बिहानी चियाको चुस्की लिँदै ऊ बैठक कोठाको सोफामा बसेको छ। बाक्लो नीलो पर्दा तेत्तीस प्रतिशत मात्रै खुलेको छ। झ्याल भने पूरै खुल्ला छ। खिया लागेको ग्रिलबाट सूर्यको किरण सिधा लाइन बनाउँदै कोठामा छिर्दै छ।
भुइँको रातो बुट्टे गलैंचामाथि धूलोका कणहरू सूर्यका किरणसँग लडिबुडी खेल्दैछन्। बाटोपारि पानको दुकानमा 'हीँ हीँ हीँ हीँ हँस देली, रिंकिया के पापा' बोलको भोजपुरी गाना लाउड-स्पिकरमा घन्किरहेको छ।
आँगनको तुलसीमोठमा बालेको चन्दन अगरबत्तीको सुगन्ध नाकको वरिपरि ब्याले डान्सरजसरी नाच्दै छ। हातमा मोबाइल बोकेको ऊ चाहिँ फेसबुकको दुनियाँमा मस्त छ।
'फेरि मोबाइलमै झुन्डिरा'को? कत्ति भन्यो बिहान-बिहानै मोबाइलमा हराउनु राम्रो होइन भनेर, मान्ने होइन,' सामाजिक सञ्जालको तिलस्मी दुनियाँमा हराइरहेको ऊ, श्रीमतीको आवाजले झसंग हुन्छ।
'होइन, होइन एउटा पिडिएफ डाउनलोड गर्दै थिएँ,' ऊ हाक्काहाक्की झुठो बोलेर आफ्नो बचाउ गर्छ।
'ल ल, म नुहाउन गएँ, हजुर पनि रेडी हुने कि?' श्रीमती यति बोलेर निस्कन लाग्दा ऊ बोल्छ, 'आज मेरो अफ हो। आज ज्यानलाई आराम दिने हो।'
श्रीमती निस्केपछि ऊ पुनः मोबाइल घोट्न थाल्छ।
'पाण्डे सर कलिङ' मोबाइल स्क्रिनमा फेसबुकको दुनियाँलाई चिर्दै फोन आएको देखाउँछ। हातको मोबाइल भाइब्रेसन मोडले जसरी थरर गर्यो, त्यसरी नै उसको सारा शरीर सिरिंग गरेर कम्पन गर्यो।
पाण्डे सर अस्पतालका कोभिड 'को-अर्डिनेटर'। खाइलाग्दो ज्यान र हक्की स्वभाव। विगत ६ महिनादेखि चौबीसै घण्टा ड्युटीमा। एकाबिहानै पाण्डे सरको फोन आउनु त्यति हितकर होइन। अझ अघिल्लो दिन पिसिआर गरेर फर्केको अवस्थामा त हितकर हुँदै होइन। त्यो फोन घातक हुनसक्छ।
'नमस्ते सर' ऊ यताबाट बोल्छ।
उसको अभिवादनको जवाफ दिँदै पाण्डे सर बोल्छन्, 'अँ भाइ नमस्ते ! के छ हालखबर?'
