आमा, हातमा भिरेको कागजपत्र बेचौं ?
छोराछोरीले केही गर्न सकेनन् भने पनि इज्जतले अघाउँछन् बाआमा, सन्तुष्ट हुन्छन्। थोत्रा घरमा नदेखिने गरी जेलिएको रहरलाग्दा सपना अनि देखिनेगरी जेलिएको माकुराको जालो, तारा गन्न मिल्नेगरी चिथारा परेका छानो, अझै देखिनेगरी डुल्ने, हाँस्ने गरेको आमाको च्यातिएर गाँठो परेको फरियाको फेरो अनि घुँडाभन्दा तलसम्म पुग्न नसकेको बाको झागे (कट्टु) शिर सर्लक्कै देखिने गरी फाटेको टोपी। तर सन्तुष्टिको पर्यावरणले फिस्स हाँसेको मुहार यही त होला यो पहाडको पुच्छरमा गाउँकै प्रतिनिधित्व गरेर उभिएको झुपडी, फराकिलो आँगन, आँगनको डिलमा फराकिलो ढुंगा, अलि पल्तिर परेवाले पानी खाने डुडाल्नो पश्चिमपट्टि ढिकी बीचमा गल्ली निस्कने बाटो ढिलबाट पाँच खुड्किलो झरेपछि ठूला-बाको घर।
मेरो घरको पछाडि पिडालुबारी नजिकै धुपीको बोट पूर्वी भागमा लस्करै कटेरा (गोठ), परालको टौवा पाइखाना (चर्पी) खुर्सानी बारी, मल खाँद, फुत्त घरको ढोकाबाट निस्किएपछि बाख्राको जुत्तोको राग, यो सकिन नपाउदै भैंसी, गोरू, गाईको गोबर यही पेरिफेरीमा हुर्किएको थिई। अत्यन्तै मनमोहक ठाउँ, संसारकै सबैभन्दा मनपर्ने ठाँउ जहाँ एउटा रङ्गिन सपना, रहरहरूको संगालो बोकेर हुर्किएकी छे महिमा।
ब्राह्मण समुदायमा हुर्केकी समाजलाई एउटा हदबाट बुझेकी, घरको अवस्था आफ्नो रहर र सपनालाई सम्झौतामा राखेर अगाडि बढ्न सक्ने कुशल नारी थिई। समाज, परिवेश, मान्छेको दृष्टिकोण, फरकपन सबै कुराले मान्यता राख्थ्यो।
परिवर्तनशील स्वभावको जति नै भए पनि समाजको दायराबाट केटी मान्छेलाई माथि उठ्न समय लाग्छ। फलानो ढिस्कानोको आँखामा हेर्नुपर्ने आफूले लगाएको लुगा, बोलिने हरेक शब्द, सम्मान आदिलाई झुन्ड्याएर हिँड्नुपर्ने। मानौं छोरी मान्छेको पूरै शरीर मांसपेशी, कोशिका, अस्थीले भन्दा ज्यादा इज्जतले बनेको हुन्छ।
जिन्दगीलाई हरेक तबरबाट बुझ्दा महिमालाई लाग्थ्यो आफूलाई एउटा खुला पंक्षी सम्झन्थी।
नयाँ ठाउँ नयाँ परिवेशसँगको सामिप्यता उसको जिन्दगीको पेन्डिङ लिस्ट थिए। केही अठोटलाई मनबाट सोचेपछि पूरा गर्नु नै पर्छ भन्ने संकल्पका साथ एकदिन सहर हिँड्ने निर्णय मनमनै गरिन्। घरमा अनुमति लिने उद्देश्यका साथ आफ्ना आमाबुवासँग आफ्ना सपनाका दस्तावेजहरू एकाएक सुनाइन्।
