ऊ सानै थियो। झण्डै-झण्डै ३ वर्ष मात्रै पूरा हुन लागेको हुँदो हो। परिवारमा नयाँ सदस्यको आगमन भयो।
बहिनीको आगमनले ऊ निकै खुसी थियो, परिवार झनै खुसी। परिवारमा लक्ष्मी भित्रिएकी थिइन्। खुसीमा कमि आउने त कुरा नै थिएन।
अझै जेठो सन्तानको रुपमा छोराले जन्म लिइसकेको थियो। यदि पितृसत्तात्मक सोच हावी भएको परिवार रहेछ भने तापनि अब यसले चिसो पस्छ कि भन्ने शङ्का नै थिएन। सबै परिवारका सदस्यहरू प्रफुल्लित थिए।
दिनहरू बित्दै गए। विस्तारै-विस्तारै बहिनी अलिअलि तोते बोल्न र हात समाएर हिँड्न सुरु गरी। बाबाआमाको प्यारो सन्तान अनि बहिनी नजन्मिँदासम्म पुलपुलिएको दूधे बालक उसमा अब एक्कासी परिपक्वता खोज्न थालियो।
ऊ उमेरमा परिपक्व नहुँदै उसका व्यवहारमा परिपक्वताको आशा गर्न थालियो। मानौँ कि अब उसमा सबै कुराको ज्ञान छ, अब ऊबाट गल्ती नै हुनुहुँदैन।
सानो भएकै कारण आफूलाई घर-परिवार, छर-छिमेकदेखि लिएर सबै जनाले गर्ने त्यो न्यानो मायाको महसुस गर्न नपाउँदै, आभास गर्न नपाउँदै उसमा जिम्मेवारी थपिन थाल्यो। बाबाआमाको लागि जेठो सन्तान अनि बहिनीको लागि दाजु बन्यो ऊ।
उसमा जिम्मेवारी बढ्यो भनौँ वा बढाइयो। अब त उसले बाबाआमाको गाली सुन्न गल्ती गर्नै पर्दैन। ऊ बहिनीसँऊ जिस्केर खेल्न पनि पाउँदैन। उताबाट चर्को स्वरमा आमाको आवाज आइहाल्छ- ठूलो भएर बहिनीसँग चल्छस्?
दाजुबहिनी सँगै बस्दाबस्दै उनीहरूमा के कुरा मिल्दैन, बहिनी यत्तिकै डाँको छोडेर रोइदिन्छे। अनि फेरि बाबा चिच्याउनुहुन्छ- ए केटा, तँलाई भनेर लाग्दैन? यत्रो भएर सानी बहिनीलाई रुवाउने हो?
उस्तै परे हात समेत हाल्न भ्याउनुहुन्छ तर छोरी रुनुको मूल कारण खोज्न चाहनुहुन्न। न त उसको कुरा नै सुनिदिनु हुन्छ। बस् उसलाई हप्काउन पाए पुगिहाल्यो जस्तो महसुस गर्छ।
अब त उ मज्जाले हाँस्न पनि पाउँदैन, रुन पनि पाउँदैन। मन लाग्दा साथीसँग खेल्न जान पनि पाउँदैन। बाबाआमासँग केही माग गर्न पनि पाउँदैन। बिना गल्ती बाबाआमाले आफूमाथि गरेको चर्को आवाजको प्रतिकार गर्न पाउँदैन।
जानी नजानी, बुझि नबुझी, सकि नसकी जसरी भए पनि उसले आफ्ना क्रियाकलापमा नियन्त्रण गर्नुपर्छ। हरेक कुरामा आफू सम्हालिनुपर्छ।
बालापनमा देखिने व्यवहार देखाउन पनि पाउँदैन किनकी ऊ त अब सबैको नजरमा ठूलो भइसक्यो। आरोप लागिहाल्छ- तैँले गर्दा बहिनीले यस्तो सिकी, उस्तो सिकी, यसले बहिनीलाई पनि बिगार्ने भयो!
आफूमुनि एउटा सन्तान जन्मिनेबित्तिकै यी कुराहरू त हरेक परिवारमा देखा परी नै हाल्छन्। गाडी दुर्घटनाका केसहरूमा सानो गाडीको गल्तीमा पनि ठूला गाडीमाथि नै दोष लगाइएजस्तै आफूभन्दा साना भाइबहिनीहरू घरमा भएपछि उनीहरूको गल्तीमा पनि आफू भागीदार हुनैपर्ने।
गल्ती नगरेको केसमा पनि गल्ती स्वीकार गर्नैपर्ने। आफ्ना कुराहरू सुनुवाइ हुन त परै जाओस् चुपचाप बाबाआमाको कचकच सुन्नबाहेक अरु त विकल्प नै नहुने। जवाफ फर्काउन थाल्यो भने त बाबाआमाको चड्कन भेट्न कत्ति बेर लाग्दैन। सबै रिस आफैमाथि पोखिन थाल्छ झन्।
अझै तीन सन्तान हुने परिवारको बीचमा जन्मिएको सन्तानको पीडा झन् छुट्टै छ। आफूभन्दा ठूलासँग चल्दा आफूसँग ठूलासँग चलिस्? ठूलासँग नहुने रहेछ क्यारे भनेर सानासँग चल्यो, आफूभन्दा सानासँग चलिस्? भन्ने सुन्नुर्छ।
दुई ढुङ्गाको बीचमा रहेको तरुलजस्तै। जसो गरे पनि दोष आफैमाथि, दुवै तिरको पेलाई आफैले सहनुपर्ने।
कान्छो भएर जन्मिनु पनि बहुत् सौभाग्य लाग्छ मलाई त। जन्मिएदेखि बाबाआमा रहुन्जेलसम्म पनि सानै हुन पाइने। अपरिपक्व हुन पाइने। गल्ती गर्दा पनि सानै छ भनेर छुट पाइने। रिस उठे रोइदिए भइहाल्यो, चिच्याइदिए भयो।
घरको जेठो सन्तान, बहिनीको दाजु। ऊ पनि अहिले यहीँ परिवेशमा गुज्रिरहेको छ। नर्सरी, एक कक्षामा पढ्दादेखि नै ठूलो ठहरिएको ऊ अब सानो हुन कहिल्यै पाउँदैन। अनि उसकी बहिनी जो कहिल्यै ठूली हुनुपर्दैन।
जुन उमेरमा उसमा परिपक्वता खोजिएको थियो, त्यो परिपक्वता उसकी बहिनीमा कहिल्यै पनि खोजिँदैन, किनकी ऊ त अझै पनि सानै न छे।
बहिनी जन्मिनेबित्तिकै परिपक्व ठहरिएको ऊ। सायद उसको इच्छा, चाहना, रहर अनि स्वतन्त्रतासँगै उसको बालापन उतिबेलै खोसिसकेको छ, र त अब ऊ कहिल्यै पनि सानो हुन पाउँदैन।