एउटा कठोर सत्य थियो, उसको त्यो भोक। सायद यो समयको एउटा त्रासद र दर्दनाक कहानी। म छुट्नै सक्दिनँ उसको त्यो भोकबाट। म नराम्रोसँग दुख्छु,, नराम्रोसँग चिमोटिन्छु उसको त्यो कहालीलाग्दो विवशताले।
अनगिन्ती कुरूप भोकहरू बाँचेर बसेको यो व्यस्त सहरमा कति दर्दनाक छ उसको त्यो भोक। ऊ भोकभोकै विद्यालय आउँछे, शिक्षाको भोक पूरा गर्न।
एउटा भोक बोकेर अर्को भोक पूरा गर्नु छ उसलाई। कति निष्ठुर छ समय उसको पोल्टाभरि।
सामान्य रूपमा प्रायः धेरैलाई सोधिने यो प्रश्न म उसलाई पनि एकदिन सोध्न पुग्छु, ‘खाना खायौ?’
ऊ अनुहारमा उदासिनता पोतेर नकारात्मक सूचकमा टाउको हल्लाउँछे।
ऊप्रति मेरोे जिज्ञासा अझ बढ्दै जान्छ।
‘किन नखाएको?’ यो प्रश्न सोध्न जति सजिलो थियो, यसको वास्तविक उत्तर खोज्न उसलाई निकै कष्ट थियो।
उसले उत्तर दिई ‘म बिहान खाना नखाइ आउँछु मिस। म बस्ने घरमा रासन नै छैन। यहीँ साथीहरूले ल्याएको खाजा बाँडेर खान्छु।’
मलाई ऐंठन हुन्छ। कति ठूलो कारूणिक सत्य। एउटा तथ्याङ्कले देखाउँछ, यहाँ खान नपाएरभन्दा खाएर मर्नेहरू बढी छन् तर खानै नपाएर बाँचेकाहरूको भिडमा लामबद्ध भएकी ऊ, साथीको खाना बाँडेर खान्छे।
ऊ त्यस्तो साथीको खाना बाँडेर खान्छे, जसको आमा कसैको घरमा भाडा तिरेर बस्छिन् र टनेलमा मजदुरी काम गर्छिन्। जो दुई छोराछोरीकी आमा हुन् र पतिबाट परित्याग गरिएकी महिला।
उनैले बनाइदिएको खाजा, कहिले मकै भटमासको खाजा, कहिले कोदोको रोटी। दिपिकाको लागि त्यो खाजा केवल खाजा मात्र होइन, त्यो त मित्रताको एक अमूल्य जीवन हो, त्यो त मित्रताको एक अनमोल प्रेम र उपहार हो। कति गहिरो र निर्मल छ त्यो मित्रता। त्यो पवित्र प्रेम धर्तीको धेरै सुन्दरताभन्दा माथि लाग्छ मलाई।
अचेल किन हो कुन्नि थुप्रै जोर आँखाहरू पीडाको सागर बोकेर आउँछन् विद्यालयको आँगनभरि।
झोला जति भारी हुन्छ, त्योभन्दा कैयौं गह्रुंगा भारीहरू छातीभरि लुकाएर आउँछन्। कोही साहुनीबाट कुटिएर आउँछन्, कोही लुटिएर आउँछन्। कोही सारंगी पेट लिएर आउँछन्, कोही सुकेका ओठहरू बोकेर आउँछन्। कोही चप्पलमा डोरी बानेर आउँछन्, कोही च्यातिएको पोशाक भिरेर आउँछन्।