कुनै पनि आमाबुवाले आफ्ना सन्तानको लागि कहिल्यै नराम्रो सोच्दैनन्। भन्दै गर्दा आमाले महिमालाई भनेकी थिइन्-छोरी जिन्दगी हतियारले नै चल्छ कलम बलियो हतियार पाएकी छौ यसैको चुच्चोले चरेर जिन्दगी सहज बनाउनु, आमाको यो शब्द महिमाको लागि प्रेरणा र उत्तरदायित्व दुबै बनेर आए।
पुस महिनाको पहिलो शनिबार महिमा घरबाट निस्कने दिन, बाक्लो कुहिरोले गाउँ धपक्क डाकेको थियो। एकाबिहानै उठेर घरको सबै धन्दा भ्याउने महिमा आज नुहाइधुहाइ सकेर सुकिला लुगामा सपनाको सहरको सयरमा तयार थिइन्।
पहिलोपटक घरबाट परको यात्रा सहरको बसाइको लागि हिँड्न लागेकी महिमा मनमा सपनाको पोकापुन्तुरा त छँदै थिए, त्यही माथि घरबाट निस्कने बेलामा आमाले सहरको छाक धकेल्न गुन्द्रुक, घिउ, अचार, तामा मुलाको सिन्की सबैकुरा भरितारी मिलाएर तयार गर्दिन्।
बिहानको ६ बज्यो घरबाट बससम्म पुग्न करिब ३० मिनेटको बाटो, ७:३० मा बस हिँड्ने कुरा थियो। अब निस्कने सुरसार कसेर आफ्नो लुगाको झोला आमाले तयार पार्दिएकी कोसेली झोला बोकेर निस्किइन्।
निस्कने बेलामा झन् घर रमाइलो देखियो। बाख्राको पाठो उफ्रिरहेको, परेवाले आँगन छेउमै रहेको डुडाल्नोमा पालैपालो पानी पिएका, गोठको काली गाईले आफ्नो सन्तान बाच्छोलाई चाटिरहेकी, पल्लोघरमा सानो भाइ खेलिरहेको, घर नजिकैको धुपीको बोटमा चराहरू सल्बलाएका, पँधेरीमा गाउँका काकी, भाउजूहरू एकआपसमा गफिँदै हाँसिरहेका। यो चिसोमा सबैको घरका धुवाँपलबाट धुवाँ निस्किरहेका, कोदो पाकेर झरिला भएका यति देख्दा महिमालाई फेरि एकपटक गाउँमा नै बस्ने कि भन्ने सोच्न बाध्य बनायो।
अनि आमालाई झम्टेर अंगालो हाली अनि सोची, गाउँ नछोडी सपना पूरा नहुने नै हो त? भन्ने उसको मनमा जाग्यो तर पनि छोड्न पर्ने नै थियो।
बस स्टेसनसम्म पुर्याउन आमा र बुवा दुबै हिँडे। जाँदै गर्दा बाटोमा बुवाको र आमाको कुरा सुन्दै गई ‘छोरी बनको काँडालाई कसैले घोच्ने बनाएको हैन सिस्नोलाई कसैले पोल्ने बनाएको हैन पखेटा पलाइसक्यो अब आफैं उड्न सिक्नु है।’
बुवाले भनेको यो कुरा महिमाले जिन्दगीभरका लागि आत्मसाथ गर्नुपर्ने थियो।
बसमा चढिन् आमाबालाई झ्यालबाट हात हल्लाई र बसको यात्रामा हिँडिन्। नेपाली समाजमा उच्च शिक्षाको यात्रा सहरभन्दा बाहिर निस्किएर मात्रै हुन्छ भन्ने मानसिकता रहेको छ। बच्चा, बुढा, युवा सबैलाई उच्च शिक्षाको गन्तव्यस्थल राजधानीका सहरहरू नै लाग्छन्।
महिमा उच्च शिक्षाको प्रक्रियालाई पूर्ण रूप दिनकै लागि सहर हिँडेकी थिइन्। मनको कौतुहलता, घरप्रतिको माया, आमाबाबुको माया, गाउँको माया अनि केही गर्छु भन्ने अठोटलाई एउटा गन्तव्यमा बिसाउन ऊ राजधानी आइपुगी।
