नोभेम्बर महिनाको दोस्रो हप्ता आइतबार छुट्टीको दिन।
मेरो पनि छुट्टी थियो। त्यसैले शनिबार राती ढिलासम्म साथीसँग भलाकुसारी गरी बिताएको थिएँ। त्यसैले आइतबार बिहान पनि ढिलै उठेँ।
बिहानीको नित्य कर्म सकाएर एक कप कफी लिएर बाल्कोनीमा गएर बसेँ। कफीको चुस्कीसँगै टाढाको क्षितिजमा हराउन पुगेछु। कफीको तातो घुट्कीसँगै आधुनिकताले छपक्कै छोपेको थियो। अग्ला-होचा सबै मिलेर बनेका सुन्दर कोलोनीको दृश्य कल्पना गरेँ। कोलोनीलाई सिंगार्न ठाउँ-ठाउँमा बनेको सुन्दर स-साना पार्क। फुलेका फूलका सुगन्ध, सिधै नाकमा ठोकिन्थे।
पार्कसँगै कुम जोडी बसेको खाली बेन्चहरू। मर्निङ वाक गर्न बनेको सुन्दर मार्गहरू। वातावरण निकै मनमोहक थियो। सुनसान थियो। कुनै हल्ला थिएन। शान्त वातावरण थियो। जाडो याम सुरू भइसकेको त थिएन। त्यही पनि मेरो शरीरले न्यानो घामको तातो स्पर्श मागिरहेको थियो।
कफीले भरिएको कप रित्तिँदै थियो। कपसँगै टेबलमा लडिरहेको मोबाइल फोन उठाएँ। फेसबुक खोलेर हेर्न मन लाग्यो। मनमा उब्जेको चाहनालाई रोक्न सक्ने त कुरै भएन। तिर्सना मेट्न भ्रमण गरेँ, फेसबकुको पाखा-भित्ता।
भर्खरै दसैं-तिहार र छठजस्ता ठूला-ठूला चाडपर्व सकिएको थियो। पोहोर साल आफैंले राखेको भाकालाई पूरा गर्न नसक्दा आफैं लज्जित भएकी थिएँ। दसैंको बेला आमाले सार्है मन दुखाएको कुराले। अनि तिहारमा बहिनीले रूँदै भिडिओ कल गरेको। ती क्षण बितेको धेरै समय पनि भएको थिएन।
फेसबुकको भित्ता स्क्रोल गर्दै थिएँ। बहिनीले फोटो ट्याग गरेकी रहिछ। क्याप्सन लेखिएको थियो, ‘मिस यु दाइ’
भाइटिका गर्दै गरेका सुन्दर फोटाहरू थिए। दुई भाइ र बहिनी साथैमा थियौं। नजिकै थालीमा मेरो लागि उनिएको मखमलीको माला र पूजा थालीमा सप्तरंगी टिका। तर म थिइन, त्यसैले त त्यो फोटोमा म अटेको थिइनँ। भाइटिकाको दिन बहिनीले रुदै फोन गरी। दशैंमा आमाले दशमीको दिन भिडिओ कलमार्फत दिएको आशीर्वाद पनि सम्झेँ।
बहिनीले रहर मिसाएर गाँसिएको माला लाउने आमाको हातले बनाएको खाना खाएर परिवारसँगै बसी रमाइलो गर्ने मन हुँदाहुँदै। म किन यसरी अरूको देशमा हड्डी घोटेर रगत-पसिना बेच्न बाध्य छु? भनेर आफूले आफैंलाई प्रश्न गर्न मन लाग्यो। बिनाउत्तरका प्रश्नहरूको चाङ छ। ती प्रश्नहरूको पहाड छ भन्दा पनि फरक नपर्ला। मभित्र आक्रोसहसहिको प्रश्न थियो। मभित्र आशासहितको प्रश्न थियो। निराशासहितको प्रश्न थियो। बिडम्बना मेरो मनको प्रश्नको उत्तर दिने कसले? थाहा छैन।
फेसबुक चलाउँदै गर्दा उता परिवारको मान्छेले अनलाइन देखेछ क्यारे! फ्याट्ट कल गरेँ। म पनि फ्रि भएकोले कल रिसिभ गरेँ। मसँग बोल्न बहिनी र आमा तछाड-मछाड गरेको देख्दा आँशुले आँखा भरिए। आमा नै फस्ट हुनु भो मसँग बोल्न। आमा भनेको आमा हो।
'बाबु कस्तो छ तिमीलाई?'
