लम्किनु छ नयाँ गन्तव्य
धर्तीमाथि पाइला राखी
बचाउनु छ जीवनचक्र
छानो देख्छु खुला आकाश
आफ्नै शिरमाथि!
अदम्य साहसले मुटु दरो पारी
लम्किनु छ नौलो परिवेश
बटुल्नु छ बाँच्ने साथ र सारथि
हिँडेर कहिले नथाक्ने
शून्यतामा अर्थ खोज्न आँट राख्ने
म हुँ शरणार्थी।
सन्तानका थकाइले चर्किन्छ मेरो छाती
आफूलाई बिझेको काँडाले
पोल्दैन बरु त्यति भाँती
प्रकृतिको प्रेमले भर्नु छ रित्तो पेट
आफ्नैबाट लखेटिएर पनि
कहिले विचलित नहुने म हुँ शरणार्थी।
पिर व्यथा अभावका हुरी सबै मेरा साथी
जुन र तारा बसेका छन्
बनेर सहारा अनि साक्षी
धैर्यताको ताज पहिरी छोड्नु छ
आफ्नो परिवेश
नव गन्तव्यमा पुग्न
आउने बाधा सबैमा मेरो छ
सन्तोष
अमूल्य धारा पसिनाको बगाउन म
तयार छु
तर नगरोस् शत्रु आइ मेरो
मातृभूमि र अस्तित्वको अट्टहास।
त्यसैले भर्छु म देहमा
मातृस्नेहको उमंग
पोत्छु म मुहारमा मातृप्रेमको रंग
भर्छु म कानमा मातृ सुरम्यताको सङ्गीत
पहिरन्छु म शिरमा
जननी र जन्मभूमिको
आशीर्वादको ताज
र त मेरो पाइला दरो छन्
अभावको उचाइ अनि अनिकालको
गहिराइले मलाई छुन सक्दैन
अपमानको वाण अनि
तिरस्कारको ज्वालाले
निल्न सक्दैनन्
म आफ्नैबाट लखेटिएर
पनि संसार जित्न खोज्ने
बलवान् सिपाही
सृष्टिको वास्तविक लडाकु
आफ्नै आत्माको ईश्वरको सैनिक
संघर्षको साक्षात् मूर्ति।
धर्तीको माटोलाई सिरानी
अनि चन्द्रमाको आकारलाई
सपना सजाउन सक्ने
नहार्ने नथाक्ने
अनि जन्म जन्म मुटुभित्र
आफ्नो मातृभूमिको ताज सजाएर
शून्यतामा जीवन सृजना गर्ने
साहस राख्ने शरणार्थी।