आखिर छाेरी नै हाे, जसले आफ्नाे जन्म घरलाई चटक्कै छाेडेर पराईकाे घरलाई आफ्नै सम्झेर जानुपर्ने। जन्मेकाे घर, जन्म दिने बाबाआमा, दाजुभाइ, दिदीबहिनी, साथीभाइ, छरछिमेकी सबैलाई छाेडेर नयाँ घर जाने कुरा वास्तवमै सामान्य कुरा पक्कै हाेइन।
नयाँ घर, नयाँ घरका परिवारका सदस्य, नयाँ समाज, नयाँ संस्कार, नयाँ संस्कृति सबै कुरालाई सहर्ष स्वीकार्दै, त्यसैमा घुलमिल हुने। त्यसलाई आफ्नै संस्कार र संस्कृति बनाउने चुनाैती पक्कै चानचुने हाेइन। फलानीकाे बुहारीकाे बाेलीचाली, चालढाल, हिँडाइ, उठाइ बसाइ सबै कुरालाई ख्यालपूर्वक हेरिरहेका हुन्छन् घर र समाजले।
म पनि छाेरी मान्छे भएकाले यी सबै कुराहरूलाई नजिकबाट नियालेर हेरिहरेकी थिएँ। साथीभाइको बिहेपछि उनीहरूले भाेगेका अधिकांश तीता र मिठा अनुभव सुनिरहेकी थिएँ। दाइजो नपाएको निहुँमा जिउँदै जलाएका, सासूससुराले दिने गरेकाे मानसिक पीडा। सर्वश्व साेचेर आफ्नो निजी जीवनलाई तिलान्जली दिएर पतिपरमेश्वर मानेकाे मान्छेले समेत दिने शारीरिक मानसिक यातनालाई समेत सहेर समाजसामु हाँसेर हिँड्नुपर्ने बाध्यताकाे सिकार हुनुपर्ने हाम्रो जीवनकाे एकपाटाे नै हाे कि जस्ताे लाग्छ।
यी र यस्ता घटना नेपाली समाजमा दैनिक भइहरने र अघिकांश नेपाली नारीहरूले भाेगिरहने नियति हाे। समाजकाे डर घरपरिवारकाे इज्जतरुपी भ्रमकाे कारण अधिकांश घटनाहरू दबिएर रहेका हुन्छन् भने एकाध घटनाहरू सतहमा आउँछन्।
तम्घासकाे पारिलाे घाममा, सुन्लता खाँदै घरकाे छतमा बसेर पढिरहेकाे बेला माेबाइलमा रिङ बज्याे।
घरबाट बाबाले गरेकाे फोन रिसिभ गरी सन्चाेबिसन्चाे पछि बाबाले भन्नुभयाे- याेगेन्द्र सर तिम्राे हात माग्न आउनुभएकाे छ।
याे शब्द सुन्दा मलाई आश्चर्य लागेन किनकि याेगेन्द्र सर सुनिरहेकाे नाम र देखिरहेकाे मान्छे हुनुहुन्थ्यो। तर विवाहकाे कुरा सुन्दा, यी माथि लेखिएका समाजकाे तिताे यथार्थता मानसपटलमा घुमिरहे। आखिर छाेरीकाे जिन्दगी विवाह गरी अर्काकाे घरलाई आफ्नो घर बनाउनु स्वाभाविक नै हाे। ब्याचलर पढ्दै गरेकी ठिकबेठिक छुट्याउन सक्ने म र याेगेन्द्र सर जत्तिकाे मान्छेसँग विवाह गर्नु उपयुक्त नै लाग्यो पनि। याे विषयमा निर्णय गर्ने जिम्मा बाबामम्मीलाई नै दिए र यसमा आफू सकारात्मक रहेकाे छन्द पनि बाबालाई दिएँ।
याेगेन्द्र सरलाई मैले पहिलाे पटक एसएलसी पुरक परीक्षा तयारी कक्षामा देखेकी थिएँ। उहाँ मैले पढ्ने विद्यालयमा साइन्स म्याथ टिचरकाे रूपमा आउनु भएकाे थियाे। केटाकेटी पाराकाे मान्छे, विद्यार्थीसँग सहजै घुलमिल भएर साथी जस्तै गरी पढाउने, हल्का रिसाहा स्वभावकाे हुनुहुन्थ्यो। बिहे प्रस्तावपछि उहाँ म र परिवारबीच सरसल्लाह भयाे र हाम्रो विवाह भयाे।