'आमा ठिकै छु। अनि तपाईंलाई कस्तो छ? '
आमा बोल्दै थिइन्, 'मलाई पनि ठिकै छ।'
'तर मन दुखेको छ मेरो। पोहोर यसपालिको दशैंमा आऊँछु भनेर नआएकोमा।'
मैले आमालाई सम्झाउँदै भने, 'के गर्नु आमा छुट्टी मिलेन अरूको ठाउँ अरूले भनेको मान्नै पर्यो।'
आमा बोल्दै हुनुहुन्थ्यो, 'खाना खायौं?'
बेला भएको छैन भनेर भनेँ।
बहिनीको पालो आयो। उनी आएर बोली।
'दाइ यसपालिको तिहार पनि पोहोर जस्तै नरामाइलो भयो।'
'आगुन साल चाहिँ पक्कै आउनुपर्छ नि।'
मैले हुन्छ मात्रै भनेँ। अरू केही पनि भनिनँ। फेरि आमा बोल्न आउनु भयो।
'बाबु तँलाई थाहा छ। चुनाव हुँदै छ रे नि! हिजो भर्खरै हाम्रो घरमै आउनु भएकोथियो। ठूलो नेता र साथमा कार्यकर्ताहरू। मैले पहिले कहिल्यै पनि देखेको थिइन। आएर मिठो कुरा गर्दै थियो। छोराछोरीको बारेमा सोधपुछ गर्दै थियो। के-के विकासको कुरा पनि गर्दै थियो। तर मैले बुझिन। अब तिमी फर्के हुन्छ। उहाँले भन्नुभएको। खोइ के रोजगार हो कि स्वरोजगारको ग्यारेन्टी गर्छु भन्दै थिए। कुन्नी के पत्र भन्दै एउटा सानो किताब छोडेर गाएका छन्।'
बहिनी आमाको छेउबाट बोल्दै थिई। दाइ पत्र-सत्र होइन आमाले भन्न नजानेको हो। हिजो उहाँहरूले छोडेर गएको विकासको खाका कोरेको घोषणापत्र हो दाइ।
त्यसैले बाबु फर्किहाल्नु। अरूको देशमा बस्नु पर्दैन। आफ्नै ठाउँमा सुख दुःख गरी बाँचौंला।
म आमाको कुरा सुनेर छक्क परेँ। खुशी लाग्यो। उत्साह र उमंग मिश्रित आमाको मिठो सन्देश सुनेर। जिन्दगीको डाडाँपारी पुगिसकेको मेरो आमासँग पहिले पनि यसै गरी पटकपटक नबोलेको होइन। बोलेकै थिएँ। तर यती खुशी भएको संभवत पहिलो पटक देखेँ।
आमा खुशी हुनुको कारण थियो। उनको छोरा म अब उनीसँगै बस्न पाउँछ भन्ने थियो। काम गर्न विदेश जानु पर्दैन भनेर सोचेकी थिइन्।
झण्डै सत्तरी वर्ष पुग्न आँटेकी मेरी सोझी आमालाई के थाहा। चुनावताका नेताले बोलेको कुरामा विश्वस्त बनेकी थिइन्। नेताले भनेको कुरा पत्याएकी थिइन्। अर्काको देशमा नेपाली रगत-पसिना श्रमबजारमा सस्तोमा लिलाम गर्दै गरेको छोराछोरी फर्किन्छ भन्ने कुरामा ढुक्क भएकी मेरी आमालाई के थाहा राजनीति गर्ने मान्छेको बहुरूपी रंगबारे।
मलाई सोध्न मन लागेको थियो। आमा अघिल्लो चुनावमा घर-घरमा ग्यासको पाइप जोड्छु भनेको थियो, जोड्यो ग्यासको पाइप भनेर। तर मैले सोधिनँ। आमाले भन्नु भएन पनि।
त्यस्तै घोषणापत्रमा लेखी देख्दै गरेका सपनाको महासागरमा कुदिरहेका नेपाली झण्डा जडित पानी जहाजमा चढेर तिम्रो लागि दोबाटोमा अलमल परेका परदेशी जिन्दगीको कथा लेख्दैछु आमा भन्न मन लागेको थियो। तर केही बोलिन। आमाले पनि सोध्नु भएन।
वार्षिक बजेटभन्दा धेरै ऋण बोकेर घिस्रीदै गरेको खोक्रो राष्ट्रिय अर्थतन्त्रको कुरा गर्न मन लागेको थियो। तर आमासँग गरिन। गरेर के फाइदा? के थाहा उनीलाई त्यसबारे। के चासो उनीलाई त्यस बारे। कौंवालाई बेल पाक्यो हर्ष न बिस्मत भने झैं।
