राजनीतिक परिवर्तन र
जलवायु परिवर्तन
उस्तै उस्तै हुन्
कहिले को बढारिन्छन्
कहिले को बगाइन्छन्
यसै भन्न सकिन्न
जनतालाई छर्ने भ्रम र
वातावरणलाई प्रदूषण बनाउने क्रम
उस्तै उस्तै हुन्
कुनले कसलाई ढलाउँछन्
कुनले कसलाई बसाइ सराउँछन्
यसै भन्न सकिन्न
सजाए दुवैले पाइनेछ
जसले राजनीति बुझ्दैनन्
र प्रकृतिको नियम पनि
फरक यत्ति हो
भावी पिँढीले राम्रा र असल खोज्छ
प्रकृतिले विनाशकारी रोज्छ
खराब बन्ने या संरक्षणकर्मी
हामी आफैँले बुझ्नु पर्छ
हैन भने तयार रहनुपर्छ
कहाँ कति बेला पहिरोमा बग्नुपर्छ या
अनवरत वर्षामा रुझ्नु पर्छ
हैन भने तयार रहनुपर्छ
कति खडेरी सहनु पर्छ
वर्षौँ भोक भोकै रहनु पर्छ
राजनीतिमा ढाँटेर टिक्नेहरू केही वर्ष टिक्लान्
प्रकृतिलाई दोहन गर्नेहरू
अलि दिन सस्तोमा बिक्लान्
तर ढिलो चाँडो पतन अवश्य हुनेछ
जनता र प्रकृतिको श्रापले
तिनको आत्मा र भविष्य दुवै रुनेछ
तसर्थ एउटा कविको विनम्र अपिल छ
झुटा आश्वासन जनतालाई नदेऊ
प्रकृति विनाश गरेर क्षणिक फाइदा नलेऊ
देश रहे पो हामी रहौँला
प्रकृति बचे पो हामी बचौँला
लोभ मोह त्यागेर एक स्वरमा भन्नु छ आज
जल जमिन वातावरण समग्र प्रकृति जिन्दाबाद
यो देशको भाषा भेष भूषा अनि संस्कृति जिन्दाबाद
भावी पिँढीको भविष्य बोकेकी
नेपाल आमा जिन्दाबाद!
नेपाल आमा जिन्दाबाद!