'हाम्रो कक्षा १२ को परीक्षाफल आएछ, म बजार गएर मेरो रिजल्ट हेरेर आउँछु ल आमा, घरको इन्टरनेटले काम गरेन' भन्दै श्याम बाइक चढेर बजारतर्फ लाग्छ।
श्याम बजारतिर लागेपछि श्यामकी आमा राधा गालामा हात राखेर घर बाहिर राखेको बेन्चमा बस्छिन्।
करिब एक महिनाअघि मात्र बसाइँ सरेर आएकी राधाकी छिमेकी दिदी नैनाले फूलबारीमा पानी लाउँदै गर्दा राधा गालामा हात राखेर बसेको देखेर उनको छेउमा बस्दै सोधिन्, 'किन गालामा हात राखेर बसेकी, टोहोलाएकी जस्तो पनि देख्छु, के भयो राधा बहिनी आज तिमीलाई?'
राधा लामो खुइय गर्दै भन्छिन्, 'नैना दिदी, छोरो श्याम १२ को रिजल्ट पर्खेर बसेको थियो, त्यो तपाईंलाईं पनि थाहै छ। ऊ आज रिजल्ट आयो भनेर हेर्न अहिले साइबरतिर गएको छ। रिजल्ट आएपछि पढ्नलाई अमेरिका जान्छु भनेको छ। मैले नेपालमै पढ्, नजा न विदेश पढ्न भन्दा- नेपालमा १२ भन्दा माथिको अध्ययन गर्नु भनेको पैसा र समय दुवै खेर फाल्नु हो, गाउँका सबैजसो दाजुदिदीहरू १२ पढिसकेर पढ्न विदेशै गएका छन्, आफ्नो भविष्य सुदृढ बनाउन भन्दै। के गर्नु आमा नेपालमै पढेर? यहाँ बसेर भविष्य सुदृढ बनाउनु भनेको सुख्खा पोखरीमा माछा पालन गर्नु सो सरह भैसकेको छ। मैले नेपालमै पढेर राम्रै अंकमा पास गरूला तर हाम्रा आफन्तहरू कोही पनि नेता, मन्त्री या उच्चओहोदामा हुनुहुन्न, त्यसो हुँदा आफन्तलाई भनसुन गरेर मैले पढेअनुसारको राम्रो तलब दिने जागिर पाउने आशै हुन्न। म त जसरी भए पनि अमेरिका जान्छु' भनेर बुरुकबुरुक उफ्रिरहन्छ।
जा भनुँ भने, विदेश गएर अध्ययन गर्ने सबैको भविष्य राम्रै हुन्छ भन्ने ग्यारेन्टी छँदै छैन। नजा भनुँ भने उसले चित्त दुखाएर कुनै नराम्रै निर्णय लेला कि भन्ने पीर। म त के गरूँ के गरूँ भएकी छु। फेरि यसो सम्झन्छु, मेरो पनि सबैभन्दा ठूलो खुसी नै मेरो आशाको धरोहर एउटै छोरा श्यामको मुहारमा खुसी छाएको हेर्नु हो, यो विषयमा तपाईं के भन्नु हुन्छ दिदी?'
'खै म के भनुँ र राधा बहिनी? मैले मेरै छोराछोरी दुवैलाई मुटुमाथि ढुङ्गा राखी अमेरिका जाने बेलामा बिदा गरेको कथा तिमीलाई अस्ती नै सुनाएकै हो। आखिर मेरा पनि छोराछोरीलाई नेपालमै पढ्न लाएर राष्ट्रियता कायम राख्ने ठूलै सपना थियो, तर छोराछोरीको इच्छा र चाहाना अगाडि मेरो सपनाले घुडा टेकेको दिन थियो, ती छोराछोरी प्लेनमा उडेको दिन। खै मेरा श्रीमानले पनि आफ्नो उमेर छउन्जेल देशमा रहेको एकतन्त्रीय शासनका विरूद्ध लड्नु भयो, त्यसैले होला त्यो बेला उहाँ लगायत धेरै नेपाली जनताहरू सामाजिक सूरक्षा विहीन भएर बाँच्न बाध्य भएको तिमीलाई नै थाहै छ। आखिर अन्तमा उहाँले २०६२-२०६३ को आन्दोलनमा परलोकको यात्रा गर्नु भयो, मखुण्डो धारीहरूसँगको दोहोरो भिडन्तमा। त्योबेला उहाँ नेपाली सेनामा हुनुहुन्थ्यो अनि हामी धनगढीमा बस्थ्यौँ।