'ठीक छ सर,' यताबाट ऊ बोल्छ।
'रिपोर्ट त बर्बाद छ त,' पाण्डे सर छोटो वाक्य बोलेर एकपटक खोक्छन्।
खोकिपछि घाँटी सफा गर्दै पुनः सुरू गर्छन्, 'अस्पतालमा बेड पूरै प्याक छ। स्टाफपट्टि रातिसम्म बेड खाली होला कि! जे होस्, जसरी हुन्छ आइसोलेट हुनुस्। लक्षण आए तुरुन्तै फोन गर्नुस्। तपाईंहरू पोजेटिभ आउने साथीहरू कता बस्ने? के गर्ने? सल्लाह गरेर मलाई खबर गर्नुस्।'
उताबाट पाण्डे सरको धाराप्रवाह चलिरहेको छ। यताबाट उसको एकोहोरो 'हस् सर, हुन्छ सर' चलिरहेको छ।
शरीरमा कोभिडको कुनै लक्षण नभए पनि रिपोर्टले उसलाई एकैछिन भनन्न रिंगटा लागेजस्तो हुन्छ। फोन राखेपछि आँखाअगाडि कालो कालो देख्छ।
पातबुट्टे पर्दाको डण्डीमा झुण्ड्याइरहेको हरियो ह्यांगरमा उसले मास्कहरू उनेर सुकाउने गरेको छ। झ्यालबाट हावा पनि आउने, घाम पनि छिर्ने। मास्कको किटाणु मर्छ भन्ने आशा छ उसलाई। सुरू-सुरूमा कोभिड आउँदा उसले लगाएको बानी थियो यो। जब मास्क प्याजकै भाउमा किन्नुपर्थ्यो, त्यो पनि पाइयो भने। त्यो बेला अस्पतालले कपडाको मास्क सिलाएर बाँडेको थियो। त्यस्तो लगाएर 'सेल्फी' क्यामरा अन गर्दा, पेरुंगो लगाएको गोरू-अनुहारको मनुवा मोबाइल स्क्रिनमा देखापर्थ्यो।
एउटा मास्क झिकेर लगाउँदै ऊ ऐनातिर हेर्दै थियो। नुहाएर 'फ्रेस' भएकी श्रीमती सेतो तौलियाले कपाल बेरेर कोठाभित्र छिर्छिन्।
'लौ, के भयो? अब घरमै मास्क?' कपालबाट तपतप् चुहिँदै गरेको पानी पुछ्दै गरेकी श्रीमतीबाट श्रीमानलाई प्रश्न आउँछ।
'रिपोर्ट पोजेटिभ आयो। भर्खर फोन आएको थियो,' उसले सानो आवाजमा छोटो उत्तर दियो।
'ला हो र?' भन्दै श्रीमती पनि तुरुन्तै एउटा नीलो मास्क झिकेर ओसिलो अनुहार ढाक्नेगरी लगाउँछिन्।
'कपाल सुकाउने कि हेयर ड्रायरले? रुघा लाग्ला फेरि,' ऊ बोल्छ र ड्रायर जोड्छ। हरे बत्ती गएछ त। काम भएन नि। किन हो किन उसको आँखाअगाडि मुसुमुसु हाँसिरहेका कुलमानको इमेज देखापर्छ!
'लौ यस्तै हो नेपाल' भनेर खुइयय गर्दै ऊ ड्रायरको प्लग निकाल्छ।
'अस्पताल जाँदाजाँदै बाटोमै सुक्छ कपाल, डन्ट वरी,' श्रीमती बोल्छिन्।
'अँ साँच्च, अस्पतालकै आइसोलेसनमा बस्नुपर्ला है? रातिसम्म बेड खाली होला कि! भेटौंला नि पन्ध्र-सोह्र दिनपछि। वाइफाइ रहेछ भने भिडिओ कल पनि गरौंला,' उसले एकै सासमा आफ्नो प्रस्ताव पेश गर्छ।
उसको कुरा सकिन पाएको हुँदैन, श्रीमतीका आँखा टिलपिल टिलपिल आँशुले भरिन्छन्। नजिकै गएर सुस्तरी फू गर्ने हो भने आँशुका दाना गालामा दौडिन्छन्। कोभिड छ, फू गर्नुहुन्न, त्यो पनि नजिक गएर।
ऊ सम्हालिन्छ।
'लक्षण छैन, कहाँ अस्पताल गएर बस्ने? अस्पताल बस्नुपर्नेले बेड पाऊन् न बरु। घरमै आइसोलेट भएर बस्ने, छुट्टै कोठा, छुट्टै बाथरुम। खाना पनि कोठामै खाने, बाहिर ननिस्कने। घरमा अरूको अघि पर्दै नपर्ने दुई हप्ता,' श्रीमती एकैछिनमा सहज समाधान बताइदिन्छिन्।
