‘हेरिस्योन मैयाँ! म त अस्तिभन्दा दुई किलो घटेछु।’ भाउजू तौल जोख्दै मख्ख पर्नुभयो।
बिहान बिहान ठूलै चिठ्ठा परेझैं उमंग छायो मेरी भाउजूको मुहारमा। मेरा खुट्टा पनि मेसिनतिर उचालिए अनि ओठहरू हल्का खुले।
म सोचमग्न भएँ।
हिजोआज सबैलाई दुब्लो हुन मन छ।
तर के गर्नु अस्तव्यस्त दैनिकी, अस्वस्थ खानपिन र अनिन्द्राले बोसो थपिएको थपिएकै छ।
भाउजूको तारिफ त गर्नै बिर्सिएछु अनि हतार हतार तारिफ गर्न थालेँ- भाउजू! हजुर धेरै घटिस्याछ नि! अस्तिको ग्रीन कलरको वान पिसमा त ठ्याक्कै रविनाजस्तै देखिएको थियो। साँच्चै भाउजू! अनुहारमा पनि बेजोडको चमक आएको छ। कसले भन्छ हजुरलाई ४० वर्ष कटेको? कति ‘योङ’ देखिसिन्छ। अब त हजुरलाई सुमीको दिदी भन्छन्। भनिस्यो न के लगाइसिन्छ हँ?’
भाउजू मन्दमन्द मुस्कुराउनु भयो, फतौरी नन्दका कुरा सुनेर।
आफू पनि भाउजूजस्तै राम्री देखिने अभिप्साले भाउजूलाई फुर्क्याउँदै राम्री हुने टिप्स माग्न थालेँ।
भाउजूको मुहारमा एकैचोटि चन्द्र सूर्य उदाए।
‘हो र’ भन्दै ऐना हेर्न थाल्नु भयो। पहेँलो खोलभित्रको चुटुक्कको डब्बाबाट क्रिम झिकेर अनुहारमा दल्दै भन्नुभयो- मैयाँ! यो क्रिमको असर होला। हजुर पनि अबदेखि यही प्रयोग गरिस्यो न। हजुरको छालालाई सुट गर्छ। हजुरको गालामा अलि अलि कालो आउन थालेछ, यसले राम्रो गर्छ। आइस्यो त आज म हजुरलाई प्याक बनाएर पनि लगाइदिन्छु।’
ढुङ्गा खोज्दा देउता मिल्याझैं भयो। राम्री हुन कसलाई मन लाग्दैन र! म पनि कपालभाँती गर्न छोडेर भाउजूको ड्रेसिङ टेबलतिर बत्तिएँ।
‘साँच्चै मैयाँ! हजुर पनि चिनी नखाइस्यो दुई किलो त आफैं घट्ने रहेछ। अनि अनुहारमा चमक पनि आउँछ। बिहान मर्निङ वाक पनि हिँड्ने गरिस्यो। म त बिहान बिहान एक घन्टाभन्दा बढी नै हिँड्छु। हुन त हजुर प्रणायाम गरिसिन्छ क्यार। मलाई त अल्छी लाग्छ प्रणायाम गर्न, मर्निङ वाक जानै मज्जा लाग्छ।’
साँच्चै भाउजूले मलाई मोटी देखेर त यस्तो सल्लाह दिनु भएन? अब मलाई बिहान बिहान चिन्ताले घेर्न थाल्यो। मनमा भयंकर डर उत्पन्न भयो। हेर्दाहेर्दै प्रफुल्ल भएको मन खिन्न हुन थाल्यो।
कत्रो मेहनत गरेको छु। ब्रहमूर्तदेखि राति सुत्ने बेलासम्म हरेक कुरामा सतर्क हुन्छु। यही ज्यानलाई तन्दुरूस्त राख्न तर कसैले घटेकी छेस् भन्दैनन् त बा!