उहाँको मृत्युपछि छोराछोरी हुर्कँदै गर्दा देशमा सारा नेपाली जनताले चाहेको व्यवस्था आइसकेपछि, नानी बाबुको सुरक्षित जीवन बाँच्ने अधिकार स्थापना भयो भनि म दंग परेकी थिएँ। तर व्यवहारमा त्यो लागु भएन आखिर। दिनदिनै अपहरण, हत्या, बलत्कार, भ्रष्ट्रचार भएका समाचारहरू तिमीले नि सुनेकै/देखेकै होलाऊ।
मैले धेरै बुझेँ अमेरिकाको बारेमा। जुन देशमा मेरा छोराछोरीहरू जान खोजे, त्यो देशमा उनीहरू सुरक्षित पनि रहने र उनीहरूले आफ्नो भविष्य बनाउने अवसर पाउने आशा लाग्यो मलाई र उनीहरूलाई उनीहरूको खुसीअनुरूप अमेरिका जान दिएँ। अमेरिकामा पढेर त्यही राम्रो काम गर्दै बसेका उनीहरू अहिले एकदम खुसी छन्। एक/दुई वर्षपछि मलाई र आफन्त सबैलाई भेट्न नेपाल आउँछु भनेका छन्। उनीहरूको खुसीमा रमाएर त होला नि म एक्लैले पनि गरिखाएकै छु। तिमीले पनि पठाए हुन्छ श्यामलाई अमेरिका।'
'हुन्छ दिदी, म अरू एक/दुई जनासँग सोध्छु, छोराको रिजल्ट कस्तो आउँछ? म चिया बनाउँछु, बस्दै गर्नु है त,' भन्दै राधा भान्साघर तिर पस्छिन्।
राधा भान्साघरमा पस्ने वित्तिकै उनको फोनको घन्टी बज्छ, म्याक्सीको गोजीबाट फोन निकालेर कसले फोन गरेको होला भन्दै फोनको स्क्रीनमा हेर्दै 'ए, एमए पढ्दाकी साथी मायाले पो फोन गरेकी रहिछन्। अब श्यामलाई अमेरिका पठाउने बारेमा के सल्लाह दिने रैछन् सोध्नु परो' भनि फोन उठाउँछिन्।
'माया नमस्कार, धेरै पछि फोन गर्यौ? के छ हो तिम्रो खबर? आराम छौ? श्याम पढ्नलाई अमेरिका जान्छु भनेर बुरूकबुरूक उफ्रिरहेको छ। आज १२ को रिजल्ट आयो भन्ने थाहा पाएर हेर्न गैरथ्यो, 'आमा मेरो ए प्लस आयो' भन्दै भर्खर उफ्रँदै भित्र पसिरछ के गर्नु माया?' भन्दै एकोहोरो रूपमा उनका प्रश्न राख्छिन्।
'नमस्कार राधा, हाम्रो खबर सबै ठिकै छ, आराम नै छौँ। तिमीहरूको खबर पनि ठिकै होला। हाम्रो भेट नभएको पनि धेरै भैसक्यो, कता हरायौ? मेरो सल्लाह मान्छौ भने बाबु श्यामलाई अमेरिका जान दिए हुन्छ, बावु धेरै बाठो छ, ग्रेड पनि राम्रै ल्याएछ। मैले मेरो छोरो नविनलाई क्यानडा जान दिइनँ, उसले क्यानडा जान्छु भनेर ठूलै ढिपी गर्दा 'हेर तँ हाम्रो एक्लो छोरो, तँ पनि विदेश गइस् भने हामी कसको सहारामा बाँच्नु, नेपालमै बस्, अहिले यहाँ पनि एक से एक युनिभर्सिटीहरू छन्, तँलाई कुन युनिभर्सिटीमा पढ्न मन लागेको छ, त्यही युनिभर्सिटीमा एडमिसन गरिदिउँला भनेँ।
नविनले आफूले रोजेको युनिभर्सिटीबाट विद्यावारिधि सकेर अहिले काम खोज्ने काम गर्दैछ, काम पाइराखेको छैन। आज नविन जस्ता काम नपाएका, व्यवहारिक शिक्षा नपाएका छोरछोरी पुस्ताको असरल्ल अव्यवस्थित र असुरक्षित जीवन देखेर नविनलाई विदेश जान नदिएकोमा म पछुताएकी छु। दोष कसलाई दिउँ? समाजलाई शिक्षित बनाएकी म र मजस्तै सबै शिक्षकशिक्षिकालाई या देहका जिम्मेवार भनाउँदा कर्मचारी र मन्त्रीहरूलाई? म जस्ती शिक्षित शिक्षिकाको छोराको यो गति छ भने सर्वसाधारणका छोराछोरीको त के कुरा गर्नु?