कोही शिशिर यामको जाडोमा शरीर छोप्ने लुगा नभएर लुगलुग काम्दै आउँछन्। कोही आँखाभरि आमाको अभाव खोपेर आउँछन्। कोही छातीभरि बुवाको रिक्तता बोकेर आउँछन्। कोही विद्यार्थी सुनाउँछन्, आज रक्सी पिएर मेरो बुवाले आमा पिटे। कोही सुनाउँछन्, मेरी आमा घर छोडेर भागेको १ महिना भयो। कोही सुनाउँछन् आज घरमा चामल मात्रै थियो, दाल थिएन। त्यसैले नुन र भात मात्र खाएर आएको। कोही सुनाउँछन् परदेशमा चौकिदारी गर्न गएका मेरा बुवा उतै बित्नुभयो। अनेकौं विवशताहरूले विद्यालयका कक्षाकोठाहरू भरिएका हुन्छन्। पीडाहरू छताछुल्ल हुन्छन्। दुःखको समुद्र बन्छ कक्षाकोठा। मलाई छुट्याउन मुस्किल पर्छ, दुःखको वास्तविक रङ कस्तो हुन्छ भनेर।
सधैं हँसिलो चेहरामा कक्षाकोठामा बस्ने दिपिकाको छातीभित्र त्यति गहिरो पीडा लुकेको छ भन्ने के थाहा मलाई। म उसको जीवन खोतल्ने प्रयास गर्छु। बिस्तारै ऊ खुल्छे पत्र पत्र बनेर। उसलाई म पढ्छु सकेजति। दुई वर्षको उमेरमै आमाको न्यानो माया नपाएर निस्सासिएकी ऊ १५ वर्षको उमेर पूरा नहुँदै नित्यान्त एक्लो हुन्छे।
सौतेनी आमाको उक्साहटमा बिनाकसुर ऊ घरबाट निकालिन्छे। अब उसको जीवनमा न त समाउने नै कोही हुन्छ, न त टेक्ने आधार नै हुन्छ। उसले आमा बाबुबाट एउटा विवश जिन्दगी त पाउँछे तर, त्यहाँ न माया हुन्छ, न त संरक्षण। न ओत हुन्छ, न त गाँस। कैयौंपल्ट उसलाई मर्न मन लाग्छ तर उसको जिजीविषाले उसलाई रोक्छ। उसको साहसले उसलाई रोक्छ। उसले सोच्छे, जिन्दगी जिउनका लागि हो, नष्ट गर्नका लागि होइन। त्यो चाहे जतिसुकै कठोर किन नहोस्। जीवन आफैंमा एक जित हो। जीवनका अगाडि सबै खालका दुःखहरू तुच्छ हुन् भन्ने ठानेर ऊ सम्हालिन्छे।
ऊ मेरो विद्यार्थीको रूपमा उपस्थित हुन्छे। एकदिन म उसको गृहकार्य पढ्छु। प्रश्न थियो: आफ्नो बुवाआमाको बारेमा लेख। उसको उत्तर यस्तो थियो- ‘मैले कसरी लेख्न सक्छु मिस मेरो आमाको बारेमा, जसलाई लेख्न खोज्दा मेरा हातहरू काँप्दछन्। मेरी आमा, जसलाई कुन त्यस्तो विवशता थियो कुन्नि मलाई थाहा छैन जसले दुई वर्षको नाबालक सन्तानलाई चटक्कै छाडेर आफ्नो खुसीको संसार खोजिन्। आमाको न्यानो काखमा बालसुलभ खेल खेल्दै मुस्कुराएकी एउटी बालिकाले पाउनु पर्ने प्रेमको हत्या गरेर ममताको शिखरबाट तल पछारिन्।
म कसरी लेख्न सक्छु मेरो बुवाको बारेमा जो मेरो संरक्षण गर्ने दायित्वबाट पन्छिए र अर्की श्रीमतीको बहकाउमा मलाई विना कसुर घरबाट निकालिदिए। जतिबेला मलाई स्नेहपूर्ण काखको जरूरत थियो, त्यही बेला मेरो ममतामयी काख लुटियो। जतिबेला मलाई राम्रो शिक्षा, दीक्षा र संरक्षणको जरूरत थियो र छ, आज त्यही मेरो जीवनबाट खोसिएको छ।
