यदि तपाईंलाई अबको केही दिनमा, केही क्षणमा वा केही घण्टामा मर्दैछु भन्ने थाहा भयो भने तपाईंभित्रको डरको सीमा कहाँसम्म पुग्ला? तपाईंले जीवनमा गरेका गल्तीलाई लिएर कतिपटक प्राय:श्चित गर्नुहुन्छ होला?
परिवार, समाज, गर्न नसकेका, खान नपाएका र जान नपाएका कति ठाउँ सम्झनु हुन्छ होला? त्यसपछिको मनस्थिति के होला? बुद्धि र विवेकको विकास भएदेखि हरेक मानिस मृत्युको भयले कतिपटक डराएको होला?
घरबाट निस्किँदा भगवान मान्नेहरूले धुपबत्ती र नाम कतिपटक पुकार गर्छन् होला?
जो जन्मिन्छन्, तिनीहरू मर्छन्। मृत्यु शाश्वत सत्य हो।अझ एउटा त मानिसमा रोग नै हुने गर्छ। जसलाई थानाटोफोबिया अर्थात् मृत्यु वा मृत्यु प्रक्रियाको तीव्र डर पनि भन्ने गरिन्छ। कतिपय मानिसहरू मृत्यु कहिले हुन्छ भन्ने थाहा नपाए पनि मृत्यु सम्झेर एकदमै भयभीत भइरहेका हुन्छन्। जुन डर हरेक मानिसलाई हुन्छ, घटी र बढी हुने विषय मात्रै हो।
अब, त्यही कल्पना गरिएको दृश्यलाई कति दिनमा मृत्यु हुँदैछ भन्ने जानकारी पाएकाहरूको मनस्थिति पनि एकपटक हेरौं।
करिब एक दशकअघि साउदी अरेबियाको असिर प्रान्तमा रोजगारीका लागि पुगेका मीन बहादुर पुनको अबको एक महिनापछि मृत्युदण्ड तय भएको खबर उसँगै रहेको अर्को कैदी बन्दीले लिएर आयो।
उसलाई काम गर्ने ठाउँमै कोही नागरिक मारेको हत्याको अभियोग लागेको थियो।
एकाबिहानै उसले ल्याएको खबरले मीनका सबै सपना एकैचोटि चकनाचुर भए। युवावस्थामै परिवारलाई दुर्गम गाउँमा छोडेर पैसा कमाउन विदेशिएको उसलाई बुढेसकालसम्म भए पनि छोरो देख्न पाउँछु कि भन्ने आश थियो। तर, उसले ६ महिनामा छोडेर हिँडेको छोरो जवान हुन लागिसकेको थियो।
उसले जीवनको अन्तिम अवस्थासम्म पनि जेलबाट छुट्छु र नेपालकै भूमिमा पुगेर मृत्युवरण गर्छु भन्ने आशा त गरेको थियो। जेलमा हुँदा पटकपटक टाउको ठोक्दै गाउँमा बुढा मान्छेहरूले गाएको बालकृष्ण समको ’इच्छा’ शीर्षकको कविता सम्झियो। उसलाई पूरै त आउँदैनथ्यो तर लास्टको यो हरफ भने आउँथ्यो। उसले गाएको कविताको अन्तिम हरफ यही थियो।
नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साझा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा
नेपालीहरू छन् मरिकन सबै जन्मिरहेका जहाँ।
उसले जतिसुकै रोग लागे पनि मरण र जलन नेपालमै होस् भनेर धेरै देवीदेवता पुकारेको थियो। तर, अब उसको पुकार कसैले सुन्न सक्ने अवस्था थिएन। विगत १० वर्षदेखि साउदीको जेलमा कडा यातनासहित सजाय काटिरहेको उसको मनस्थिति मृत्युदण्डको खबरले झनै बदलियो। बेलाबेला उसले आफूलाई नै अचेत भएको महसुस गर्न थालेको थियो भने ऊ मृत्युकै पर्खाइमा सेकेण्ड सेकेण्ड बिताइरहेको थियो।
उसको आँखामा गाउँघर, आमा, बा, श्रीमती र ६ महिना हुँदा छाडेर हिँडेको छोरो घुमिरहेका थिए। कतिबेला आमाले बावु भनेजस्तै लाग्थ्यो भने कतिबेला छोराले बावा भनेजस्तो लागेर ऊ झस्किरहन्थ्यो।
