सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा सिधै वैकुण्ठमा जाला।
सानो छँदा माइलो बुबाले स्कुलको चौरमा गाउँभरिका भुराभुरी अर्थात् हामीलाई कथा सकिने बेला यो शब्दहरू भनेपछि मात्र कथा सकिन्थ्यो। कुनै संयोगान्त र कुनै वियोगान्त तर कथा चाहिँ सकिन्थ्यो। स्वस्थानीको कथा बर्सेनि पढियो, टुकी बालेर देखि बिजुलीबाट बल्ने चिम बालेर सम्म। सबै सुनेको कथाहरूको सुरुवात सँगसँगै अन्त पनि भयो।
जब बाल्यकाल सकेर युवा अवस्था सुरु भयो तब सानोमा सुनेको कथाभन्दा जीवनको कथा भिन्न हुँदो रहेछ जस्तो लाग्यो। कथा त सुन्न मात्र राम्रो लाग्दो रहेछ तर आफ्नै भोग्न कहिले सजिलो त कहिले अप्ठ्यारो जस्तो लाग्ने। वर्तमानको भोगाइ नै भविष्यको कथा हुँदो रहेछ।
पुतलीसडकको एउटा नाम चलेको इन्स्टिच्युटमा क्लास दिइरहेको बेला मेरो मोबाइलको स्क्रिनमा नचिनेको +६१... नम्बरबाट फोन आयो। अचेल विभिन्न स्क्याम कलहरू आइरहेका हुन्छन् भनेर त्यो फोन उठाइएन। पाँच मिनेटपछि फेरि पनि त्यही नम्बरको फोन आएको रहेछ। मन नलागी नलागी रिसिभ गरेँ। कुनै केटीको मान्छेको फोन थियो, धाराप्रवाह रूपमा अनेकौँ शब्दहरूको लस्कर मेरो कानमा प्रविष्ट भए तर एकोहोरो रूपमा; कुनै बुझियो, कुनै बुझिएन।
मैले भनेँ, ‘कृपया म अहिले क्लास दिइरहेको छु, मलाई साँझको समयमा कल गर्नुहोला अनि बिस्तारमा सुनौला सबै कुरा।’
उताबाट उत्तर नआउँदै फोन काटेँ। सबै विद्यार्थीहरू मेरो अनुहारमा हेरिरहेका थिए।
त्यो साँझ कुनै कल आएन। मैले पनि बिर्सिनै लागिसकेको थिएँ त्यो अप्रत्याशित कल। शनिवारको दिन ४—५ बजेको हुँदो हो, फुर्सदमै थिएँ। त्यही नम्बरबाट कल आयो।
‘सर नमस्कार! मेरो नाम वर्षा खड्का हो, म हजुरको पुरानो विद्यार्थी हो। सायद चिन्नु हुन्छ कि बिर्सनु भयो। हजुरले लेख्नु भएका सबै कथा मैले पढेको छु। मैले पनि एउटा कथा लेखेको छु, मेरो आफ्नै कथा, आँट गरेर। आशा छ हजुरले आफ्नो नाम राखेर प्रकाशित गरिदिनु हुन्छ भनेर।’
मैले भनेँ, ‘सुन नानी, म त्यस्तो राम्रो कथा लेख्ने कथाकार पनि होइन, यसो बसिबियाँलो मात्र हो, अरू कसैलाई भन न हुन्न?’