‘तँ के गरी घटिस् हँ ?’ भन्दै मैसँग परामर्श माग्लान् भनेको त मलाई नै पो ज्यान घट्ने सल्लाह दिन थाल्नुभयो त भाउजू पनि।
उतिनै खेर आमा फूल टिपेर आउँदै हुनुहुँदो रहेछ। आफ्नी छोरीलाई आमाका मायालु आँखाले जहिले दुब्ली देख्छन् भन्ने विज्ञानलाई झल्याँस्स सम्झिएँ।
आमाले त दुब्लाएकी छेस् भन्नुहोला भनेर भाउजूले सुन्ने गरी सोधेँ- ‘आमा! म अचेल दुब्लाएको छैन त?’
आमा च्याँठिँदै बोल्नुभयो- हात्ती जति दुब्लाए पनि बाघ हुँदैन क्यारे।
सिलवरे गाग्री कुचियाझैं कच्याककुचुक्क भयो मेरो मन। निकै ठूलो असफलता हात लाग्याझैँ खङ्ग्रङ्ग भएँ।
दु:ख, पीडा र तनावको पहिरो एकैचोटि मस्तिष्कमा खस्यो, अनुहार कागती निचोरेकोजस्तै भयो। भाउजूले मेरो अनुहारमा छायाको बादल देखेर होला भित्र बोलाउनु भयो - ए, मैयाँ! के गर्दै हो एक्लै बैठकमा? भित्र आइस्यो न, मैले प्याक बनाएँ।
भाउजूले बोलाएको आवाज कानभित्र छिर्नै सकेको थिएन। आमाकै वाणी कानमा टननन गरेर बजिरहेका थिए।
‘हाती दुब्लाएर ::: बाघ कहिले :: हुन्छ’
म पनि के कम ‘हुलमूलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनुु’ भन्या झैं दगुरेर तौल जोख्ने मेसिनमा उक्लिएँ आफ्नो प्रगति देखाउन।
आम्मामा!! मेरो खुसीको सीमा रहेन। यो महिना त दुई किलो कम भएछु। लाखौंको चिट्ठा पर्याझैं म खुसीले चिच्याएँ।
‘भाउजू !!! भाउजू !! याँ हेर्न आइस्यो त।’
निहुरिएर हेर्दा मेसिनले देखाएको अंक नमिल्ला कि भनेर भाउजूलाई गुहारेँ।
भाउजू पनि साग केलाउँदा केलाउँदै हुतिएर आउनु भयो। अपूर्व उपलब्धि प्राप्त गर्याझैं हामी नन्द भाउजू खुसीले चिच्यायौँ।
होइन, के भाको होला हामीहरू अलिकति तौल घट्दा पनि फुर्केर उत्पातै गर्छौं। अलि कति बढ्दा पनि झोक्राएर बिछट्टै हुन्छौं अनि जिन्दगी नै सकिन लाग्याझैं पीडा बोक्छौं। कसैले मोटी भन्यो भने त रिसले आँखै पो देख्दैनौँ त बाई! दुबै जना मुर्छा परेर फेरि एकचोटि हाँस्यौं।
‘मैयाँ हजुर भगवान कोइरालाले भनेको जस्तै ( इन्टरमिटेन्ट फास्टिङ ) आठ घन्टा खाने, सोह्र घन्टा नखाने गरिसिन्छ रे हो ? अब म त्यसै गर्नु पर्यो कि क्या हो?’
अब भाउजूलाई पर्नु पीर पर्यो ।
मेरो भन्दा अलिकति बढी तौल देखाएको थियो लत्र्याकलुत्रुक नै पर्नु भयो।
‘कसले भन्यो हजुरलाई?’
