‘हाम्रो मुलुकको हितका लागि प्राणको आहुति दिनुहुने वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न अब मौन धारण गर्ने कार्यक्रम रहेको छ।’
मैले उद्घोषकको आशय बुझेँ। अब सहभागी सबैले उठ्नु पर्नेछ।
उद्घोषकले पुन: थपे, ‘अब सहभागी सबैले एक मिनेट मौन धारण गरी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न उठेर सहयोग गरी दिनुहुन अनुरोध गर्दछु।’
नभन्दै हलमा सहभागी सबै उठ्यौं। हाम्रो शिर झुकाएर श्रद्धाभाव बढाउन प्रारम्भ भयो।
जब मौन धारण सुरू भयो नजिकै मोबाइल फोनको घण्टी बज्यो।
मेरो ध्यान भंग भयो।
मैले निहुँरिएको आफ्नो शिर निहुँरिएकै अवस्थाबाट आँखा घुमाएँ।
मेरै नजिकका एक पात्रको झोलाबाट आवाज आइरहेको अनुमान गरेँ।
मनमनै कुरा खेल्न थाल्यो। कम्तीमा यो समयमा त आवाज नआउने बनाए हुने नि।
झट्ट आफ्नो अवस्था सम्झिएँ। मलाई तत्कालै आफ्नो मोबाइल फोन आवाज नआउने बनाउन मन लाग्यो। बिस्तारै फोन झिकेर काम सम्पन्न गरेँ।
फोन बजिरहेको थियो। कोट्याएर बन्द गर्न भनेँ। बल्ल आवाज बन्द भयो।
अब त सहिदका नाममा श्रद्धा व्यक्त गर्न एकाग्रता मिल्यो भनेर ढुक्क बनेँ।
त्यही समयमा अर्का व्यक्तिलाई खोकी लाग्यो।
शारीरिक प्रतिक्रिया जनाउन बाध्य उबाट बीचैमा चर्को आवाजमा खोकी बाहिर निस्कियो। फेरि मेरो ध्यान भंग हुन पुग्यो।
‘उफ्, सन्नाटा भित्र यो कस्तो चलमल हो?’, मलाई ध्यान भंग भएकोमा असहज लाग्यो।
सायद मेरा नजिकका महाशयलाई पनि यस्तै भएको छ कि?
खोकी विस्तारै सानो आवाज हुँदै रोकियो।
पुन:अलिक पर अर्को मोबाइल बज्यो।
बाहिर चराचर जगत त मीन शोकमा छैन नि। फेरि आफ्ना हितैषीलाई म कहाँ छु, उनी कहाँ छन् र के गर्दै छन् भन्ने जानकारी हुने कुरै भएन। यो फुसफुसाले नि हैरानै गर्छ कहिलेकाहीँ त।
खाना खान बस्यो। आफूलाई जस्तै भोक मेटाउन उसलाई नि चार्जमा राखेको हुन्छ। आवाज आइदिन्छ।
आमाले हस्याङ्फस्याङ गर्दै ‘यी फोन आयो’ भन्दै ल्याइदिनु हुन्छ।
‘भयो भयो, अहिले पर्दैन। पछि हेर्छु,’ भनेर मैले पन्साउँदै खाना खाएको सम्झना आयो।
मैले सहिदहरू सम्झिएँ।
सिफलको रूखमा झुण्ड्याइएका शुक्रराज शास्त्रीको अनुहार आँखा अगाडि झलझली आयो।
एकातिर आफ्नो अमूल्य जीवनको अन्त्य निश्चित छ। अर्कातिर परिवारको आत्मीयता र कर्तव्यको प्रेमसुधा बर्सिरहेछ। आफन्त र शुभचिन्तकहरूले काही न कहीँ त सम्झिरहेका हुनन्।
आफ्नो आस्था र विश्वासको बलियो खम्बामा अडिएर आफूलाई सतीसालझैं बनाएको स्पालिलो मन अटल छ। दृढ छ र आत्मविश्वासले कठोर बनेको छ।