आज मेरी आमा त यिनै धर्ती हुन् जसको काखमा म बाँचिरहेकी छु। मेरो बुवा त यिनै प्रकृति हुन् जसले मलाई वायु, प्रकाश र पानी दिएर बचाइरहेको छ। मेरा सर्वस्व तिनै साथीहरू हुन् जसले मलाई माया दिन्छन्, हिम्मत दिन्छन् र जिउने सहारा दिन्छन्।
मिस मलाई के लाग्छ भने जीवनमा कोही एक्लो छ भने उसको सहारा भगवान हुन्छन्। जब मानिसहरूले मेरो हात छोड्छन्, अरू कुनै न कुनै शक्तिले मेरो हात समाइरहेको हुन्छ। कुनै न कुनै शक्तिले मलाई लड्नबाट रोकिरहेको हुन्छ।
मेरो जीवनका सबै चिजबाट लुटिए पनि मसँग सबैभन्दा ठूलो कुरा जिन्दगी छ र जीवन जिउने उच्च मनोबल छ। जहाँ जीवन हुन्छ, त्यहाँ हजारौं सम्भावना पनि हुन्छन् किनकि जीवन सम्भावनाले भरिपूर्ण छ। मेरो कसैप्रति गुनासो छैन मिस, जब मलाई जन्म दिने बुवा आमाले त छोड्न सक्छन् भने अरूको के आशा गर्नु।
मलाई के थाहा छ भने जसरी अन्धकारको कुनै छुट्टै अस्तित्व छैन, ठिक त्यसैगरी संसारमा दुःखको पनि छुट्टै अस्तित्व छैन। अन्धकार भनेको प्रकाशको अनुपस्थिति मात्र हो। दुःख केवल सुखको अनुपस्थिति मात्र हो। म जति जति दुःखले घेरिएकी हुन्छु, भित्रबाट त्यत्ति नै बलियो हुँदै आइरहेकी हुन्छु।
मभित्र एउटा सपना बाँचिरहेको छ, मभित्र एउटा प्यास बाँचिरहेको छ। म त्यो सपनालाई पूरा गरेर मभित्रको प्यासलाई पूर्ण रूपमा मेट्न चाहन्छु। मैले भोकलाई नजिकबाट छामेकी छु। अभाव के हो राम्ररी चिनेकी छु। मानिसका विवशताहरूलाई भोगेकी छु। सानै उमेरमा मैले दुःखका धेरै सीमाहरू पार गरिसकेकी छु।
प्रेमबिनाको जीवन, संरक्षणबिनाको जीवन कस्तो हुन्छ मलाई त्यो राम्रोसँग अनुभव छ मिस तर म चाहन्छु, म बाँचेको जीवन अरू कोही बाँच्नु नपरोस्। मैले भोगेको कष्ट अरू कसैले भोग्नु नपरोस्।
मिस म जुनसुकै मूल्यमा पनि बाँच्न चाहन्छु। कठोरतम पीडाहरू पिएर पनि बाँच्न चाहन्छु किनभने मलाई मेरो सपनाको राज्य सिर्जना गर्नु छ। म त्यस्तो राज्य चाहन्छु, जुन राज्य सबै जनताको होस्। जुन राज्यको ढुकुटीमा गरिबको भोक मेट्ने अनाज होस्। म त्यस्तो राज्य चाहन्छु, जसको इजलासमा पीडितका लागि न्यायको मलम र पीडकका लागि पश्चाताप भेटियोस्।
म त्यस्तो राज्य चाहन्छु मिस, जुन राज्यमा सबैलाई आत्मसम्मानको अमृत प्राप्त होस्। जहाँ कुनै पनि नाममा भेदभावको दुर्गन्ध नबहोस्। मैले चाहेको समाजमा मानवताका बोटहरू लहराइरहेका हुनेछन्। जुन समाजमा इमान्दारिताको हावा बगिरहेको हुनेछ। जुन समाजमा स्वार्थका पखेटाहरू काटिएका हुनेछन्। हिंसा, अन्याय र असमानताको चिहानमाथि न्यायका फूलहरू मुस्कुराइरहेका हुनेछन्। समानताका दीपहरू जलिरहेका हुनेछन्।