‘आमाले! हिजो भन्दै होइसिन्थ्यो घाम डुबेपछि केही खान्न अनिताले, सबेरै खाना बनाऊ है।’
मैले हाँस्दै भनें- हुन त हो भाउजू! तर बाहिर हिँड्दा सम्भव छैन अनि घाम डुबे पनि खान्छु कहिलेकाहीँ तर थोरै।
नन्द भाउजू कुरा गरिरहेका थियौं। असी वसन्त काटेकी आमा खुसी हुँदै आउनु भयो।
‘नानी! म त ट्याक्क! ४० किलो मात्र न घट्छ, न बढ्छ।’
आमा भर्खरकी नवयुवती झैं प्रफुल्ल हुनुभयो। आमाले तल्लो पेट छाम्दै भन्न थाल्नुभयो- यो चाहिँ खोइ मरिगए घट्दै घट्दैन के भाको होला।
भाउजू मुर्छा परेर हाँस्न थाल्नु भयो। भाउजू हाँसेको देखेर कुरै नबुझी म पनि हाँसें। हामी मुर्छा परेर हाँसेको देखेर बिचरी आमा पनि हाँस्नु भयो। हुन त कुन आमालाई मन नपर्ला र! छोरी र बुहारी एकैठाउँमा बसेर टोलै थर्कने गरेर हाँसेको।
आमाको मुहारमा सन्तुष्टिको महासागर छचल्किएको थियो। हामी तीनै जना भान्सामा बसेर हाँस्दै चिया पिउन थाल्यौं। चिनी बिनाको चिया मन भयो छियाछिया। भलै आमालाई त सुगर थियो। हामी नन्द भाउजू डब्बाभरिको गुलियो चिनी हेर्दै खल्याङ्गत्याङ्ग चिया खायौं।
आमा पूजा कोठातिर लाग्नु भयो। अनि बल्ल भाउजूले हाँस्नुको रहस्य खोल्नु भयो। आमा त भर्खरका केटीहरू जस्तै तौल जोख्ने मेसिनमा दिनको दुई तीन चोटि उक्लिनु हुँदो रहेछ। अनि हरेक चोटि ‘ट्वाकै चालीस, नकम नबढी’ भन्दै दोहोर्याइ रहनु हुँदोरहेछ।
म फेरि एकचोटि कुरा बुझेर मज्जाले हाँसें। भान्सा भरी हाम्रो हाँसो फैलियो।
हाम्रो गफको विषय फिटनेस र खानपिन नै थियो।
हामीलाई जसरी पनि फिट हुनु परेको छ। हिजोआज ठाउँ ठाउँमा कसरत गर्ने मेसिन जडित पार्क बनेका छन्। तीन वर्ष अगाडि दिल्ली जाँदा सार्वजनिक पार्क देखेर कल्पना गरेको थिएँ, हाम्रो सहरमा पनि यस्तै पार्क भए! साँच्चै कहिलेकाहीँ देखेको सपना पूरा हुँदो रहेछ । मेरो घर नजिकै अहिले दुई वटा पार्क छन्। पार्कमा कसरत गर्ने मेसिनहरू छन्। बिहान बिहान हरेक उमेरका सचेत नगरबासी त्यहाँ झुम्मिएको देख्दा म दङ्ग पर्छु। भाउजूलाई यी कुरा सुनाउँदै थिएँ।
आमा बोल्न थाल्नु भयो- हिजोआज खानपान गतिलो भएन। सुत्ने उठ्ने ठेगान छैन राति राति खान्छन् अनि नमोटाएर के गर्नु।’
आमा यति भनेर कौसीतिर उक्लिनु भयो।
