मलाई आँखामा कालो पट्टी बेरेर
विषलाई अमृतको प्याला भनी
एकैछिनलाई जहरको ताली पाउनु छैन
देखिने र देखाउने बहानामा
आफैभित्रको मानवत्व बगाउनु छैन
बरु मान्छेहरूले मलाई धित मरुन्जेल
गाली गरून्, थुकुन्, मुखैमा बजाउन
म सत्यलाई सत्य भन्ने सामर्थ्य राख्छु
म झरीलाई औधी प्रेम गर्छु
तर बजाउन्नँ ताली
उर्लँदो भेललाई छातीमा टाँसेर
भत्किएका वस्ती र चुँडिएका मनहरूको दोभानमा अड्किएर
विचार बिनाको सम्बन्ध दिगो हुन्न भन्ने एकल पथीय बाटोमा
म आफूलाई राख्दिनँ
मलाई थाहा छ
ढुङ्गा अड्किनलाई माटो चाहिन्छ
जून टल्किनलाई अँध्यारो चाहिन्छ
तर अमृतको घडामा विषको बुँद मिसाउँदिनँ
म सम्बन्धको मालालाई सम्मान गर्छु
मैले देखेको छु बगैँचामा फुलेका
सय थरी फूलहरू
मैले देखेको छु छालसँग नदीको सम्बन्ध
मैले देखेको छु हिलोमा फुलेको कमल
तर यो पनि सत्य हो कि
म सर्पलाई सिरानीमा राखेर सुत्दिनँ
मलाई चिप्लो घस्न आउँदैन
चाप्लुसी गर्नु नियतमै छैन
म स्वाभिमान हुँ
स्वाभिमानी हुनुको प्रमाण म आफै हुँ
देखाउनुमै भलो हुन्छ भन्ने म ठान्दिनँ
म भोकलाई परसम्म धकेल्न सक्छु
बाटोमा ठेस लाग्ने ढुङ्गा आफै पन्छाउँछु
बरु ऐँचोपैँचो लिन्छु
ढाँटेर खान्न, चोरेर लाउन्नँ
म एक्लो छु थाहा छ
म अप्ठ्यारोमा पर्न सक्छु थाहा छ
तर देखेको छु चाप्लुसी गर्नेहरूको हबिगत
देखेको छु एकछिनको भोक मेटाउन
रङ फेर्नेहरूको रङ्ग
देखेको छु चाप्लुसीको झुट दबाउन
नैतिकतालाई दाउमा लगाउनेहरूको
स्वाभिमानको कालो धब्बा
म प्रगतिशील विचार धारामा बाँच्न चाहने
एक तुच्छ मान्छे
मलाई गर्भ छ प्रगतिशील हुनुमा
मार्क्सवादसित मेरो प्रेम छ
मलाई सबसे प्रिय लाग्छ मार्क्सवाद
मैले राम्ररी पढेको छु
बुझेको छु
भोगेको छु
तर यो होइन कि
म मार्क्सवादी हुँ
म मार्क्सवादको दास हुँ
चाहन्छु म मार्क्सवादी बन्न सकूँ
तर म सक्दिनँ थाहा छ
मैले मार्क्सवादी बन्छु भन्नु
सगरमाथाको चुचुरोमा बस्ती बसाउनु
जस्तै हो
महासागरमा पौडी खेल्नु जत्तिकै हो
मलाई माया लाग्छ
आफ्नो पहिचान
भाषा
सभ्यता
संस्कृति र साहित्यको
मैले बुझेको छु आफ्नोपनको आभास
मैले बुझेको छु आफूभित्र आफू हुनुको अर्थ
तर मलाई कदापि स्वीकार छैन
अस्थित्व विहीन अस्थित्वको नक्कली लडाकु हुन
म आफूलाई आफैभित्र देख्छु
म आफैभित्रको आफ्नो हुँ
मैले आफू हुनलाई आफै आफू भएको छु
र त म
मेरो लागि आफैमा विशेष छु
आफूलाई आफू बनाएर बाँच्न सिकेको छु
तिमी भएर तिम्रो भएर बाँच्यो भने त
म दास सिवाय केही हुँदिनँ।