विवाह भएर पराइ घर गएकी नाैली दुलही र छाेटाे बसाइँ भएकाेले हाेला सायद म बुहारी हुँ भन्ने कुरा नै अनुभव गर्न पाइनँ।
वैवाहिक कार्यक्रम कै बीच देखिएका सासू ससुरा, जेठाजु, अमाजू सबैले मप्रति देखाएकाे माया प्रेम र सद्भाव, छाेटाे तर मिठाे लाग्याे। वैवाहिक कार्यक्रम सकिएपछि पढाइ बिगार्नु हुँदैन भन्ने सासूससुराकै सल्लाह अनुसार म पढ्नको लागि तम्घास नै फर्किएँ।
करिब एक हप्ताकाे विवाह पछिकाे घरकाे बसाइँ थाेरै मात्र असहजता महसुस गरेँ। हुन त याे अवधि घर गरेकाे अवधि मानिँदैन हाेला। घरकी नाैली बुहारी सबैकाे मायालु हुने नै भएँ। तम्घासकाे बसाइँ पढाइ चलिरहेकै थियाे चाडपर्वकाे बेला घर माइत गरेर दिन बितिरहेका थिए। कहिलेकाहीँ जाने भएर हाेला, परिवारका सदस्यहरूले मलाई माया प्रेम गरि नै रहनुभएकाे थियाे।
म बिहेपछिकाे घरमा छु भन्ने महसुस नै भएकाे थिएन। केटाकेटी झैं सानातिना रमाइलो कुरा गरिरहने सुसुराबुबा, सधैं किचनदेखि बाहिरसम्म सहयाेग गर्ने सासूआमा र दिदीले जस्तै माया गर्ने दुई जेठानी दिदी र दुई जेठाजु दाजुहरू। सानासाना नानीबाबुहरूसँग जिस्कँदै गफिँदै बित्ने गर्थे ती दिन।
केही गर्न थाल्यो भने तिमिीलाई त थाहा छैन नाैली मान्छे भैगाे भैगाे भन्ने सासूससुरा र भाे भाे मीना हामी गर्छम् के भन्ने जेठानी दिदीहरू देख्दा लाग्थ्याे म त याे घरकी कान्छी छाेरी नै पाे हुँ कि। पतिदेवकाे अथाह प्रेम र परिवारकाे याे मायाले मलाई विवाहपछि नाैलाे घर गएकाे अनुभूति नै हुन दिएन।
माइतमा गयाे बाबाआमा, दिदी भाइकाे मााया र घरमा सबै परिवारका सदस्यहरूकाे माया र सद्भाव। पढ्न जानेबेला घरबाट बिदाइ हुँदा सासूआमाले टीका लगाएर राम्रोसँग पढ है, पढ्ने मान्छेले अरू कुनै चिन्ता नलिई पढ्नु पर्छ। तिमीलाई हामी सबैकाे आशीर्वाद छ भन्दै बिदाइ गर्दा लाग्थ्यो भगवानले मेरा लागि दुई आमाहरू दिएकाे रहेछ। एक जन्म दिने आमा र अर्काे कर्म दिने आमा।
ब्याचलरकाे अध्ययनपश्चात् घरमै बसेर प्राइभेट मास्टर्स पढ्ने चाहना व्यक्त गरे घरमा। याे मेराे निर्णयमा सासूससुरा सहमत हुनुहुन्थ्यो। उहाँहरू चाहनुहुन्थ्याे कि मास्टर्ससम्म रेगुलर नै पढे हुन्थ्यो। तर हामी बुढाबुढीकाे निर्णयपछि उहाँहरूले पनि सहमति जनाउनुभयाे।
बुढा सरकारी स्कुलकाे शिक्षक र म निजी स्कुलकाे शिक्षककाे रूपमा काम गर्न थाल्यौं। उहाँ शिक्षक सँगसँगै राजनीति र समाजसेवामा लाग्नुभयाे। म चाहिँ शिक्षक र गृहिणी। बाबाआमा र दुई दिदीहरू र नानीबाबुहरू थियाैं घरमा। परिवारका सबै सदस्यहरूले आआफ्नो जिम्मेवारी पूरा गर्ने भएकाले र सासूससुरा पनि सहनशील भएकाले हाेला एकाधबाहेक घरमा कलहकाे सृजना भएन।