पहिलोपटक राजधानी आएको बेला आफन्त खोज्ने प्रक्रिया सायद सबैको हुन्छ। गाउँकै एकजना दाइको आडलाई सम्झिएर सम्पर्क गरी दाइको तिरै लम्किइन्। कतै नचिनेको ठाउँ जताततै लामालस्कर गाडी र घरहरूको घुइँचो, व्यस्त सहर, बेवास्ता मान्छेहरू, जिज्ञासा, जिज्ञासुले थिचोमिचो हुँदै दाइको कोठासम्म पुगिन्।
घरबाट आएका सामानहरू बिसाइन्। नौलो ठाउँ भिन्न परिवेश, पुरूष मान्छे बसेको कोठा जताततै लुगा, चुरोटका ठुटा, कपि किताब छरपस्ट, जुत्ता चप्पलले खुट्टा खोजिरहेका हेर्दा लाग्थ्यो बेवारिसे भएको छ त्यो कोठा। सँगै बस्नु छ, एकै ठाउँमा खानु छ, दु:ख सुख यताउता गर्नु छ भनेपछि महिमाले आफ्नै ठानेर कोठालाई चिटिक्क बनाउने काम गरिन्।
खाना पकाउने, लुगा धुने, कोठा सरसफाइ गर्ने, भाडा माझ्नेलगायत सबै काम आफैं गर्न थाली, छोराछोरी घरबाट सहर निस्कनु भनेको आमै चराले मुखमा ल्याएकी खानेकुरा फेरि भुइँमा खस्नु हो अनि आफैंले खोजेर च्याप्नु हो।
महिमा बल्ल भुरूरू उड्न सक्ने बचेरा भएकी छे। एक्लै संघर्ष गर्न, एक्लै उड्न, एक्लै गुँड बनाउन उडेकी छे। सहरको बसाइँ, गाउँको दाइ केटा मान्छे सँगको बसाइँ, ढुक्क मन लिएर बस्न गाह्रो हुन्थ्यो दाजुबैनीको सम्बन्धले बसेता पनि मान्छेको आँखालाई मनलाई कुरा खेलाउन पाउन छुट थियो।
***
माघ महिनाको अन्त्यतिर पढाइ, जागिर सँगै गर्ने सोच आयो। बिहानै क्याम्पस जाने, दिउँसो कतै काम गर्ने मानसिकताले बागबजारको एउटा गल्लीमा हस्तकलाको सामान बनाउनेमा लागिन्। राजधानीको ठाउँ मभन्दा पहिला पैसा चल्ने ठाउँ अनि मात्रै म चल्ने ठाउँ, पैसा कमाउने चक्कर एकापट्टि घर, समाजको दृष्टिकोण अनि आफ्नो सपना एकापट्टि राखेर दैनिकी गुजार्न सधैं बागबजारको हस्तकला बनाउने काममा लागें। तर यो मेरो भागमा मैले गर्न खोजेको काम थिएन। म आफ्नो बौद्धिकताले केही गर्न चाहन्थें।
बिहानको समय क्याम्प दिउँसो त्यहीँ काम गर्दागर्दै आफूलाई समयले अनि स्तरले खिचेको भान हुँदै गयो। धेरै मान्छेसँगको सामिप्यता, केही नयाँ फरक शैलीमा प्रस्तुत हुने, आफूलाई सधैं अब्बल देखाउन रूचाउने तर अहँ त्यो सहज अनि सोचेजस्तो थिएन।