देशको निजामित सेवा र संसदमा पनि मेरा मामाहरू हुनुहुन्थो, उहाँहरूले पनि छोराछोरीलाई विदेश पढ्न पठाएर सुसाशनमा नै धमीरा लाउनु भयो। देशको राजनीतिक समीक्षा गरेर हेर्ने हो भने अझै पचास/साठी वर्ष देशमा राजनीतिक इच्छाशक्ति, देश विकासको स्पष्ट भिजन भएको नेता आउने सम्भावना देखिएको छैन। अरूका छोराछोरी विदेश गएका र त्यहाँ उन्नति प्रगति गरेको देखेर अहिले आरिस लाग्छ अनि नविनको रहर मारेकोमा ग्लानी। मैले नविनको विदेश जाने रहरमा कुठाराघात मात्र गरिनँ, उसको भविष्य नै चकनाचुर बनाइदिएँ, अब पछुताएर पनि त्यसको केही अर्थ छैन। एकचोटि श्यामलाई फोन देऊ त।'
राधा श्यामलाई बोलाउँदै फोन दिन्छिन् र अघि देखि उम्लिरहेको चिया दुइटा कपमा खन्याएर एक प्लेटमा कप राखी फोनमा कुरा गर्न थालेर चिया ल्याउन ढिला भयो भन्दै नैनालाई चियाको कप लिन इशारा गर्छिन्। नैनाले चिया पिउन थालेपछि आफू पनि चिया पिउन थाल्छिन्।
'ओहो! गफका सुरमा चियामा चिनी हाल्नै बिर्सेछु, सरी है दिदी, म खल्लै चिया पिउनुपर्यो, तपाईंको चियामा चिनी हालुँ?' भनि नैनालाई सोध्दिछन्।
'पर्दैन, आज खल्लै पिउनु परो, ब्लड सुगर पनि अलि हाई भा छ आजकाल' भन्दै नैना खल्लै चिया पिउँन थाल्छिन्।
माया श्यामलाई अमेरिका जाने इच्छा राखेकामा खुलेर प्रशंसा गर्छिन्। अमेरिका गएपछि त्यहाँ सुरक्षित जीवन हुने बताउँदै त्यहाँ पुगेर राम्रो पढ्न, मेहनत गर्न नछोड्न, समय मिलाएर आमालाई फोन गर्न नबिर्सन, धेरै पढेर ठूलो र इमान्दार मान्छे बन्न सुझाउँछिन्। श्यामलाई सफल जीवनको लागि अग्रीम शुभकामना दिँदै राधालाई फोन दिन भन्छिन्।
'हेर राधा, मैले बाबुको इच्छाको उच्च कदर गर्दै अमेरिका जान र त्यहाँ सुन्दर भविष्य बनाउन अग्रिम शुभकामना दिइसकेँ। मलाई नै हेर न, धेरैले माया म्याम, हजू'रले शिक्षा क्षेत्रमा धेरै राम्रो काम गरिसक्नु भाछ, हजूरको आफ्नो पेसाप्रतिको निष्ठा, कर्तव्यले यो क्षेत्रकी सशक्त शिक्षिकाका रूपमा चिनाउन सफल हुनु भएको छ भन्ने गर्छन्। मेरा मामाहरू त झन् एक से एक। जेठा मामा निजामति सेवाको वरिष्ठ अधिकारी अनि कान्छामामा वरिष्ठ सांसद हुनु भएका व्यक्तिहरू। हामी सबै शिक्षित व्यक्तिहरू मिली चलाएको सरकारले आफ्नै छोराछोरीको चाहना पूरा गर्न सकेका छैनौं भने कस्तो सरकार बनाएछौँ हामीले? सन्तानहरूलाई चाहे जस्तो शिक्षा आर्जन गर्न, जीविकोपार्जन गर्ने पेसा दिन नसक्ने शिक्षा लिन बाध्य बनाउने मजस्ता निकम्माहरूले हाम्रा सन्तानहरूलाई तिमी विदेश नजाऊ भन्न नसुहाउने रहेछ।