बुढाले हामीलाई सधैं भन्नुहुन्थ्यो, बुवाआमालाई हामी बनाउन सकिँदैन, हामी बुवाआमा जस्तै बन्नुपर्छ। पुरानाे रितिरिवाज, संस्कार संस्कृतिमा जन्मेर हुर्किनु बढ्नु भएकाे बुबाआमालाई आधुनिक संस्कृतिमा रमाउने छाेराबुहारीबीच फ्युजन हुनु र त्यसको समान प्रयाेग हुुनु नै सफल परिवारकाे मन्त्र नै रहेछ।
सासू र बुहारीबीच विचार नमिल्दा ससुरा बुवाले समन्वय गर्ने र ससुरा र बुहारीबीच विचार नमिल्दा सासूआमाले समन्वय गर्ने निकै उन्नत संस्कार थियाे मेराे परिवारमा।
कहिलेकाहीँ बुढाबुढीबीच झगडा हुँदा मलाई असल बनाउन अनेक उपाय अपनाउने सासूससुरा देख्दा म आफूले आफूलाई निकै भाग्यमानी मान्थेँ। मलाई सधैं भन्नुहुन्थ्यो कान्छाे अलिक रिसाहा छ, त्याे बेला तिमी शान्त बन्नू है। हुन त सामाजिक राजनीतिक र जागिरे जीवनमा आउने समस्याको कारण कहिलेकाहीँ उहाँ टेन्सनमा भए पनि त्यसकाे प्रभाव परिवारमा पर्न दिनुहुँदैन थियाे। सासूआमाले सुगर प्रेसरकाे नियमित औषधि सेवन गर्ने भएकाले बेलाबेला तनावमा रहनुहुन्थ्याे र रिसाउनुहुन्थ्याे। आफैं भन्नुहुन्थ्यो मलाई प्रेसर बढेकाे बेला मसँग नबाेल्नू है । बिचरा मेरी भगवानरुपी आमा कति सरल, इमानदार।
यही क्रममै आमा ( जन्म दिने आमा) क्यान्सरले थलिँदै जानुभएको थियाे भने करिब एकदशक लामाे राजनीतिक, सामाजिक र जागिरे जीवन बिट मार्दै बुढाले पनि परदेश पस्ने याेजना सुनाउनुभयो। यी सबै सुन्दा र देख्दा जीवनमा फेरि फरक माेड आउने हाे कि भन्ने चिन्ताले सताउन थाल्याे।
६ महिनाकाे दूधेबालक म सुत्केरी, वृद्ध बाबाआमालाई छाेडेर परदेश पस्ने पक्कै उहाँको चाहना थिएन हाेला। उता आमा क्यान्सरको बिरामी यता बुढाकाे विदेश यात्राकाे याेजना, काखमा ६ महिनाकाे दूधेबालक, बृद्ध तथा बिरामी सासूससुरा बुवा याे बेला आफूले आफूलाई सम्हाल्न निकै गाह्रो परिरहेकाे थियाे।
यस्ताे अवस्थामा छाेराे परदेश पस्दा विचरा बुढा बाबाआमाकाे मनमा के खेलिरहेको थियाे हाेला। सहारा चाहिने बेला बुढेसकालकाे सहारा भनेकै छाेराे विदेश पस्दा उहाँहरूलाई कति गाह्राे भएकाे थियाे हाेला।
तर याे अवस्थामा पनि आफूहरूले आफूहरूलाई सम्हाल्दै मलाई भन्नुहुन्थ्यो- हामी छाैं नि तिम्राे साथमा चिन्ता नगर, कान्छो मात्रै त हाे विदेश जाने हामी त तिमीसँगै छाै नि त। बुढाबुढी छाैं समस्या परे मिलेर सामधान गर्छाैं भनेर ढुक्क थियाैं, अब तिम्रो दु:खपीडामा हामी छाैं, तिम्रो दु:खसुखकाे सारथि हामी हाैं, पिर नगर है हामी छाैं हामी।
सासूआमा र ससुराबुबाका यी कुराहरूले आँखा रसाउथे, साेच्थेँ कति भाग्यमानी बुहारी म। सबै बुहारीहरू म जस्तै भाग्यमानी भइदिए कस्ताे सुन्दर हुन्थ्यो हाेला हाम्राे समाज। आँसुभित्रै लुकाउँदै भन्थेँ तपाईंहरू साथमा भएपछि मलाई केकाे चिन्ता? तपाईंहरू हुनुहुन्छ नि तपाईंहरू।