‘हान मेरा छातीमा गोली ठोकेर उडाउँदा तिम्रो जहानियाँ सत्ता बलियो हुने हैन। झन् कमजोर बन्दै जानेछ। बुझी राख नालायकहरू।’
त्यो कठोर तर सत्य बचन अनि निष्ठापूर्ण त्यागको क्षण सम्झेर म कायल हुन्छु।
‘फासिष्ट सरकार मुर्दावाद, इन्कलाव जिन्दावाद’ भन्दै जुलुस अघि बढेको र निषेधित क्षेत्रको रक्षार्थ खटिएका सुरक्षाकर्मीबीच झडप भएको सम्झिएँ। कोलाहलका बीचमा भएको झडप र रगताम्य भएर ढलेका साहसी अभियन्ताको तस्वीर आँखा अगाडि आयो। रक्तरञ्जित झण्डाको परिभाषामा सायद यस्तै रगतको रातो लपेटिएको कल्पना गरेका होलान् परिकल्पनाकारले।
अर्थात् झण्डा बन्ने पृष्ठभूमितिर फर्किन मन लाग्यो।
एउटा सम्भावित पृष्ठभूमि सोचेँ। यस्ता आन्दोलनहरू भए। त्यहाँ हिंसात्मक झडपहरू भए। योद्धाहरू यसै गरी रगतपच्छे भएर ढले। त्यसपछि विद्रोहीहरूलाई गोलबद्ध गर्न उनीहरूकै सम्झनामा रक्तरञ्जित झण्डा अघि सारियो।
अर्को सम्भावित पृष्ठभूमि सोचेँ। नागरिकमा सत्ताधारीप्रति वितृष्णा हुँदै आयो। यो असन्तुष्टिलाई सङ्गठित गरेर विद्रोह गर्दा हिंसात्मक झडपहरू पनि हुन सक्छन्। त्यसपछि रगत बग्नेछ। त्यो बलिदानको सङ्केत अहिल्यै समेट्नु पर्छ भनेर रक्तरञ्जित झण्डा अघि सारियो।
माथिका दुवै सन्दर्भ जे भए पनि रक्तरञ्जित झण्डाले बलिदानको संकेत गर्छ।
प्रश्न यही बलिदान शब्दमा रहन्छ। बलिदान किन, कहिले, केका लागि र कसरी?
नागरिकलाई सङ्गठित गरी आन्दोलनमा होम्न लगाउँदा वा होमिँदा मनमा लहराउने आकांक्षा र सुन्दर सपनाको संसार कसरी देखिएको हुन्छ, अथवा देखाइएको हुन्छ, बलिदानको मूल्य त्यसको प्राप्तिमा निर्भर गर्दछ।
जेलका काल कोठरीमा बन्दी बनेर निष्ठाका लागि जीवन अर्पण गर्ने र यही क्रममा ठाउँ सार्दै बीच बाटोमा भाग्न लगाएर शिकार गरिएका सहिदहरू मेरा आँखा वरिपरि घुम्न थाले।
यस्तै, अन्यायको बाढीबाट बचेर नेतृत्व गरिरहेका वर्तमान पुस्ताका नेता र सामाजिक अभियन्ताहरूका तस्वीर पनि यसै गरी मेरा आँखा वरिपरि घुम्न थाले।
आखिर सपनाको महल त सबैले देख्नु स्वाभाविकै हो। तर त्यो सपना आफ्ना हितमा, समाजका हितमा,आफ्नो सुदायका हितमा, मुलुकका हितमा, पेशा वा व्यवसायका हितमा कति रहन्छ भन्ने आधारमा त्यसको मूल्य निर्धारण गर्न सकिन्छ।
सपनाको प्राप्तिका लागि गरिने कार्य कस्तो हुन्छ? त्यसले लिने बाटो वा तौरतरिका र अरू व्यक्ति वा प्रकृतिका अन्य पक्षहरूलाई पार्ने वा पार्ने प्रभावका आधारमा सपनाको मूल्यांकन गर्न सकिन्छ।
मौन धारण गरेर श्रद्धा गरिएका सहिदहरूको परिभाषा गर्न मन लाग्यो।