एकछिन अचेत हुन्थ्यो, उसको अर्धचेतन मस्तिष्कले घरीघरी आमा, श्रीमती, छोरा भेटेर खुसी भएको देख्थ्यो भने घरीघरी उसको मृत्युको खबर सुनेर अत्तालिएका परिवारको चित्र आँखाभरि आउँथ्यो। ऊ फेरि त्यही सपनाबाट बिउँझिएर अत्तालिएर रून्छ। ऊसँगै रहेका अरू कैदीबन्दीले आश्चर्य मान्दै हेर्छन्। धेरैलाई त उसको केही हप्तापछिको मृत्युबारे जानकारी थियो। उनीहरू पनि त आखिर लाइन लगाएर काट्न राखेका खसीबोका जस्तै थिए मात्रै पालो कुरिरहेका।
उनीहरूसँगै रहेको साथीको मृत्युदण्डको खबरले तिनीहरूको पनि मन नदुखेको कहाँ हो र? मानिसले गल्ती एकपटक गर्छ तर, त्यसको प्राय:श्चित जीवनभरी गरिरहेको हुन्छ।
त्यस्तै, प्राय:श्चित गरिरहेका अरू कैदीबन्दीलाई पनि मीनको हालत र अवस्थाले बहुतै पीडा दिइरहेको थियो।
उसले सम्झियो बाल्यकालमा खेलेका गाउँ, चउर, वनपाखा, बदमासी गरेका क्षण, साथीभाइ भएर तल बेसीखोलामा पौडिन गएको क्षण उसलाई ती सबै क्षणहरू मस्तिष्कमा ताजा भएर आए। एकछिन त उसलाई आफू साउदीको जेलमा कडा सजाय भोगेर बसेको कुरा पनि बिर्सियो।
फेरि सम्झियो उसले पल्लो गाउँकी साइलीसँगको प्रेम।
पहिलोपटक बेसीबजारको मेलामा भेटिएका उनीहरू एकअर्कालाई देखेर कसरी लजाएका थिए। ऊप्रतिको अगाध माया, घर छोड्ने मेलामा साइँलीले झारेको आँसु, आमाले दिएको आशीर्वाद, बाको भरिएका गह उसले फेरि सबै सम्झियो। फेरि उसलाई ती कुराले पीडा दियो। बरू, नेपालमै लगेर मार्दिए पनि हुने नि उसलाई यो कुरा पनि लागिरह्यो। उसलाई बरू गाउँमै खोले, गुन्द्रुक खाएर बस्न पाएको भए मर्न त देशमै पाइन्थ्यो भन्ने पनि पटकपटक लाग्यो। तर, यी सबै कुरा त उसले सम्झनेबाहेक अरू कुनै उपाय थिएन।
उमेरले करिब ४५ पुग्न लागेको मीनबहादुर जीवनमा गरेको गल्तीको पटकपटक प्राय:श्चित, विदेशी जेलमा बस्दाको यातना र मानसिक तनावले उमेरभन्दा धेरै बुढो देखिन्थ्यो। महिनौंदेखि नकाटेको उसको कपाल र दाह्री आधीजस्तो फुलिसकेको थियो। वर्षौंदेखि हाँस्न बिर्सिसकेको ऊ हिजो एक्कासि मृत्युको समय तय भएपछि तन्द्रामा हाँस्यो। किनभने उसले घर फर्किन पाएको र छोरोलाई खुसी हुँदै अंगालेको सपना देखेको थियो। अर्धचेतन अवस्थामा हाँसेको ऊ वर्तमान अवस्थामा भने हाँस्न सक्ने अवस्थामा थिएन। जति सेकेण्ड बित्दै जान्छ उसको समयावधि त्यति नै नजिकिँदै आउँछ।
हुन त मृत्यु यहीँ दिन हुन्छ भन्ने निश्चित नभए पनि हरेक मानिसले बिताएको पलपल मृत्युको पर्खाइमै त बितिरहेको हुन्छ। आफूलाई दुख्ने भनेको आफ्नै घाउ त हो। तसर्थ पनि आफ्नो पीडा आफ्नो लागि विशेष हुन्छ।
जीवन गतिशील छ। जीवनलाई गति दिने एउटा साध्य होः मानिसको सपना। हो त्यहीँ सपनालाई पूरा गर्न साउदी पुगेको मीनबहादुर यतिबेला तय भइसकेको मृत्युको पर्खाइमा छन्। परिवारको राम्रो पालनपोषण र भएको ऋण तिर्न विदेश पलायन भएको उसको यात्रा कहिल्यै नफर्किने गरी मोडिँदै थियो। उसलाई कहिले पूरा नभएका सपनाले मन कुटुकुटु खान्थ्यो भने नजिकिँदै गरेको मृत्युको भय पनि उसका लागि कम्ता कहालीलाग्दो थिएन।