दिनहरू पनि कत्ति छिट्टै बिते उहाँ जाने दिन पनि आयाे, गाउँ समान साथीभाइ, बुढा बाबाआमा, सुत्केरी बुढी र काेक्राेमा मस्त निदाइरहेकाे छ महिने बच्चालाई बिदाईकाे हातहरू हल्लाउँदै परदेश लाग्नुभयाे।
साेचेको थिएँ छाेराे परदेश पसेसँगै सासूससुराकाे बाेली, व्यवहार फेरिने पाे हाे कि! तर त्यसाे भएन, सासूससुरा परिवारका अन्य सदस्यहरूले मलाई गर्ने माया ममता बढ्दै गयाे। मप्रति उहाँहरूकाे प्रेम र सद्भाव बढ्दै गयाे।
मलाई उहाँको अभाव महसुस नै हुन दिनुभएन। उता माइतमा आमालाई बिमारले च्यापिरहेकाे थियाे, निकै प्रयास गर्दा पनि उहाँलाई बचाउन सकिएन, जन्मदिनेआमालाई मैले सधैंका लागि गुमाउन पुगेँ।
याेबेला सासूआमाकाे सामिप्यता , सहयाेग र सद्भावले पीडामा मल्हम लगाउने निकै महत्त्वपूर्ण भूमिका खेल्याे। सासूससुराले सधैं भन्नुहुन्थ्यो- तिम्रो लागि बाबाआमा हामी नै हाै। हामी हुन्जेलसम्म तिमीले चिन्ता लिनुपर्दैन। हामी छाैं नि!
याे उहाँहरूकाे बाेलीमा मात्र सीमित थिएन, व्यवहारमा पनि यस्तै थियाे। बुवा यस्ताे भयाे, आमा उस्ताे भयाे, याे चाहियाे, त्याे चाहियाे। यी दैनिकजसाे म बाेलिरहने शब्द नै भइरहेका थिए। उहाँहरूले कहिल्यै पनि एक्लै भएकाे महसुस हुन दिनुभएन।
नाति बिरामी हुँदा सबभन्दा पहिले उहाँहरू नै आत्तिनु हुन्थ्याे। म बिरामी हुदाँ हाेस्, या परदेशमा केही हुँदा बीच कति चिन्ता दिएका छाैं है हामीले भन्थें मैले बेलाबेलामा।
उहाँहरूकाे सहज उत्तर हुन्थ्यो- याे त हाम्रो जिम्मेवारी हाे। सायद यसैले भनिएकाे हाेला बाबाआमा भनेकाे भगवानकाे अर्काे रूप हाे। मैले बेला बेला भन्थें मलाई किन छाेरीलाई भन्दा धेरै माया गर्नुहुन्छ नि?
उहाँहरूकाे जवाफ हुन्थ्यो- तिमी पनि त बाबाआमालाई जस्तै मायाममता, आदारसम्मान र रेखदेख गर्छ्याै नि त। तिमी बुहारी हाेइनाै छोरी हाै।
सासूससुरा बुबा आमाका यी कुराहरू र यस्तो व्यवहार हेर्दा लाग्थ्यो उहाँहरू साक्षात भगवान हाे। अहिले पनि सन्तान र बुढा विदेशमा छाै। उहाँहरूले अहिले पनि दिनकाे एक पटक अनिवार्य बाेल्नु पर्छ है भन्नुहुन्छ। राति केही नराम्रो सपना देख्याे कि आत्तिँदै फाेन गर्नुहुन्छ। तिमिहरूसँग नबाेली त निद्रा नै लाग्दैन, खाना नै मिठाे हुँदैन। यता हाम्रो पिर नगर है आफ्नो भविष्यकाे बारे साेच भन्नुहुन्छ।
हामीलाई जन्माउँदा, हुर्काउँदा आफ्नाे जवानीकाे तिलान्जली दिनुभाे। अहिले पनि हाम्रो भविष्यकाे लागि आफ्नो वृद्ध अवस्थामा संघर्ष गरिरहनु भएकाे छ। हामीले हजुरहरूबाट धेरै पायाैं तर शून्यबाहेक केही दिन सकनाैं।
म चाहन्छु कि यदि अर्काे जन्म छ भने तपाईंहरूकै छाेरी बुहारी भएर जन्मन पाऊँ धन्य मेरा भगवानरुपी सासूआमा ससुराबुबा। हजुरहरू धन्य हुनुहुन्छ धन्य!