आमाको कुरा ठिक थिए। साँच्चै हामीले जिब्रोलाई सैनिकको तालिम दिनु परेको छ। मीठो खाना आँखाले हेरेर भयो भयो भन्नु परेको छ।
आधा पेटमै पुग्यो-पुग्यो भन्दै नाटक गर्नु पर्या छ। प्रणायाम, मर्निङ वाक, इभाको फिट्नेस, जुम्बा, जीम, कागती पानी, जिरा पानी के के हो के के भनेर साध्य छैन। जिउ घटाउन ब्रम्ह्मुर्त देखिनै लाग्नु परेको छ। हे प्रभु! यो ऊर्जाशील समय बोसो पगाल्दापगाल्दै बित्ने भयो कि क्या हो। यस्तै कुरा गरेर हामी हाँस्यौं।
भाउजू भन्दै हुनुहुन्थ्यो- तर आज नो डाइटिङ, बल्लतल्ल माइती आउनु छ। त्यो पनि यो नखाने त्यो नखाने गर्ने होइन, खुरूखुरू जम्मै थोक खाने उतै गएर गर्नु डाइटिङ्गसाइटिङ्ग।’
भाउजूले पकाएको खानाबाट निकै मीठो वासना आइरहेको थियो। भोक पनि हिजोको भन्दा डब्बल भयो।
के भएको होला सचेत हुदाहुँदै पनि स्वास्थ्यमा सम्झौता गर्न पुग्छौं हामी।
आज माइती आएर,भोलि फलानाको बर्थडे, घरी बिहे पार्टी आ! आज एक दिन त हो भनेको पनि कैयौं पटक भइसक्यो। किन स्वास्थ्यमा खेलाँची गर्छौं? जिब्रोको पछि लागेर।
हुन त यो सम्पन्नताले ल्याएको समस्या हो। मेलापात घाँस दाउरा गर्नेलाई के को फिट्नेस? प्रकृतिले नै फिट बनाई दिन्छ। यी त सहरियाहरूलाई लाग्ने रोग हो। त्यही पनि हामी सचेत भएर रोग लाग्न नदिन मरिहत्ते गरेका छौं। यो सराहनीय छ,अनुकरणीय पनि छ। हामी यस्तै कुरामा बहस गर्दै थियौं। भाउजूले मायालु पाराले भान्सामै मेरो अनुहारमा प्याक लगाइदिनु भयो।
‘अब नहाँसिस्यो है, मैले प्याक लगाई दिएँ।’
भाउजूको निर्देशन थियो।
मगमग बास्ना आउने काँक्रोको टुक्राहरू आँखामा राखिदिनु भो, हरहर आएको बास्नाले जिब्रोबाट पानी छोडेर फेरि उल्का भयो!
राम्री हुन परेको छ अनि ठूलो सास फेर्दा पनि प्याक बिग्रेलाकी भनेर सास दबाएर बसें बीस मिनेटसम्म, हे प्रभु! के गर्नु।
उठ्दा त कान्छी छोरी एउटा बाटामा पानी र वरफका टुक्रा हालेर धमाधम रातोपिरो हुँदै अनुहार चिसो पानीमा चोपलिराखेकी, भदैनी कफी घोलेर आँखामुनि घसिराकी। म हेर्दै थिएँ।
सुभी बोली-‘मामु हजुर पनि आइस पानीमा अनुहार डुबाइस्यो त, अनि छाला राम्रो हुन्छ।’
अर्को खजाना भेट्याझैं उत्सुक हुँदै सोधेँ।
‘तेरोजस्तै हुन्छ मेरो पनि छाला?’
चौध वर्षकी छोरी मलाई ढाडस दिँदै भन्छे- भइहाल्छ नि!