हरेक सेकेण्ड ऊ मर्ने समय आइसक्यो भनेर अत्तालिँदै बिउँझिन्थ्यो। कतिबेला त बरू थाहा नपाई मारिदिएका भए पनि हुने यस्तो पीडा, पलपल समय गन्ती गरेर त बाँच्नुपर्दैनथ्यो उसलाई पटकपटक लागेको थियो। बेलाबेलामा ऊ अरू कैदीबन्दीको मुखमा पनि हेथ्र्यो उनीहरूलाई देखेर झन् उसको पीडा बढ्थ्यो। अरू पनि उसको नजिकिइसकेको मृत्यु देखेर अत्तालिसकेका थिए।
ऊ अब समयको अन्तिम घडीमा पुगिसकेको थियो। उसलाई मृत्युदण्ड दिने अघिल्लो दिन थियो। कति धेरै बेचेन र छटपटाहटमा पुगेको थियो ऊ कि उसको मस्तिष्कले काम गर्ने छोडेको थियो। ऊ परिवारका सदस्यलाई एकोहोरो सम्झिरह्यो। एकपटक नेपाल पुग्ने, आफ्नो गाउँ पुग्ने, वर्षौंदेखि श्रीमानको प्रतीक्षामा बसेकी श्रीमती, बाउको अनुहार समेत नचिनेको छोरो, बुढीआमा र बुढाबा सबलाई एकपटक अंगालो हालेर रूने मन थियो उसको।
तर, अब बलवान् समयको अगाडि उसका असामान्य पीडा तृण बराबर पनि थिएनन्। मृत्युदण्डको खबर पाएदेखि छट्पटाहटमा बितेको उसको अन्तिम रात झनै पीडादायी भयो।
बिहानै उसलाई लिन कोही व्यक्ति आए। ऊ एकदमै निरीह र केही गर्न नसक्ने अवस्थामा पुगिसकेको थियो। बलिका लागि लान लागेको बोको जस्तै ऊ जता लगे त्यतै मृत्युको सुलीमा चढ्न अघि बढ्यो। बहुतै कामिरहेका उसका गोडा, लुलो भएको हात र निर्जीव जस्तै बनिसकेको उसको शरीरले अचेत अवस्थामै केही पाइला सारे। उसको आँखा छोपिएको थियो भने हात अगाडि बाँधिएको थियो। त्यसपछि दुई जना मानिसले उसलाई बिस्तारै अघि बढाउँछन् र एउटा कुनै बार्दलीजस्तो ठाउँमा उभिन लगाउँछ। उसका आँखा बन्द थिए भने डरले गोडा लगलग काँपिरहेका थिए। उसलाई कोही मानिसले स्पर्श गरेको जस्तो लाग्छ र केही कुराले घोचेको जस्तो। त्यो प्राणघातक सुइँ थियो। उसको अन्तिम बोली आमा भन्ने निस्किन्छ र ऊ त्यहीँ ढल्छ र यो सँगै मीनबहादुरको जीवनलीला समाप्त हुन्छ।
उसका परिवारले उसको मृत्यु भएपछि मात्रै जानकारी पाउँछन्। वृद्ध भएका बाआमा, श्रीमतीको छट्पटाहट र पीडा त झन् शब्दमा व्यक्त गर्न नसकिने थियो। मीनबहादुरको लास नेपाल नपठाएर उनीहरूले त्यहीँ कतै गाडिदिन्छन्। मृत्यु भइसकेपछि समेत लास देख्न नपाएको परिवारको पीडा झनै असह्य थियो। कुनै पनि अपराधमा दिइने मृत्युदण्डले हजारौं मीनबहादुरहरू यसरी नै तड्पिएर मरेका छन्। उनीहरूको मृत्यु भनेको परिवारको भरोसा आशा सकिनु, देशले एउटा नागरिक गुमाउनु र एउटा छोरा बावुविहीन हुनु पनि हो।
मीन बहादुरको गतिशील सपनाले दिएको अकल्पनीय मृत्युले नेपाली समाजको वास्तविक चित्र पनि दर्शाएको छ।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)