मिस मलाई लाग्छ कि यो संसारमा मानवताको खडेरी लागिरहेको छ। मानिसहरूलाई दुःखका कथाहरू सुन्ने बानी परिसकेको छ। मानिसले मानिसको दुःख सुन्छन्, केवल सुनिरहन्छन्। दुःख हेर्छन्, केवल हेरी नै रहन्छन्।
यहाँ केविन कार्टरहरू धेरै छन् जसलाई चर्चित मात्र हुनु छ कसैको संवेदना बेचेर त, कसैको दुःख भजाएर। तर उनीहरू सामाजिक उत्तरदायित्व निभाउन चाहँदैनन्। आज संसारमा धेरै बोल्ने ओठहरूभन्दा सेवा गर्ने हातहरूको जरूरत छ। धेरै अघिको यो भनाइ आज पनि उत्तिकै सार्थक छ।’
मैले चाहेको समाजको चित्र यस्तो हुनेछ भनेर दिपिकाले एउटा सुन्दर चित्र कोरेकी थिई। जुन असाध्यै मनमोहक थियो। त्यहाँ बलियाहरूले कमजोरहरूको हात समातेर माथि तानिरहेका थिए। एक अर्कालाई खाना खुवाइरहेका थिए। एक अर्कालाई सहयोग गरिरहेका थिए। सबैको अनुहारमा मुस्कान दौडिरहेको थियो।
विद्यालयमा अध्ययनरत एउटा किशोरीको समाजप्रतिको त्यो उच्च समर्पणको भावना र सामाजिक दायित्वप्रति देखाएको इमान्दारिता र उसको कठोर जीवन यात्राले मलाई निकै भावुक बनायो र ठूलो प्रेरणा प्रदान गर्यो।
दिपिकाले लेखेको त्यो भावुक लेख उसको कपीमा पढिसकेपछि मलाई लाग्यो, उसको संघर्षको कथा अझ बाँकी नै छ।
उसको आमाको बाध्यतालाई म नजिकबाट नियाल्न चाहन्थें। नारीसुलभ कोमलता र संवेदनाको रसायन अलि बढी भएर हो अथवा किन हो, मलाई मानिसका दुःखहरूले अलि ज्यादा सताउने गर्छ, अलि बढी पोल्ने गर्छ। मैले दिपिकालाई एक्लै बनाएर सम्पूर्ण कुराहरू बुझ्ने प्रयास गरेँ।
दिपिका सुरूमा लजाई, पछि बिस्तारै ऊ खुल्दै गई।
उसले भनी- ‘मिस मेरी आमाले मलाई छोडेर त गइन् तर मलाई बिर्सन सकिनन्। शरीरभित्र आफ्नै रगत बनेर बसेको बच्चालाई बिर्सन पो कसरी सक्थिन् र? शरीरले बोक्न नपाए पनि सम्झनामा उनले सधैं मलाई बोकिरहिन्। मिस मैले मेरो बाबुलाई आज पनि चिन्न सकिरहेको छैन। किनभने मेरो बाबु एक बलात्कारी थियो। जंगलमा घाँस काट्न गएको मौका छोपेर उसले मेरी आमालाई बलात्कार गर्यो। बलात्कारको सिकार भएकी मेरी आमाले त्यस अपराधीको पापलाई आफ्नो पेटमा बोक्न बाध्य भइन् र छोरीको रूपमा मलाई जन्म दिइन्।
अपराध एउटा अपराधीले गरेको थियो, बदनाम समाजले मेरी आमाको गर्दै थियो। शारीरिक सुन्दरतामा गनिने मेरी आमालाई सौभाग्यले हो वा दुर्भाग्यले गर्भवती अवस्थामै बिहे गर्न एक युवक तयार भए। तर समयको अन्तरालमा मेरी आमाले फेरि धोका पाइन्। उनका पति रक्स्याहा बने। आमालाई अनेक लाञ्छना लगाउन थाले।
