करिब चार वर्ष अगाडि, आफ्नै भूमिलाई चटक्कै बिर्सिएर विदेशी भूमिमा पाइला टेकेको त्यो दिन; काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल।
यात्रुहरूको चाप सधैँ उस्तै! ‘दाइ, साउदी जाने कुन लाइन?’ भनी प्रश्न सोध्दै गर्दा एयरपोर्टभित्र भेटिनु भएका प्रिय दाजु। मेरा लागि आत्मीयता प्रकट गर्नु भएका जनक दाजु हजुरलाई यो बिरानो प्रदेशमा निकै मिस गरेको छु।
हरियो पाखामा टुपुक्क बसेको त्यो मेरो सानो गाउँ जहाँ बिहान घामसँगै बिउँझिने बानी अनि साँझ चन्द्रमासँगै थाकेका अधुरा सपनाहरू निदाउने कोसिसमा हुन्छन्। त्यही गाउँमा छिन् मेरी प्राण प्यारी (सुन्तली) जोसँग मैले जिन्दगी सँगै बाँच्ने कसम खाएको छु। तर परिस्थितिले हामीलाई फरक अनि टाढा दुई किनारामा पुर्याइदिएको छ आज।
त्यो दिन सम्झन्छु। मेरो हातमा सानो एउटा झोला अनि आँखाभरि ठुला सपना। छोरोको उज्ज्वल भविष्य, आमाबुबाको उपचार र प्यारीको सिन्दूरको रङ, कहिल्यै नमेटिने ती रङिन आशाहरू।
उनी चुपचाप थिइन्। एकैछिनमा आँगनमा पाइलाका निशानी छाप छाडेर तालो कट्दै गर्दा ‘रमेश जाऊ है, तर फर्कन नबिर्सनू’ भन्दाको त्यो क्षण! मुस्कानको आडमा आँसु लुकाउँदै यति बोल्ने आँट गरेकी थिइन्। निकै नमज्जा लागेको थियो। छाती भारी थियो। मोबाइलमा छोराको फोटो हेर्दै ओरालो झर्दै गरेको त्यो पल। यस्तो लाग्थ्यो, मलाई यो शब्दमा नभएको माया यही फोटोमा लुकिरहेको छ।
साउदी अरेबिया, ४५ डिग्रीको यो तातो घाम। जसोतसो जिन्दगी चल्ला कि भनेर सङ्घर्ष गरिरहेका मेरा यी हातहरू। घर फिर्ने रहर नभएको त कहाँ हो र! उमेर पनि ४० कट्दै छ। उमेरले नेटो काटेपछि हामी गरौँला के? छोराछोरीको भविष्य फेरि खोजौँला कहाँ? तिम्रा पनि त रहर थुप्रै छन्। यी नै भारीहरूले थिचिएर त हाम्रो जीवन अप्ठ्यारो बनेको हो। यही सम्झेर यो मरुभूमिमा पसिना पुछ्दै छु म। कसरी भनूँ म? दर्दहरू तिमी सामु कसरी पोखूँ? तिम्रा आफ्नै पीडाहरू अझै जिउँदै छन्। कसरी सुनाऊँ तिमीलाई?
मरुभूमिको तातो बालुवा जहाँ हिँड्दा यो शरीर पोल्छ।
के गरौँ म ? तिम्रो मायाले योभन्दा बढी त मेरो मन पोल्छ।
यो घामले त के पोल्छ र जति तिम्रो मायाले मलाई पोल्छ!
प्रिया!
करिब दिनको सत्र घण्टाको कामपछि थाकेर कोठामा पस्ने कोसिस गर्छु। गर्मी असाध्यै छ। रुमालले पसिना पुछौँ कि मेरा आँसु? भने जस्तो कम्पनी परिदिएको भए र बिचौलियाले ममाथि खेल नखेलेको भए सायद अहिले म गाउँमै फर्किसक्थेँ होला! सबै कुरा सजिला छैनन् मेरा यहाँ।
तिमीलाई यस्तै यस्तै लेखौँ लाग्छ। भनौँ लाग्छ। फेरि सोच्छु, म आफैँ यति धेरै कमलो भएँ भने तिमी गाउँमा कसरी आँटिली हौली? कसरी निडर बनौली? तर के गरौँ?