तिम्रै जस्ता लाखौं छोराछोरी निर्यात गरी आयात गरिएको रेमिट्यान्सले ढल्न आँटेको अर्थतन्त्रलाई थांग्रा बनेर टेको दिएको कुराबारे बहस गर्न थियो। बिचरी सोझि आमालाई यस्ता कुरा गरेर रनभुल्लमा पार्ने दुस्साहस गरिन।
राजनीतिदेखि टाढा बस्न लाग्ने मलाई आमाको कुराले आफैले जिन्दगीमा भोगेका र देखेका राजनीतिक बहुरंपी रंगमा मिसिन विवस तुल्यायो। २०४६ सालमा प्रजातन्त्र आए यता आधा दर्जन त्यस्ता घोषणा पत्रहरू पाएको छु, पढेको छु। घोषणापत्रमा लिपिवद्ध भएको कुराहरू आधा मात्रै पूरा गरिदिएको भए आज देश कति विकसित मुलूकमा गनिन्थ्यो होला। आज नेपाली श्रमिक विश्व बजारमा सस्तो रूपमा खपत हुनुको सट्टा ‘मेडइन नेपाल’ लेखेको थोक वस्तुहरु बिक्री गर्दै गरेका हुन्थे होला। जसरी बंगलादेशमा बनेको कपडाहरू विश्वको चर्चित ब्राण्डसँगै मेडिन बंगलादेशको ट्याग भिरेर बिक्री हुँदैछन्।
कति मिठा हुन्छन्। घोषणा पत्रमा लिपिबद्ध रूपमा लेखिएका सुन्दर अक्षरका हरफहरू, वाक्यहरू। हामी यसो गर्छौं, उसो गर्छु गर्छौं। डाँडाको फेदीबाट बगेको खोला अहिले भर्खर आँगनछेउ धारामा ल्याई पुर्याउँछु। बाटोको आकृति नकोरेको डाँडा-डाँडामा पिच गरेको सडक बनाउँछु। खडेरीले डढेँको खेत-बारीमा बग्दै गरेको नदीलाई नहर बनाएर हराबरा बनाइदिन्छु। पसिनाको सुगन्धदेखि टाढै रहने सुकिला नेतारूपी महामहिमहरू चुनाव-ताका गोबरको दाग नपखालिएको गोडालाई ढोगुँला झैं गर्छन्। चुनावताका फुलबुट्टा भरेको कुरा गर्न नथाक्ने नेता कार्यकर्ताको कुरामा मौरी नै झुक्किएर झुम्मिएला कि भनेर डर पो लाग्छ। फूल सम्झिएर।
आमा र बहिनीसँग गर्दै गरेको बार्तालापले। मलाई निकट विगटको राजनीतिक पार्टीले लेखेको घोषणापत्र सम्झना बाध्य बनायो। सम्झेर मलाई फाइदा पुर्यायो वा घाटा त्यो जिम्मा समयलाई नै सुम्पिएँ। तर म खुशी भएँ। आमासँग बोल्न पाएर आमा र बहिनी खुशी भए मसँग बोल्न पाएर। आमा झनै खुशी भए। म जस्ता धेरै छोराछोरीले अब घोषणा पत्रमा लिपिबद्ध भएका स्वरोजगारका कुराले। मेरो आमा जस्तै थुप्रै आमाहरूको भावनासँग खेलेर लोकप्रिय कुरामा भुलाएर जनतालाई भोट बैंक मात्रै बनाएको नराम्रो। जनताको जिन्दगीलाई सफल पार्दै, जनताको आवश्यकतालाई पूरा गरे। देशलाई समृद्धिको बाटोमा डोर्याए। इतिहासले तिनका नाम लेख्ने छन्। जसले राम्रो कर्म गर्छन्।
राज्यको आर्थिकस्थित त्यति मजबुत छैन। यसको मतलब खर्चको डरले आवाधिक चुनाव नै झिसमिस गर्ने कुरा हुँदैन। चुनाव लोकतन्त्रको सुन्दरता हो। आफूले चाहेको प्रतिनिधि छनोट गरी पुग्नुपर्ने ठाउँमा पुर्याए। देशको भाग्य र भविष्य बनाउने हो। राम्रो नीति, थिती र विधि बनाएर सुन्दर भविष्यको निर्माण गर्ने बेला हो।
गौमाता जस्ती सुधी सोझी मेरो आमा खुशी छिन्। आफूबाट टाढा रहेको छोरा छिट्टै आफ्नो छेउमा फर्केर आउने कुराले। बाह्र पास गरेर डिभी भरी अमेरिका पुग्ने भाग्य पर्खिरहेकी छोरी आफूबाट टाढा नजाने कुराले। किनभने आज उनको हातमा चुनाव अगाडि छापिने गरेको घोषणापत्र छ।