एकै पुस्ताले ३ पटक सफल राजनीतिक संघर्ष गरेको भन्दै गौरव गर्ने पुराना पुस्ताका नेताहरू सम्झिएँ। एकै पुस्ताले ३ पटक सफल राजनीतिक संघर्ष गर्नु गौरवपूर्ण विषय हो कि असफलता हो म दुविधामा परेँ।
भित्तामा उकालो चढिरहेको कमिलाको भगिरथ प्रयत्न याद आयो। जन संघर्षका यस्ता घुम्तीहरू धेरै आए। कुनै घुम्तीमा सहिदहरू बलिदान गर्न बाध्य भए। कुनै घुम्तीमा जीवन बलिदानबिना नै सफलता हात लाग्यो। कम क्षतिमा हुने उपलब्धिको मूल्य अरूलाई कम लाग्न सक्छ।
पछिल्ला दिनहरूमा सहिद शब्दलाई राज्यले सम्मान गर्ने नाममा परिवारलाई राहत रकम दिन बढेको प्रचलन याद आयो। रकमका लागि सहिद परिवारका नाममा हुने आन्दोलन र सरकारले क्षतिपूर्ति दिने सहमति बनेपछि आन्दोलन टुंगिने गरेका घटना पनि सम्झिन पुगेँ। यसरी आन्दोलन अनि राहत दिने समझदारीको श्रृंखला र सहिदको नामको सूची बढेको अवस्थातिर मेरो ध्यान मोडियो।
मेरो चिन्तनको तन्द्रामा सहिद गंगालालको तस्वीर नाच्न थाल्यो। उनले आफूलाई सहिदको भीडबाट चिच्याएजस्तो लाग्यो। सहिद बस्तीमा पनि सहिदका तथ्यांक संकलन हुँदै थियो। विवरण संकलनको लामो फारममा कहिले, कहाँ र कसरी सहिद बन्न बाध्य भएको हो भन्ने महल पनि रहेछ।
लखन थापा र ४ सहिदहरू एउटा काठे बेन्चमा बसेका थिए। उनीहरू त्यो विवरण संकलन प्रक्रियाप्रति खासै खुसी भएजस्तो लागेन।
लखनले भने ‘भयो गंगालालजी, मलाई यसरी आफ्नो विवरण दिनु छैन।’
दशरथले थपे ‘बैतडीको रमणीय भूमिमा पैतृक थलो रहेको मलाई पनि यस्तो भीडमा बसेर नाम टिपाउन मनले मानेको छैन।’
शुक्रराजले गीता हालमा लिएर भने ‘कर्मन्येवाधिरस्ते मा फलेषु कदाचन।’
गंगालाललाई पनि यो मन परेको रहेनछ। उनले पनि मनको बह ओकले- ‘मैले मुलुकका लागि कलिलो वयमा जीवन उत्सर्ग गरेको हुँ। राज्यबाट मेरा परिवारका लागि केही लिन भने यस्तो त्याग गरेको होइन। अझ हामीलाई भर्याङ बनाएर अरूमाथि शासन गर्ने कसैलाई अधिकार दिलाउन पनि यसो गरेको होइन।’
‘त्यही त, अब यो भीडमा गएर आफ्नो नाम लेखाउनुभन्दा बरू गुमनाम नै बस्नु वेश। म त यसै बसी रहन्छु।‘ फेरि शुक्रराजले थपे।
सहिदका नाममा मौन धारण गरेर श्रद्धा र अठोट व्यक्त गरिरहेको मलाई यो चिन्तनको तन्द्रामा अनुभूत गरिरहेको सम्वादले झस्कायो।
मेरो श्रद्धा र अठोटको मार्ग अहिले कता हिँडिरहेछ? आयोजकलाई सोध्न मन लाग्यो। अघि मोबाइलको घण्टी बजाउनेतर्फ फर्किएँ। उनी उसैगरी शिर झुकाएर मौन धारण गरिरहेका थिए।
उस्तै सन्नाटा ।
मेरो मन भने अहिले सन्नाटामा थिएन। कोलाहलभित्र आफूले आफैंलाई सोध्न मन लाग्यो- के म साँच्चै सहिदप्रति श्रद्धा व्यक्त गरिरहेको छु त?
उद्घोषकको आवाज कानमा आइपुग्यो
‘धन्यवाद’।