'गाह्रो परेमा जाउँला नि अस्पताल,' श्रीमतीको यो अन्तिम वाक्यमा भने असाध्यै भय मिसिएको थियो। उसले महसुस गर्यो। उनीहरू दुवैलाई थाहा थियो कोभिडको गाह्रो भनेको के हो, कस्तो हो।
'हुन्छ! म यहाँ बन्दोबस्त मिलाइदिएर काममा जान्छु। हजुर आराम गर्नुस्,' यति भनेर श्रीमती बाहिर निस्किन्।
होम आइसोलेसनमै बस्ने निर्णय गरेपछि उसका टीठलाग्दा दिन सुरू भएका छन्। एउटै कोठामा बन्द भएर बस्दा मन त्यसै-त्यसै ढक्क हुन्छ उसको। बेला बेलामा सास फुलेको, धड्कन बढेझैं लाग्छ। औंलामा सिउरेर अक्सिजन नाप्ने यन्त्र साथै राखेको छ। बेला-बेलामा मात्रा चेक गर्छ। शरीरमा अक्सिजन मात्रा पुगेको देखाउँछ यन्त्रले।
ऊ फिस्स हाँस्दै आफैंलाई भन्छ, 'शरीरमा होइन, मनमा पो अक्सिजन कमी भएको हो।'
उसको रिपोर्ट पोजेटिभ आएको थाहा पाएर साथीभाइ, आफन्त र अग्रजहरूको फोन र म्यासेजको वर्षा हुन थालेको छ। ऊ एकएक गर्दै 'टेक केयर' भनेर आएका म्यासेजलाई 'धन्यवाद' भन्दै जावफ पठाउँछ।
केही साथीहरू उसलाई 'सद्गुरुका भिडिओ हेर् , श्री-श्री रविशंकरका अनलाइन क्लास जोइन गर् , योग गर् , प्राणायाम गर्' भनेर म्यासेज गर्छन्। उसले 'हस् धन्यवाद' भनेर सप्रेम दुई शब्द फर्काउँछ।
कम्तीमा चौध दिन एकान्तबास बस्दा एउटा रूटिन त बनाउनुपर्ने हो- उभित्र यस्ता विचार नआएका होइनन्। तर, हरेक पटक यस्तो विचार आउँदा, उसलाई विगतमा बनाएको रुटिन कागजको डल्लो बनाएर रद्दीको टोकरीमा फालेको कुरा याद आउँथ्यो। उसलाई थाहा छ, उसलाई पछिल्तिर तानिरहने विगतको अंकुशे छुटाउन ऊ आतुर छ। अफसोच् ऊ अझै तयार भने छैन। मान्छेको जीवन सायद यही 'चेन्ज र रेजिस्ट चेन्ज' को द्वन्द्व हो।
उसको फोन बज्छ। स्क्रिनमा देखिन्छ 'घर कलिङ'।
'खाना राखिदिएको छ ढोका बाहिर, खानु है,' फोनमा आवाज थियो उसको बुवाको। उसले निन्याउरो आवाजमा 'हस्' भन्यो।
मुढामाथि पत्रिकाले छोपेको थाल छ र एउटा स्टिलको गिलासमा पानी। मास्क लगाएर बाहिर निस्केको ऊ झटपट थाल र गिलास उठाउँछ र कोठाभित्र आउँछ। निलो रङको गलैंचामा झ्यालतिर मुख फर्काएर बस्छ। पलेटी कस्छ र थाललाई एउटा पत्रिका माथि राख्छ।
चम्चाले दाल भात 'मिक्स' गर्दैगर्दा पत्रिकाको समाचारमा आँखा जान्छ - कोरोना हौवा हो।
समाचारले उसलाई झनक्क रिस उठ्छ र ठूलो आवाजमा 'बुल-शिट' भन्दै खाना खान थाल्छ। उसलाई तरकारी खल्लो खल्लो लाग्छ। घिरौंला, उसै पनि उसलाई मन नपर्ने। त्यसमाथि एकान्तबासमा यसरी खानुपर्दा उसको मुख अमिलिन्छ। धन्न अनलाइनबाट किनेको तिख्खर आँपको अचार छ थालको कुनामा। ऊ सोच्छ कोरोनाभन्दा घिरौंलाले सास जालाजस्तो छ।
खाना चपाउँदै गर्दा पत्रिकाको पुछारमा एक 'तपस्वी'को फोटो देख्छ। स्वास्थ्यक्षेत्रमा अँध्यारो मन पराउनेहरू उनलाई 'अनसन केसी' पनि भन्ने गर्छन्। पुनः अनसन बसेका तपस्वीको फोटो देखेर उसलाई खाना निलौं कि के गरौं हुन्छ।
उसको मनले भन्छ, 'तपस्वीलाई नमन छ। तर इम्युनिटीको सवाल छ, त्यसैले निल् भाइ, खाना निल्!'