‘सर, मैले हजुर बाहेक अरू कोही चिनेको नै छैन कथा लेख्ने, म हजुरको मेसेन्जरमा पठाउँछु, राम्रो लागे प्रकाशित गरिदिनुहोस् नभए नि केही छैन,’ एकै सासमा जवाफ आयो। फोन पनि काटियो।
वर्षालाई सम्झेँ मैले, उनी मेरो पुरानो त नभनौँ दुई/तीन वर्ष अगाडिको आइइएलटिएसको क्लासको विद्यार्थी, बोइज कट कपाल, ब्यागी टिर्शट, हातभरि थरीथरीका ब्यान्ड, घाँटीमा रुद्राक्षको माला। हेर्दा खेरी नै हाउडे टाइपको तर यो सबको बाबजुद क्लासमा सबैभन्दा राम्रो नम्बर ल्याउने हरेक टेस्टमा। त्यो ब्याजमा ८ को स्कोर ल्याउने उनी मात्र होला जस्तो लाग्छ मलाई। त्यस कारण पनि सम्झनामा छिन् उनी।
मेसेन्जरमा एउटा बोर्ड फाइल आयो त्यही दिन। त्यो फाइलभित्र एउटा कथा थियो।
‘मेरो नाम वर्षा खड्का हो। मेरो घर पूर्व फिदिमबाट इलाम जाने बाटो रानीटारमा पर्छ। म जन्मेको दिनभन्दा दुई दिन अघिदेखि लगातार पानी नरोईकन परिरह्यो रे र म जन्मेपछि पनि अरू तीन दिन लगातार पर्यो रे। अनि त्यही हुनाले हजुरबुबाले नै वर्षा नाम राखिदिनु भयो रे।
सबैले मलाई एकदमै माया गर्नुहुन्थ्यो किनकि हाम्रो परिवारमा म छोरीको रूपमा धेरै पछि जन्मिएकी थिएँ। सानो छँदा ठुलो बुबाको छोराहरूले प्यान्ट र टिसर्ट लगाएको देखेर होला कहिले जामा र फ्रक जस्ता लुगामा आकर्षित भइनँ म। दाइहरूको लुगा लगाएर नै हुर्किएँ भन्दा हुन्छ म। फुटबल, लुकामारी,कबड्डी जस्ता खेल्ने कुरामा पनि दाइहरूसँगै खेलियो।
एक दिनको कुरा हो, हाम्रो छिमेकमा एउटी मेरै उमेरकी केटी पाहुना भएर आइन्। उनी बिछट्टै राम्री थिइन्। हिउँ झैँ गोरी, पुक्क—पुक्क परेका गाला, हल्का घुम्रिएको कपाल। उनीलाई देखेपछि कहिले चिनजान गरौँ, साथी बनाऊँ र बोलौँ—बोलौँ जस्तो भयो।
भोलिपल्ट बिहानै आमाले तिनै छिमेकीकोमा नुन पैँचो माग्न पठाउनु भयो। मलाई पनि के खोज्दछस् कानो आँखो भनेझैँ भयो। छिमेकी काकाले नुन कचौरामा राखिदिनु भयो र भन्नुभयो, ‘यिनी मेरी भान्जी ऋतु हुन्, काठमाडौँबाट आएकी स्कुल छुट्टीमा। तिमीहरू उस्तै उमेरका छौ, साथी बन्नू र गाउँघर घुमाइदिनू है।’
मैले मक्ख पर्दै हवस् काका भनेँ। हाम्रो आँखा चार भयो, खुसी भएर म घर फर्किएँ।
हामी एकदम चाँडै घुलमिल भयौँ।
‘तिम्रो गाउँ त कस्तो राम्रो है, हाम्रो सहरमा त जता हेर्यो घरै घर, गाडी नै गाडी पट्यार लाग्दो।’
‘मेरो गाउँभन्दा त तिमी नै राम्री।’
वर्षाले ऋतुको गालामा हातले सुस्तरी चिमोटिदिइन्। पुक्क परेको गाला जुम्लाको पाकेको स्याउ झैँ रातो भयो।
ती दिनहरूमा हामी एकदमै मिल्ने साथी भएका थियौँ। बिहानदेखि साँझसम्म सँग हुन्थ्यौँ। बर्सातको समय त थिएन तर पानी चाहिँ परिरहेको थियो अनि गाउँलेहरूले हामीलाई जिस्क्याइरहनु हुन्थ्यो- ‘यी केटीहरूको जोडीले गर्दा हाम्रो गाउँमा अचेल बिना बादलको पानी परिरहेको छ, नाम नै वर्षा-ऋतु!’
जब हामी मिल्ने साथी भएका थियौँ, ऋतु हरेक वर्ष छुट्टी मनाउन हाम्रो गाउँमा आइरहन्थिन्। समयको गतिसँगै हाम्रो दोस्ती झन्-झन् बलियो हुँदै गयो। दश क्लासको बोर्डको परीक्षापछि ऋतु केही दिनको लागि आएकी थिइन्। मलाई किन हो किन एकछिन पनि उनीबाट अलग्गिन मन भइरहेको थिएन। उनी पनि मलाई छोड्नु नपरोस् जस्तो गर्थिन्।
‘वर्षा, तिमी एसइई दिएपछि काठमाडौँ आऊ है पढ्न?’