यो देशमा रहेको पद्धति सुधार गर्न तिमी, म र त्यस्तै १०-१२ जना मात्र लागेर नसकिने रहेछ। ८/१० वटा सुधारका काम गरिएला पनि तर ती कामहरू दीर्घकालीन नहुँने रहेछन्। धेरै मान्छेहरू स्वार्थी र आफू मात्रै बन्न खोज्ने खालका हुँदा रहेछन्, समाज र देश बनाउन खोज्दा रहेनछन्। कसैले देश बनाउन लागेमा आफ्नो न्वारानदेखिको बल लगाएर त्यसको विरोध गर्दा रहेछन्। अब यो मुलुकको राजनीतिक नेतृत्वबाट सुधारको निर्मम अभियान नचलाएसम्म आमूल सुधार नहुने रहेछ। तिमी श्यामलाई अमेरिका पठाउनु अघि अमेरिकाकी युनिभर्सिटी र जीवनशैलीको विषयमा गहन अध्ययन गर अनि पठाउ श्यामलाई अमेरिका, रोक्ने काम नगर' है भन्दै मायाले राधालाई सम्झाउँछिन्।
मायाका यथार्थपरक सुझाब सुनेकी राधाले आफू त्यस्तै गर्ने बताउँछिन्, 'के गर्नु यो देशमा शिक्षा नीति त बन्छ, पाठ्यक्रम बन्छ, पढाइ हुन्छ। पढिसकेर जागिर खोज्दा यो विषय पढेकालाई हामी तलब दिएर राख्न सक्दैनौँ भन्छन् देशमा भएका एनजिओ, आइएनजिओ वा जागिरदाताहरू। यो मर्मस्पर्शी वास्तविकता हो मेरो जेठाजुका छोराको, उनको ठ्याक्कै यस्तै भोगाइ छ। एग्रिकल्चरमा मास्टर्स गरेका उनी बेरोजगारीको शिकार भैरहेका छन्, लामो समयदेखि। रोजगारी पाइहाले पनि मासिक २०-२५ हजार कमाउँछु, यो महंगीमा त्यती कमाइले मैले पढ्दा लिएको साहुको ऋणको ब्याज तिर्नु कि, साहुँ तिर्नु? कि घर खर्च चलाउनु? भन्थे। उनीसँगको पछिल्लो भेटमा उनी मलाई, राम्रो तलब दिने पागिर पाउने आशामा मैले धेरैलाई टेबलमुनीबाट लुकाएर उनीहरूले भनेकै रकम पनि दिएँ, तिनीहरूको आश्वासनमा परेर के गर्नु आन्टी ती सबै ठगहरू रहेछन्, मलाई धेरै राम्रो पैसा कमाउने जागिर मिलाएदिन्छु भनेर अहिले कहाँ पतायित भए थाहा छैन। तिनीहरूले मलाई जस्तै हजारौं अरूलाई मूर्ख बनाएर भागेछन् भन्दैथिए। अहिले त वर्किङ भिसा एप्लाई गरेर क्यानडा जान तयार भएका छन् रे।
म अस्ति मात्र एयरपोर्टमा मेरा भान्जालाई अष्ट्रेलिया जान बिदा गएको बेला त्यहाँ विदेशी मुलुकमा काम गर्न लागेका युवासुवतीहरूको भिड देखेर साथी, मलाई त लाग्यो नेपालमा बैधानिक तवरबाट वैदेशिक रोजगारको नाममा मानव तस्कर गरिन्छ झैँ लाग्यो खै? कसलाई सुनाउनु यो यथार्थ? सायद यो मेरो देशले सिकाएको पाठ नै होला जुन आजका युवायुवतीहरुको रोजाइ, बाध्यता, भोगाइ बनेको छ र उनीहरूको भविष्य कुहिरोको काग झैँ रुमलिएको छ।'
राधा श्यामलाई अमेरिका पठाउने निर्णय गर्दै फोन राख्छिन्।
तीन महिनापछि सबै कागजपत्र मिलाएर श्याम अमेरिकाको युनिभर्सिटीमा छात्रवृत्तिमा पढ्न जान्छ। राधा आफ्नो घर र पुस्तक पसल सम्हालेर आफ्ना दिनचर्या बिताउँछिन्। श्यामले राधालाई र राधाले श्यामलाई दिनदिनै जसो फोन गरिरहन्छन्, दुवैतर्फको हाल खबर थाहा पाइराख्छन्। श्यामले आफूले धेरै मेहने गरेर पढिराखेको, पार्ट टाइम काम गरेर राम्रै कमाएको कुरा आमालाई सुनाइराख्छ। श्यामले विदेशी भूमिमा गरेको प्रगति सुनेर राधा धेरै खुसी हुन्छिन्।