खाना त खायो तर उसका लागि अब अर्को 'च्यालेन्ज' बाँकी छ। उसले गरेकै काम हो तर सानो बाथरुममा बसेर उसले अब भाँडा माझ्नु छ। एउटा मुढा लगेर बाथरुममा राख्छ र त्यहीँ बसेर भाँडा मस्काउँछ। तिर्रतिर् गर्दै धारोबाट बगेको पानी उसले माझेको थालको सरफ पखाल्दैछ। भाँडा घाम पर्ने ठाउँमा सुकाएर ऊ बेडमा पल्टिन्छ।
'खानेबित्तिकै नसुती हाल्नु भन्छन्, भुँडी लाग्ने भयो यो एकान्तबासले' यस्तै सोच्दै 'पिंक फ्लोइड-द वाल' लेखेको हरियो टिसर्ट माथिबाट आफ्नो पेट सुम्सुम्याउँछ।
'खाना खा'को हो? ठीक छ नि,' फोनमा एसएमएस आउँछ, श्रीमतीको।
'अँ खाँए। ठीक छ मलाई, चाँडो आऊ है,' ऊ फटाफट रिप्लाइ गर्छ।
उसलाई थाहा छ, श्रीमती चाँडो आउन मिल्दैन। अस्पतालमा कामको चापाचाप छ। छिटै भए पनि दुरी कायम गर्नुछ। गायक आतीफ अस्लमले 'दुरी सही जाए ना' गीत त्यसै गाएका रहेनछन्।
यस्तो सम्झेर ऊ जोडले हाँस्छ। एकान्तबासको सन्नाटा चिर्दै उसको हाँसो कोठाभरि फैलिन्छ।
पल्टिँदै गर्दा उसलाई उसको 'मेमोरी' ले एउटा अतीतमा पुर्याउँछ। त्यो समय जब उसका दिदीहरू पहिलो पटक महिनावारी भएका थिए।
'दिदी पर सरेकी छ, बाहिर बसेर खान्छे, अहिले तिमीले हेर्नुहुन्न' उसलाई यस्तो भनिएको थियो। उसलाई यो 'पर सर्ने' भन्ने चिज निक्कै अचम्म लाग्थ्यो।
महिनामहिना दिनमा घरका आमा, फूपू, दिदीहरू पर सर्दै जानुहुन्थ्यो। अरूबाट छुट्टिएर छुट्टै बसेर खानुहुन्थ्यो। उसको बालक मस्तिष्कले सोच्न खोज्थ्यो किन त्यस्तो गरेको होला?
तर, उसलाई देख्ने बानी पर्दै गएको थियो। आखिर मानिस बानीहरूको पुञ्ज न हो।
हुन त उसका घरका ठूला मान्छे त्यति बिघ्न कडा होइनन्। धर्मको मर्म मान्नुपर्छ, ऐंजेरू फाल्नुपर्छ भनेर कयौं पटक सुनेको थियो उसले आफ्ना हजुरबुवाबाट। तर पनि पर सर्दा दिदी, आमाह, फूपूहरू आफैं पर-पर सर्नुहुन्थ्यो।
अहिले सोच्दा उसलाई लाग्दैछ, उहाँहरूलाई देख्न र वर्णन गर्न नसकिने बाध्यताले दुरी राख्न कायल पारेको रहेछ। उबेलाको त्यो बाध्यता बानीमा परिणत भएर पुस्ता-पुस्तासम्म सर्दै छ। बाध्यताका रूप फरक छन् तर सार उही छ।
उसले यो पर सर्ने जैविक प्रक्रियालाई आफ्नो एकान्तबासमा अझ बढी बुझेको अनुभव गर्दै थियो। किनभने उसको यो एकान्तबास चरम स्तरको 'पर सराइ' हो भन्ने उसले बुझेको थियो।
'ट्रिङ –ट्रिङ' डोर बेल बज्यो। उसलाई थाहा छ यो उसको श्रीमती अस्पतालबाट फर्कने बेला हो। उसले अर्को कोठाको ढोका खुलेको चाल पाउँछ। लुगा फेरेर आफ्नो कोठाको ढोकामा 'नक' गरेकी, मास्क लगाएकी श्रीमतीलाई ऊ देख्छ।
'कस्तो रह्यो दिन,' श्रीमतीको सहज प्रश्न।
ऊ टाढाबाट ढोकाबाहिरै उभिएकी श्रीमतीलाई भन्छ, 'बोरिङ!'