‘हुन्छ नि, अब झनै ध्यान दिएर पढ्छु र बाबा आमालाई फकाएर जसरी नि त्यतै आएर आफ्नो अध्ययन अगाडि बढाउँछु।’
वर्षाको काठमाडौँ फर्कने दिन आइसकेको थियो। हामी दुई जनालाई नै छुट्टिन गाह्रो भएको थियो। मेरो आँखाको डिलबाट आँसु टलपल—टलपल भएको थियो।
ऋतु काठमाडौँ फर्किए पछिका दिन मेरो लागि अनौठोपूर्ण भयो, मलाई सबैले सातो गयो क्या हो यो वर्षाको भन्नुहुन्थ्यो।
जेठ महिनाको अन्तिममा हाम्रो परीक्षाफल प्रकाशित भयो। मेरो ३.८७ जिपिए आयो भने ऋतुको ३.५५ जिपिए आएछ। मेरो बाबाको चाहना पनि छोरीको उच्चशिक्षाको अध्ययन राम्रो होस् भन्ने थियो। त्यसैले मलाई काठमाडौँ आउन त्यति जोर बल गर्नु परेन।’
जब म यो कथा पढ्दै थिएँ, मलाई कतै पनि यो कथा जस्तो लागिरहेको थिएन। न कुनै शीर्षक थियो यो कथाको न कुनै रोचक पक्ष, मात्र एउटा लेख। अल्छी लागेर टेबलको एउटा कुनामा थन्काएको दुई दिन मात्र भएको थियो फेरि एउटा फाइल आयो। अब चाहिँ कथा अगाडि बढ्ला जस्तो छ।
‘ऋतुको घर धुम्बाराहीमा थियो र म गौशाला नजिकै एउटा होस्टेलमा बसेर अध्ययन गर्न थालेँ। हाम्रो ग्लोबल कलेज मध्य बानेश्वरमा थियो, दुवै जनाको पायक पर्ने। मेरो होस्टेलमा रुम लिएको भन्नु मात्र थियो, प्रायः जसो म ऋतुको घरमा नै हुने गर्थेँ कलेजको कक्षापछि पनि। अनि भेट भएन भने पनि घन्टौँ म्यासेन्जरमा कुरा गर्थ्यौँ, सानादेखि साना कुरा पनि सेयर हुन्थ्यो हामीबिच।
हामी दुवै जनाको पढाइ राम्रोसँग चल्दै गएको थियो। एक दिनको कुरा हो, ऋतुलाई सिनियर क्लासको केटाको प्रेम प्रस्ताव आएछ। त्यो केटालाई हामीले आजसम्म राम्रोसँग देखेको पनि थिएनौँ र एक चोटि बोलेको सम्म पनि थिएनौँ। ऋतु रोइरहेकी थिई।
मैले सोधेँ, किन रोएकी भनेर। ऋतुले मोबाइलमा आएको म्यासेज देखाई। त्यो दिन मलाई एकदमै रिस उठ्यो, हाम्रो क्लासपछि पुरानो बानेश्वर चोकमा त्यो केटालाई मैले यस्तो थर्काएँ कि ऊ दुई हप्तासम्म कलेजतिर देखिएन।
ऋतु र म मेरो होस्टेलमा थियौँ, कम्बाइन स्टडीको लागि। मेरो फोनमा रिङ बज्यो। मेरो माइजूको फोन आएको थियो। माइजूको फोन आइरहन्थ्यो प्रायः जसो, विभिन्न देश-विदेशको केटाहरूको विवाहको प्रस्ताव लिएर। खै कुन किसिमको पुण्य कमाउन चाहनु हुन्थ्यो थाहा पाइनँ किनकि मेरो पढाइ वा स्वास्थ्यको बारेमा कहिले सोधखोज गर्नुहुन्न थ्यो।
यसपालि चाहिँ अमेरिकाको सिटिजन भएको केटाको विवाहको प्रस्ताव गर्दै हुनुहुन्थ्यो। फोन स्पिकरमा थियो, हामीबिच कुराकानी हुँदै थियो, ऋतु केही नभनीकन निस्की। माइजूले मेरो उमेरको हिसाब गर्न बिर्सनु भएजस्तो लाग्यो, माइजूलाई पनि अब आइन्दा मलाई यस्तो किसिमको प्रस्ताव लिएर फोन नगर्नू भनिदिएँ।