आमाको कमजोरीहरू देखाएर कुट्न, पिट्न थाले। दिनहुँ चरम यातना दिन थाले। सुत्केरी अवस्थामा समेत आमाले पेटभर खान पाइनन्। रातभर जुवा, तास खेलेर भएभरको सम्पत्ति सकाएका उनले न त सम्पत्तिको रक्षा गर्न सके न त मेरी आमाको नै संरक्षण गरे। त्यो सबै अत्याचार सहन नसकी मलाई २ वर्षको उमेरमै छोडेर उनी दोस्रो सम्बन्धको खोजीमा हिँडिन्। भनिन्छ नि जुनसुकै चिज मानिसको अन्तरआत्माले गर्न चाहन्छ भने त्यस कार्यका लागि दुनियाँले त्यसका लागि षड्यन्त्र रच्छ र पूरा गरिछोड्छ, भनेजस्तै भयो। उनले फेरि अर्को लोग्ने भेट्याइन्, लोग्ने त भेट्याइन् तर सुख भने भेट्याउन सकिनन्। सुख उनको भागमै थिएन।
आफ्नो भागमै नभएको कुरा उनले कसरी पाउन सक्थिन् र? उनी फेरि ठगिइन्, फेरि लुटिइन् किनभने उनी धेरै इमान्दार थिइन्। उनले सबैलाई विश्वास गरिन्। आफूलाई जत्तिकै। मेरी आमा बच्चा जन्माउन चाहन्थिन् तर उसको प्रजनन क्षमता बन्द भइसकेको थियो। मेरी आमाले मलाई आफूसँगै राख्न चाहन्थिन् तर उसले त्यो कुरालाई ठाडै अस्वीकार गर्यो। मेरी आमा यो विश्वासमा उसँग बिहे गरिन् कि ऊ एक्लो छ तर ऊ न एक्लो थियो, न त उसले सम्बन्ध बिच्छेद नै गरेको थियो। यसरी एकपछि अर्को धोका खाएकी मेरी आमा एक संघर्षकी प्रतिमूर्ति हुन् जहाँ दुःखका अनेकौं डोबहरू भेटिन्छन्।
मलाई अब धेरै केही गर्नु छैन मिस मात्र यो समाज बदल्नु छ। समाजको सोच बदल्नु छ।
मेरी आमाजस्ता हजारौं उत्पीडितहरूलाई न्याय दिलाउनु छ। यो समाजलाई यो सन्देश दिनु छ कि समाजमा पीडकहरू कोही पनि बच्न सक्ने छैनन् एक न एक दिन उनीहरूको हिसाब अवश्य हुन्छ।’ दिपिकाका यी सबै कुराहरू सुनिसकेपछि मलाई गहिरो गरी के महसुस भयो भने हामी खास गरी कसैलाई पनि बुझ्दै नबुझी, चिन्दै नचिनी, उसलाई छाम्दै नछामी उसको विषयमा अनावश्यक टिप्पणी गरिरहेका हुन्छौं।
कुनै विद्यार्थीका बारेमा गरिने टिप्पणी होस् वा कुनै व्यक्तिका बारेमा गरिने टिप्पणी सम्पूर्ण रूपमा बुझेर मात्र गरिनुपर्छ। विद्यालयमा धेरै यस्ता दिपिकाहरू छन्, जसलाई न राज्यले चिनेको छ, न त उनीहरूको समस्यालाई सम्बोधन नै गर्न सकेको छ। हरेक वर्ष दिपिकाहरू विद्यालयमा आइरहन्छन्, गइरहन्छन् तर उनीहरूको समस्याले उनीहरूलाई मात्र डसिरहेको छ, सताइरहेको छ।