आज भन्दै भोलि भन्दै श्याम अमेरिका गएको पनि तीन वर्ष पुग्छ, उसले त्यहाँ बिए लेभलको पढाइ सक्छ। उसको दीक्षान्त समारोह ६ महिनापछि हुने निधो भएपछि ऊ नेपाल जान्छ। घर पुगेपछि श्याम आफ्नी आमालाई पनि आफ्नो दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका जान विनम्र आग्रह गर्दछ।
श्यामको आग्रहलाई अस्वीकार गर्न नसकेर राधा पासपोर्ट बनाउँछिन्, श्यामको सहयोगमा अनलाइबाट अमेरिकाको भिसा आवेदन बुझाएर करिब ४ महिनापछि अमेरिका जाने भिसा लिन्छिन्। त्यसको १५/२० दिनपछि 'दिदी, म पर्सी बाबुसँग ३ महिना जतिका लागि अमेरिका जाँदैछु। घरमा ताला लाएर साँचो हजुरलाई नै जिम्मा लाउने विचार गरेकी छु, म अमेरिकाबाट नफर्कुन्जेल मेरो घरतर्फ नि यसो आँखा लाइदिनुस् ल बेलाबेला' भन्दै नैनादिदीको घरमा पुग्छिन्।
नैना दिदीले यहाँको केही चिन्ता नलिई राम्ररी गएर आइपुग्न अग्रिम शुभकामना दिन्छिन्।
'खै! मेरो त न छोराले नै मलाई अमेरिका जाउँ भन्यो न त छोरीले नै, राधा। छोरा, बाबु राज मलाई पनि एकचोटी अमेरिका देख्ने रहर छ, मिल्छ भने लैजा न हो तेरो अमेरिका भनेकी मात्र के थिएँ, आमा मलाई यो विषयमा कुरा गर्दै नगर्नू, हजूरको गालामा सबै मुजा परिसकेको छ, मैले मेरा साथीहरूलाई तपाईंलाई उहाँ मेरी आमा भनेर चिनाउँदा म त मेरा साथीहरूबीच हाँसोको पात्र बन्छु, सक्दिनँ म तपाईंलाई अमेरिका लान' भन्दै रिसायो।
यही कुरा छोरीलाई भनेको, ज्वाइँसँग सल्लाह गर्नुपर्छ भनि। म झस्किएँ। को ज्वाइँ? कसको ज्वाइँ? कुन ज्वाइँ? भनेर सोधेँ। छोरीले घोप्टे मुन्टो लगाउँदै, हजूरकै ज्वाइँ, मेरो श्रीमान्, जीबिग्निभ भनि। उनीहरूले नलाने बुझ्न गाह्रो भएन मलाई। 'ए छोरी कहाँ लुकाएर राखेकी थिइस् ह तेरो लोग्नेलाई? हाम्रो बाँकी रहेको इज्जत् पनि माटामै मिलाइछस्' भनेकी के थिएँ, मलाई नै पो निलुँला जस्तो गरेर हेरी, राधा। खै बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि भनेको यही त होला नि! मेरो त भाग्य नै खोटो,' भन्दै नैना रून थाल्छिन्।
'के गर्नु र दिदी, आफू छोराछोरी भनि मरिहत्ते गर्यो अनि उनीहरू चाहिँ आफ्नै आमालाई यतिसम्म गर्छन् भने यिनीहरूलाई भोलिका दिनमा साह्रो गाह्रो पर्यो भने ठोक्किने ठाउँ त हजुर नै हो, हजुरको मन यति धेरै नदुखाएका भए हुन्थ्यो,' भन्दै सान्तवना दिँदै राधा आफ्नो घरतर्फ लाग्छिन्।
त्यसको भोलिपल्ट राधा र श्याम काठमाडौं जान्छन्। दुवै जना भोलिपल्ट बिहानै अमेरिकातर्फ लाग्छन्। उनीहरू अमेरिकामा श्यामको अपार्टमेन्टमा पुग्छन्। नैना दिदीलाई उनीहरू सकुशल अमेरिका पुगेको खबर सुनाउँछन्। यो खबर सुनेर नैना दिदी धेरै नै खुसी हुन्छिन्।