ऋतु केही बेरमा फर्किली भनेर कुरिरहेँ। अहँ! आइन। फोन गरेँ, फोन पनि काटिदिई। टेक्स्ट पठाएँ, माइजूलाई दिएको इन्कारी बारेमा र अबदेखि विवाहको कुरा लिएर फोन नगर्नु भनेर। बल्ल हाँसेको इमोजी पठाई ऋतुले।
एवं रितले दिनहरू बित्दै गए। हामीहरू दुवै जनाले राम्रो मार्क्सले +२ पास गर्यौँ। हामी दुवै जनाको प्लान थियो, अबको अगाडिको अध्ययन अस्ट्रेलियामा गएर गर्ने। त्यस कारण हामी दुवै जना पुतलीसडकमा आइइएलटिएस क्लास लिन थाल्यौँ।
केही महिनापछि आइइएलटिएसको रिजल्टमा म पास भएँ भने ऋतुको लिसिनिङमा बिग्रियो। ऋतुले फेरि पढेर ट्राई गर्ने भन्ने हिम्मत देखाई भने मलाई आफ्नै परीक्षा बिग्रेको जस्तो दिक्क लागेको थियो।
हामी दुवै जनाको सपना थियो सँगै अस्ट्रेलिया जाने, सँगै बस्ने। त्यो पूरा नहुने भयो केही महिनाको लागि। ऋतुसँग छुट्टिन सजिलो थिएन तर पनि जानु नै पर्यो एक्लै। बाबाले धेरै फकाउनु भयो ‘एक्लै नजा छोरी विवाह गरेर जा सजिलो हुन्छ’ भनेर, मैले मानिनँ। माइजूले डिपेन्डेन्टमा लग्नको लागि केटा नै ठिक पारिदिनु भएको थियो, त्यो पनि मानिनँ।
एयरपोर्टमा मलाई बिदाइ गर्न ऋतु र मेरो आमा मात्र आउनु भएको थियो। बाबाको आउन मिलेन भन्नुभयो। मलाई गरेको प्रस्ताव अस्वीकार गरेकोले रिसाउनु भएको जस्तो लाग्यो। बिदाइमा आमाभन्दा धेरै ऋतु रोई, मैले पनि आफूलाई रोक्न सकिनँ, रोयौँ दुवै जना आलिङ्गनमा बेरिएर।
म अस्ट्रेलियाको सिड्नीमा आएपछि सुरुमा अलिअलि अलमलिएँ। तर पछि त सबै ठिक हुँदै गयो। पढाइसँगै काम पनि पाएँ, सबै कुरा सोचेभन्दा राम्रो भयो। तर ऋतुलाई धेरै मिस गर्थेँ म। फुर्सद भयो कि हामी घन्टौँ भिडिओ कलमा एक—अर्काका दिनचर्याको नालीबेली सुन्थ्यौँ सुनाउँथ्यौँ।
ऋतुले फेरि आइइएलटिएसको क्लास ज्वाइन गरेकी थिई र परीक्षाको डेट पनि लिइसकेकी थिई। म उसलाई खुसी बनाउन कुनै कुरा बाँकी राख्दैन थिएँ। म यताबाट कोही नेपाल जाने भेटिए भने चकलेट, कपडा, ब्यागहरू पठाउँथेँ। मलाई मन परेको कुनै फिल्म, गीत छ भने ऋतुलाई हेर्नु भन्थेँ र ऋतुले कहिले यो हेर्नु भनेर लिस्ट पठाउँथी।
एक दिनको कुरा हो, मेरो छुट्टी थियो। म्यासेन्जरमा कल आयो ऋतुको। ह्यापिएस्ट सिजन (२०२०) भन्ने राम्रो रेटिङ भएको अङ्ग्रेजी फिल्म हेर न भनी। म फुर्सदमै थिएँ, हुन्छ भनिदिएँ अनि हेर्न लागेँ। फिल्म राम्रो रहेछ, म्यासेन्जरमा टेक्स्ट पठाएँ। प्लिज कम सुन्।
ऋतु पनि आउने भई सिड्नी। जे सोचेको त्यो पूरा हुने भयो। सन २०२२ जुलाई २ को दिन ऋतुलाई लिन म एयरपोर्टमा फूलको गुच्छा लिएर गएँ, मेरो मुटुको टुक्रा जो आउँदै थिई। हामी फेरि एक हुँदै थियौँ। धेरै सपना पूरा भएको थियो, धेरै बाँकी थियो। खुसीयालीपूर्ण दिन, हप्ता, महिनाहरू बितिरहेका थिएँ।