दिनदिनै सहरको त्यो गल्लीमा मैले देखेका सपना अनि मैले बनाएको हस्तकलाका पुतलीहरू बिल्कुलै फरक थियो। कोठामा पुगेर गाउँले दाइसँग बस्न पनि गाह्रो लाग्ने वातावरण आइसकेको थियो। मलाई दिनानुदिन गाह्रो लाग्थ्यो। नजिक हुन, आँखामा आँखा राखेर हेर्न पनि मुस्किल हुन्थ्यो। दाइका साथीहरू आउँथे म अप्ठ्यारोमा पर्थें। बोल्ने/नबोल्ने केही पत्तो पाउँदिन थिएँ। जब दाइका साथीहरू आउँथे म आफ्नै कोठामा जान्थें, झ्यालबाट बाहिर चिहाउँथें।
समाजको प्रभाव हो या मभित्रको डरपोक पनले हो। उनीहरू हाँस्दा मलाई नि गिज्याएको जस्तो लाग्थ्यो। अत्यन्तै अप्ठेरो लाग्थ्यो। साथीहरू गएपछि दाइलाई भन्थें- मलाई गाह्रो लागेको छ। दाइ म अब आफ्नै कोठा लिएर बस्छु।
त्यो दिनबाट दाइको नजर मप्रति फरक भयो। मलाई बैनीका सम्बोधन हटाउनुभयो। त्यसपछिका यात्रा मेरो कहालीलाग्दो नै थिए। म त्यहाँबाट अर्को कामको लागि फड्किन अनि अन्तै आफ्नो लागि व्यवस्था गर्न सक्ने पनि थिइनँ। अनेकौं बाधा र व्यवधानले खिचेको थियो। इज्जत मान प्रतिष्ठा एउटा त्यान्द्रोमा थियो। म भिन्न भैसकेको थिएँ।
झ्यालको बसाइँ हुन्थ्यो बाहिर सडक चिह्याउने दैनिकीजस्तै भएको थियो। बाहिरबाट वस्तुकला, प्यागोडा शैलीमा बनेको घर। म झ्यालमा माकुरोको जालोमा परेको पुतलीजस्तै भएको थिएँ। पर्दासँग भलाकुसारी गर्ने। पर्दाले नै आँसु पुछ्ने। अनि पीडा पनि पर्दालाई नै लुकाउन दिने झ्याल भित्रको कथा मात्र त्यही एकजोर पर्दाले बोकेको थियो।
म आफूभित्र सकिएको भान गर्न थालेको थिएँ। फेरि एउटा मनले सोच्थें- केही त गर्नुपर्छ। म यो मान्छे हुँदै होइन। अनि एकदिन एकाबिहानै आफ्नो सामान, लुगा सबै कुरा पोकापुन्तुरा बनाएर कोठाबाट बाहिर निस्कें। हातमा उच्च शिक्षाको कागजपत्र छ।
केही गर्छु भन्ने अठोटमा बिग्रेको पेन्डुमल घडी जसरी ठोक्किँदै ठोकिँदै सहरको गल्लीमा बेवारिसे बनेर हिँडिरहने विकल्पभन्दा केही गर्न सकिनँ, सही समय दिन नसकेको पेन्डुलम नै भएँ।
घरको याद कुनै एउटा पुरानो सिनेमामा धुर्मिलो प्रोटेक्ट वा कविको कविता अंशबाट च्यातिएर हराएको जस्तो कता हो कता याद मात्र बाँकी रहेको जस्तो हुन थाल्यो। आलीका घाँसे चकटीहरूमा थपक्क बसेको यादहरू परालको मुठाहरूमा न्यानो बनेको मन, गहुँको बालाझैं झुलेको बालापन, अनि आवागमनको खुसी खेसरीका मुन्टाहरूसँगै चिटिक्क चिमोटियो।
घरको जिम्मेवारी केटा मान्छेलाई मात्रै होइन केटी मान्छेलाई पनि पनि उत्तिकै हुने म संघारमा दोधारमा परेँ। कतासम्मको यात्रामा लागौं? हातमा भिरिएको कागजपत्र बेचौं या आमाकै पोल्टामा फेरि लडिबुडी खेल्न जाऔं? पाठकको हातमा।