चौवालिस वर्षको अनुहारमा चौध वर्षको मुलायम छाला पाउने लालचमा अस्ति भर्खर कोरोनाले न्याकेको घाँटी र नाक बिर्सिएर त्यो चिसो पानीमा अनुहार चोपल्न पछि परिनँ।
भित्रभित्रै आफैंसँग हाँस पनि उठेको थियो। यो कस्तो मनोविज्ञान होला? समय ईश्वर हो, समय सत्य हो थाहा छ तर पनि किन स्वीकार गर्न मान्दैन यो मन।
चौध वर्षकी छोरीको जस्तो मुलायम छाला अब हिमालयमा गएर महिनौं मुख डुबाए पनि मरिगए हुँदैन थाहा छ, तर पनि कोसिस जारी छ।
बेलाबेला असी काटेकी आमा र भर्खर दस काटेकी छोरी पनि सचेत छन्, सौन्दर्य, खानपानमा र फिट्नेसमा। यस्तै कुरा खेलाएर बैठकमा प्रणायाम गर्दै थिएँ।
भाउजूले खाना तयार पार्नु भयो।
निकै मेहनत गरेर खाना बनाउनु भएको थियो भाउजूले। साँच्चै हामी भाउजूको हातमा जादू छ। उहाँले छुने बित्तिकै साधारण खाना पनि अपूर्व बन्छ।
आमा,भाउजू र म सँगै खाना खान बस्यौँ। आमाले एक मुठी भात लिनुभयो। म छ्क्क परें।
‘दुब्लाएर एक मुठ्ठीको भैसक्नु भाछ कति थोरै खाना लिएको, अलि हाल्नु।’ मैले नचाहिँदो माया दर्साएँ।
‘आमा! एक्सर्साइज कति धेरै गरेको अलि कम गर्नु है।’ सुकिसकेको ज्यान फुसुक्कै जाला र आमाको अस्तित्व समाप्त होला भनेर एकैछिनमा आमा बिनाको माइतीको कल्पना गरेँ। कल्पना मै म त डराएछु।
‘भात मात्र खान्छु र , यी हेर! एक कचौरा दाल, तरकारी, अचार, दही, साग जम्मै मिलाउँदा यही त धैरै हुन्छ।’
आमाको बोलीले म झसंग भएछु।
आमाका कुरा कति सही थियो। आफू त सागसँग, तरकारीसँग, अचारसँग बेग्लाबेग्लै मुछेर खान मन पराउँछु। छुट्टाछुट्टै स्वाद लिँदा भात धेरै खाँइदो रहेछ।
हुन त आमाले सानैदेखि भात धेरै खानु हुँदैन भन्नुहुन्थ्यो तर जिब्रोले टेरेपुच्छर लाए पो! भातै मीठो लाग्थ्यो। दाल भात, भुटेको भात, दूध भात, बासी भात जताततै भातै भात। विकल्प पनि त थिएन।
आमा दाल, तरकारी, दही, दूधमा जोड दिनु हुन्थ्यो। कहिलेकाहीँ भात बढी हुँदा कोचेर खान दिनुहुन्न थियो। विद्यालय नगएकी हजुरकी सासू आमा कति बुद्धिमान। नाकका पोरा फ्वाँ पार्दै आमाको गुणगान भाउजूलाई सुनाएँ। डाइनिङ टेबलमा बसेर।
हात चुठिवरी आमा फेरि भर्याङतिर दगुर्दै जानु भयो। किन कुद्नु भयो भनेर म चनाखो हुँदै थिएँ।
‘ओई नानी! यहाँ आइज त, भात कम खाई आमाले भन्थिस् नि लु हेर! झन्डै एक किलो बढेछ।’
म रिसाउदै झर्किएँ , ‘कति जोखेको जोखै गरेको खानुभन्दा अघि पनि पछि पनि। महिनामा एक चोटि जोखे हुन्छ।’
‘दु: ख हुँदैन क्या घाट लैजाँदा ?’ भन्दै एक मुठी औषधि बोकेर आमा आफ्नो कोठातिर पस्नु भयो।
उत्तिकै खेर जेठी छोरी कराउँदै आई- मामु आज अलि बढी नै खाइएछ, म ग्रीन टी बनाउँछु हजुरहरू पनि खाइसिन्छ?
हात चाटीचाटी एक थाल भात हसुरेर भुँडी फुट्लाजस्तो भएको बेला छोरीले ठूलो मगमा भरिभरि ग्रीन टी ल्याएर दिइन्।
‘भाउजू ग्रीन टीले पेट स्याप्पै पार्छ, जति खाना खाए पनि है’ भन्दै थिएँ।
हाम्रो कुरा सुनेर छोरीहरू मुर्छा परेर हाँसेको आवाज दाजुभाउजूको कोठासम्म आएर ठिक्कियो। किन हाँसे, हाँसे हामी कुरै नबुझी हाँस्यौं।
आमा फुत्त आएर हाँस्दै भन्नुभयो- अहिले जोख्दा फेरि ठ्याकै चालिसै रहेछ।
भाउजू र म लडिबुडी गर्दै निकै बेर हाँस्यौं।