मैले घर-परिवार छाडेर बसेको धेरै भएकोले परिवारबाट धेरै दिन टाढा हुँदा कस्तो हुन्छ थाहा थियो। तर ऋतुले कहिल्यै त्यस्तो भोगेकी थिइन। त्यही कारण कहिलेकाहीँ बाबा-आमालाई सम्झेर रोइदिन्थी अनायासै। मलाई फकाउन हम्मे—हम्मे नै पर्दथ्यो।
कलेजको दुई हप्ताको बिदा भयो। मैले कतै टाढा घुम्न जाने प्लान बनाएर सुनाएँ तर ऊ फेरि पनि नेपाल र परिवार सम्झिएर झोक्राएर बसेकी थिई। ऋतुको यहाँ म बाहेक कोही पनि त थिएन, जसरी पनि खुसी बनाउनु थियो। भनेँ- यसपालि दसैँमा हामी नेपाल जाने।
धेरैपछि बादल हटेर चन्द्रमा जस्तो उनको मुहार देखेँ।’
कथा पढे पनि लेख्ने जाँगर चलेको थिएन। यत्तिकैमा दसैँ पनि नजिकिई सकेको थियो। मैले पढाइरहेको इन्स्टिच्युटमा दसैँ र तिहारका लागि लामो छुट्टी भएको थियो। त्यही बिचमा हाम्रो परिवारबिच सल्लाह भयो, पाथीभरा माताको दर्शन गर्न जाने। म पनि राजी भएँ, काठमाडौँबाट प्लेनमा भद्रपुर अनि त्यहाँबाट स्कोरपियोमा ताप्लेजुङ, ताप्लेजुङबाट त्यता चल्ने फोरह्विल गाडी चढेर सानोफेदी (कालोपाटी) सम्म पुगियो।
मौसम सफा नै थियो, हामी सबै लाग्यौँ उकालोतर्फ बिस्तारै बिस्तारै। मेरो बानी चाहिँ हिँड्दा खेरी नरोकिईकन हिँड्ने छ, रोकिएर बसेँ भने अल्छी लाग्छ। त्यसैले अरूभन्दा अगाडि नै भएर हिँडिरहेँ। करिब डेढ घण्टाको हिँडाइपछि ठुलोफेदी आइपुगेँ म तर एक्कासि सिमसिम पानी पर्न लाग्यो।
मैले एक जनालाई सोधेँ, ‘दाइ, के हो माथिसम्म पुग्न सकिन्न कि क्या हो? पानी पो छिटायो त?’
‘भाइ, अचेल यस्तै भइरहेको छ। धेरै बेर त पर्दैन होला, एकछिन ओत लागेर बस्नु न,’ दाइले कानमा आधी पारेर राखेको चुरोटको ठुटो सल्काउँदै भन्नुभयो।
मैले पनि सोचेँ, एकछिन बसेर चिया पिउँदै गर्नु पर्ला। एउटा टेक्ने लौरो पनि थियो सानोफेदीमा पूजाको सामाग्री किनेको साहुनीले दिनु भएको, लौरो बिसाएर पसलको दिदीलाई भनेँ, ‘कालो चिया बन्छ होला?’
‘बन्छ बाबु, एकछिन बस्दै गर्नु ल!’
कुर्सीमा बसेको मात्र थिएँ पानी पर्न रोकियो, ती दाइले भनेको हो नै रहेछ।
चिया कुर्दै म उकालोबाट माताको दर्शन गरेर फर्कने तीर्थालुहरूको उज्यालो मुहार हेर्दे थिएँ, दुई जना केटीहरू हात समातेर तलतिर झरे। मैले एकै नजरमा चिनेँ, वर्षा नै रहिछ, साथमा थिई ऋतु। ऋतुको श्रृंगारपटार र हाउभाउ नयाँ दुलहीको जस्तो थियो। न तिनीहरूलाई रोकाएर केही बोल्न सकेँ न तिनीहरूको अगाडि पर्न नै सकेँ।
दिमागमा बत्ती बले जस्तो भयो। ऋतुले वर्षालाई जुन फिल्म हेर्नु भनेकी थिई, त्यो नाम खोजेर गुगलमा सर्च गरेँ। मैले सोचेको सही रहेछ। वर्षाले मलाई लेख्न दिएको कथा मैले सोचेको जस्तो होइन रहेछ! आफैसँग हाँस उठ्यो। मनमनै हाँसेँ। उत्तर—पूर्वतिर कञ्चनजंघा सेतै दाँत देखाएर मलाई गिज्याएझैँ लाग्यो।
पाथीभरा माताकी जय!
यिनीहरूको कथा पनि वैकुण्ठमा गएँ।