उनीहरू अमेरिका पुगेको केही दिनमा दीक्षान्त समारोह हुन्छ। उसले आमालाई आफूसँगै लिएर जान्छ। कार्यक्रम सकेर घर फर्कने क्रममा श्यामले चलाएको कार ठूलो मालबहाक ट्रकसँग ठोक्किन पुग्छ र श्यामको घटनास्थलमै मृत्यु हुन्छ भने धेरै चोटपटक लागेकी राधालाई एयर एम्बुलेन्समा राखेर ठूलो अस्पतालमा पुर्याइन्छ।
१५-२० दिनको उपचारपछि मात्र राधाको होस आउँछ। उनले होस आउने वित्तिकै आफ्नो छोरा श्यामलाई खोज्छिन्। त्यहाँका डाक्टरहरूले कार दुर्घटना हुँदा कारको ड्राइभर श्यामको घटनास्थलमै निधन भएको कुरा ट्रान्सलेटरलाई भन्न लगाउँछन्। यो खबर सुनेर राधा धेरै नै रून्छिन्, अनि रूदारूदै बेहोस् हुन्छिन्। उनलाई आइसियुमा राखिन्छ। केही दिनपछि होस आएपछि उनले आफ्नो उपचारमा के कति खर्च लाग्यो होला भनेर चिन्चित हुन्छिन् र यसको खोजी गर्छिन्। जब हस्पिटलमा श्यामले उनलाई अमेरिका ल्याउँदा गरेको मेडिकल इन्सुरेन्सले उनको सबै खर्च व्यहोरेको थाहा पाउँछिन्, तब उनी यो चिन्ताबाट मुक्त हुन्छिन्।
अब उनीसँग श्यामको यादसँग बाँच्नु बाहेक विकल्प नभएको थाहा पाउँछिन्। श्यामको मृत्यु भएको १५ दिनपछी राधा बसेको अपार्टमेन्टको पोष्टबक्समा उनको नाममा एउटा चिठी आउँछ। यो विदेशी ठाउँमा मेरो नाममा कसले, के चिठी पठाएछ भन्ने सोच्दै राधाले त्यो चिठी खोल्छिन्। त्यो चिठीमा श्यामले गरेको जीवन बिमामार्फत राधाको नाममा अमेरिकी ४ लाख डलरको चेक पाउँछिन्। त्यो चेकसँग आएको चिठी आफूले चिनेको नेपाली विद्यार्थी नरेशलाई पढ्न र पढेर अर्थ लाइदिन अनुरोध गर्छिन्।
नरेशले चिठी पढिसकेपछि श्यामले आफ्नो मृत्यु भएमा उसका नामको इन्सुरेन्सको पैसा राधाका नाममा दिनु भन्ने सहमति गरेको हुनाले त्यो रकम उनका नाममा आएको थाहा पाउँछिन्। कानुनी राज्यमा मान्छे मरे पनि उसका आफन्तले पाउने रकममा कुनै हिनामिना नहुने रहेछ भनि उनी ढुक्क हुन्छिन् र अरू दुई महीना अमेरिका बसेर जे भए पनि छोराको मृत्यु भएको देशमा फेरि नफर्कने वाचा गर्दै आफ्नै गाउँ फर्किन्छिन्।
उनी अमेरिकाबाट ल्याएको पैसाले आफ्नै बाख्रा पालन फर्म खोल्छिन्। गाउँमा भएका बेरोजगार युवायुवतीहरूलाई राम्रै तलब दिएर बाख्रा फार्ममा जागिर दिन्छिन् र आफू तिनै बाख्राको हेरचाह गरेर दिन बिताउन थाल्छिन्।
बाख्रा पालन गरेको दुई वर्ष पनि नबित्दै उनी सफल, मेहनती बाख्रा पालन गर्ने महिलाका रूपमा पटक-पटक अभिनन्दित् र पुरस्कृत हुन्छिन्। आफूले रोजेको व्यवसायबाट राम्रो कमाइ र मानसम्मान मिलेपछि राधा आफ्ना छिमेकीहरूलाई बिना ब्याज ऋण दिएर भए पनि आफ्नै व्यवसाय गर्न प्रेत्साहन गर्छिन्। राधाले गरेको यो कामले उनी छिट्टै नै देश भरिनै एक आदर्श, सहयोगी महिलाको रूपमा चिनिन्छिन्।
हिजोआज उनी युवायुवतीहरूलाई स्वदेशमै व्यवसायमूलक शिक्षा हासिल गरी सानै लगानीमा भए पनि आफ्नै व्यवसाय संचालन गरी आफ्नो जीवनस्तर उकास्न प्रेरणा दिने काममा लागेकी छन्।