तिमी नभएको यो विदेशी दुनियाँ त मलाई सुन्दा सुन्दै टुक्रिएको धुनजस्तै लाग्छ सुन्तु! कहिलेकाहीँ म यो रातको शून्यतामा छतमा बसेर चन्द्रमा हेर्ने आँट गर्छु। फेरि सोच्छु, तिमी पनि म जस्तै यो चन्द्रमा हेरेकी हौली। तुरुन्तै तिमीलाई केही अप्ठ्यारो पर्ला कि भनेर कोठाभित्र प्रवेश गर्छु। मन भारी हुन्छ। त्यो चन्द्रमाले एकछिन त उज्यालो छरेर जान्छ। बिहानी पख फेरि म एक्लै हुन्छु।
सबेरै उठ्छ्यौ। बिहान चुल्हो सल्काउँछ्यौ। यो पनि थाहा छ, बेलुकी यसै गरी तिम्रा आँखा आँसुले सल्किन्छन्। छोराले बाबा भन्न सिकेको छैन तर बाबु सुत्नुभन्दा अघि मेरो तस्बिर देखाउँदै भन्छ्यौ- ‘हेर यो बाबाको मुहार हो, सुत्नुअघि हेरेर सुत!’
तिमीलाई आशीर्वाद छ सानु। यसै गरी भगवानले सधैँ तिमीहरूलाई हेरिरहुन्।
गाउँमा तिम्रो मुस्कान अझै बाँकी नै छ। तर त्यो मुस्कान पनि निकै गह्रौँ हुँदो हो। तर जेनतेन सम्हालिएकै छौ। कहिलेकाहीँ तिमी पनि घाममा उभिएर यसै गरी सोच्दी हौ; यो शरीर त के पोल्छ र घामले जसरी मेरो वियोगले भित्रभित्रै तिमी पोलिइरहेकी छौ।’
समय सधैँ यस्तै न रहला। हामी पनि त सधैँ यस्तै नरहौँला। म एक दिन फर्की आउँला। तिम्रा लागि। हाम्रा लागि। हामी सबैका लागि। त्यो दिन ‘निष्ठुरी परदेशी’ भनेर मेरो ढोका नछेक्नु ल।
त्यो दिन, तिमी बिहानदेखि झ्यालतिर हेरिरहेकी हुने छ्यौ। म आउने दिन ढोकातिर तिम्रा नजर हुनेछन्। पोते अनि सारी समाएर हत्तपत्त ढोका खोल्न तिमी आउने छ्यौ। तिम्रा मुहारमा आँसु र मुस्कान दुवै एकसाथ हुनेछन्। म सम्हाल्ने कोसिस गर्ने छु।
म ढोकामा उभिएको हुनेछु। छोरो तिम्रो ढाड पछाडि सलले बेरिएर लुक्दै हुनेछ। अनि तिमी मलाई भन्ने छौ- ‘ऊ त तिमीलाई चिन्दैन। मेरो त के कुरा, म त दिनदिनै तिमीभित्र बाँचेकी छु।’
मैले केही बोल्न सक्ने छैन। बस् लामो लामो सास! र
अनि छोरोलाई अँगालोमा हाल्दै भन्न लाउने छौ, ‘अब म कतै जाँदिनँ, मेरो सारा संसार यही हो! तिमी, ऊ र म। हामी सबै। बाचा गर ल।’
अनि त्यो साँझको घाम पहिलो पल्ट हामीलाई मिठो लाग्ने छ। त्यो जून जसले पहिलो पल्ट हामी सबैलाई सँगै शीतलता प्रदान गर्ने छ। किनकि त्यसले अब उप्रान्त कहिले पोल्ने छैन। त्यो दिन त मायाको उज्यालो दिन हुने छ। चम्किलो रात हुनेछ किनकि मेरो घाम मेरो जून सबै सबै मसँगै हुनेछ।
नक-नक! नक-नक!
यतिकैमा जोडसँग घरको ढोका बजेको आवाज आउँछ। बिहानी पखको रात, सुन्तली जर्फराउँदै उठ्छिन्। ढोका नजिकै गएर बस्छिन्। कोही हुँदैन बाहिर।
कस्तो सपना यो! यो कस्तो बातचित!
नजिकै रहेको मोबाइल समाउँछिन्। मोबाइल डिस्प्लेमा उनै श्रीमानको तस्बिर। फेरि हातबाट टेबलमा मोबाइल राख्छिन्। चुलोमा जान्छिन्। तसलाको पानी घटघट पिएर छोरो सुते नजिकै पुग्छिन्। श्रीमानलाई फोन गरौँ कि भनेर जमर्को पनि गर्छिन्। मध्यरात, होस् भनी बिस्तरामा फेरि कोल्टे फेर्ने प्रयास गर्छिन्।
भित्तामा झुन्डिएको परदेशीको उही तस्बिरले उनलाई निदाउन भने पटक्कै दिँदैन।
यो पनि
‘दाइ, साउदी जाने कुन लाइन?’