'त्यसो नभन्नु न। बानी पर्छ। नोभल पढ्ने, मुभी हेर्ने, सिरिज हेर्ने। बितिहाल्छ नी टाइम,' श्रीमतीको सुझावमा ऊ केही बोलेन। सीर्फ बुझेँ-बुझेँ जसरी टाउको हल्लायो।
रातिको खाना पनि बिहान झैं पर सरेर खान्छ ऊ। करिब नौ बजे म्यासेन्जरमा उसलाई म्यासेज आउँछ, अर्को कोठाबाट उसकी श्रीमतीको।
'हाइ, के छ' म्यासेजको पुछारमा 'लभ' संकेत गर्ने रातो पान आकार छ। सायद उसको मुटु हो।
'आइ एम गुड,' लेखेर पुछारमा सबै दाँत देखाइरहेको पहेँलपुर 'इमो' ऊ पठाउँछ।
'एकान्तबासले धैर्यको परीक्षा लियो है?' ऊ खरर लेखेर सेन्ड गर्छ।
'हो नि, सहनशक्तिको पनि,' उताबाट आउँछ।
'एउटै कोठामा बस्नुपर्नेहरू कसरी आइसोलेट गर्दा हुन्,' ऊ प्रश्न लेख्छ।
'खोइ? गाह्रो छ। तर उपाय छ। कोठाको एरिया छुट्ट्याउने, भेन्टिलेसन बढाउन झ्याल ढोका खोल्ने, हात धोइराख्ने, मास्क लगाइराख्ने, त्यही त हो। सबैलाई सधैं सोचेजस्तो सुविधा कहाँ हुन्छ र,' श्रीमतीको यो लामो रिप्लाईको ऊ एउटा नीलो थम्स अप थिचेर स्वीकृति जनाउँछ।
'केटी मान्छेलाई आइसोलेट हुन सजिलो हुन्छ होला है,' ऊ श्रीमतीलाई सोध्छ।
'हाउ कम?' श्रीमतीको छिटो र छोटो रिप्लाई आउँछ।
'महिनाको चार-पाँच दिन आइसोलेट हुने बानी जो लगाइदिएको छ समाजले बच्चैदेखि,' ऊ तुरुन्त कारण पेश गर्छ।
'हाहा, यु थिंक टु मच,' श्रीमतीको जवाफ आउँछ र साथमा दाँत देखाएर हाँसिरहेका तीनटा जण्डीसग्रस्त इमो।
'अब सुत्नुपर्ला। हजुर पनि सुत्नु। फेरि भोलि मेरो ड्युटी छ,' एकछिनको ब्रेकपछि फेरि श्रीमतीको म्यासेज आउँछ। त्यसलगत्तै 'गुडनाइट' लेखेको म्यासेज र तीनटा राता पान आकार मुटु।
ऊ श्रीमतीलाई गुडनाइट रिप्लाइ गरेर बत्ती निभाउन जान्छ र फेरि आएर पल्टन्छ। निन्द्रा त के आउँथ्यो र यति सजिलै उसलाई। मोबाइल निकालेर फेसबुक खरर हेर्छ।
'मन्दिरमा बालिकाको बलात्कार, बसमा यौन दुर्व्यवहार, तेजाब आक्रमण विरुद्ध जुलुस' यस्तैयस्तै समाचार छन्। उसलाई एक्कासि वाकवाक लागेजस्तो हुन्छ। कोभिडले हो कि समाचारले हो यस्तो लक्षण देखिएको छुट्याउन, गाह्रो पर्छ उसलाई। उठेर पलेँटी मारी खाटको बीचमा बस्छ ऊ। शान्त हुने प्रयासमा एकछिन आफ्नो सास नियाल्छ।
ब्रीद इन, ब्रीद आउट, ब्रीद इन, ब्रीद आउट !
उसको मनको सुदूर कुनामा एउटा विचारले जन्म लिन्छ- केटा मान्छे पनि साँच्चिकै पर सर्नु पर्ने! अनि यस्ता समाचार आउथेनन् कि?
(डा. आयास लुइँटेल पाटन अस्पतालका आवासीय चिकित्सक हुन्।)