्ता जनसंख्या वृद्धिका शुभ सन्देश सुनाउन थाल्नुभएको धेरै भयो। 'सन्तान जन्माउने उमेर कट्न लागिसक्यो अब पनि किन हो ढिलो? मलाई नातिनातिनाको मुख कहिले देखाउँछौ?' भन्ने प्रश्नको उत्तर दिन अब हामीले पनि सन्तानको प्लान गर्दैछौँ आमा।
हो आमा! अब हामीले हजुरहरूलाई हाम्रो प्रेमको चिनारी दिँदैछौँ, हाम्रो उत्तराधकारी।
हजुरको धोतीको थाङ्नामा हुर्केको म कतिपटक हजुरलाई निथ्रुक्क पारेँ होला। आफू भिजेको तिर सुतेर ओभानोमा मलाई सुताउनु हुन्थ्यो रे होइन त? त्यो वेट टिस्यू, त्यो डाइपरभन्दा पर थाङ्नामा हुर्केको म हजुरको स्पर्श कहाँ भुल्न सक्छु र!
आमा, मेरो भिसा लागेको दिन पल्ला घरको आन्टीले 'अब तेरी आमा पनि तेल भिसामा विदेश जाने भइ' भनेको आजै जस्तो लाग्छ। दुर्गा सानिमाले छोराबुहारी भेट्न जाँदा एअरपोर्टमा खिचेर पोस्ट गर्नुभएको फोटोको कमेन्टमा 'थाङ्ग्ने भिसामा बुहारीलाई तेल लगाउन जान लागेकोमा बधाई' भन्ने सम्मका कमेन्ट देख्दा मेरो मन पनि अमिलो भएको थियो। अब हजुरलाई पनि त्यसै भन्लान्, सहनू है।
आमा! हाम्रो बच्चाले पहिलो काख हजुरको पाओस्, मैलेजस्तै। हजुरको काख जस्तो प्यारो मलाई केही लाग्दैन र म हजुरको काख मेरो सन्तानले पनि महसुस गरोस् भनेर हजुरलाई खोज्दैछु। पैसा तिरेपछि बच्चा स्याहार गर्ने त यहाँ कत्ति पाइन्छ कत्ति! तर हजुरको जस्तो प्रेमिल स्पर्श पैसाले किन्न सकिँदैन। म चाहन्छु हाम्रो हुनेवाला बच्चाको नसा-नसामा मेरी आमाको ममता बगोस्। हजुरआमा र नातिनातिना बीचको सम्बन्ध प्रेमील र मजबुत बनोस्।
मेरो सन्तानले मुस्कुराउन हजुरसँगै सिकोस्, हजुरकै बोलीसँग तोते बोल्न सिकोस् र हजुरको दुई हात समातेर तातेताते गर्दै पाइला चाल्न सिकोस्। ऊ सँगसँगै बस्दा हजुरलाई पट्यार नलागोस्, समय बितेको पत्तै नहोस्, कामबाट फर्कँदा मेरो आमा र मेरो सन्तान दुवैको मुस्कानले स्वागत गरोस् सारा थकान भुल्न सकूँ।
धेरै चाहना छैन मेरो, सन्तान र हजुरसँगको सामीप्यता प्रगाढ बनाउनु छ आमा! अहिले उसलाई हामी सहारा भएर वृद्धावस्थामा उसलाई हाम्रो सहारा र भरोसा बनाउनु छ। वृद्धाश्रम होइन, बाबा आमालाई घरमै सँगै राख्न पर्दछ भन्ने सिकाउनु छ र परिवारसँगै सन्तान हुर्काएर संस्कार पनि दिनु छ। बाध्यताले विदेशिएकको सन्तानको खुसीमा सामेल हुन, बलेको दियोको तेलजस्तै नयाँ सृष्टिलाई संस्कार दिन पूर्णिमाको जुन सरी मुस्कुराउँदै प्रेमको मजबुत भिसा लिएर आउनुहोस् है आमा।