नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरूका लागि नयाँ सुरक्षा निर्देशन जारी गरेको छ।
बुधबार अल्टिच्युड एयरको ‘नाइनएन–एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भएसँगै प्राधिकरणले हेलिकप्टर कम्पनीहरूलाई नयाँ सुरक्षा निर्देशन जारी गरेको हो।
प्राधिकरणले एयर डाइनेष्टी, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर, फिष्टेल एयर, हेली एभरेष्ट, कैलाश हेलिकप्टर, मनाङ एयर, माउन्टेन हेलिकप्टर, मुस्ताङ हेलिकप्टर, प्रभु हेलिकप्टर र सिम्रिक एयरलगायत कम्पनीहरूलाई हिउँ र कुहिरोका अवस्थामा विशेष सावधानी अपनाउन निर्देशन दिएको हो।
निर्देशनअनुसार व्यावसायिक उडानहरू हिउँले ढाकिएको (ह्वाइटआउट) वा बाक्लो कुहिरो परेको अवस्थामा उडान गर्न पाइँदैन।
त्यस्तै हिउँमा हेलिकप्टर अवतरण गर्न सजिलो होस् भनेर स्किडमा ‘बेयर पोज’ अनिवार्य रूपमा जडान गर्नुपर्ने छ।
उच्च स्थानमा हुने उडानका लागि ‘मार्सलर’ राखेर उडान र अवतरण गराउन समेत  प्राधिकरणले भनेको छ।
हेलिप्याडमा उडान र अवतरण गर्नु अगाडि हिँउ तथा अन्य वस्तु सफा गरेर मात्र सञ्चालन गर्नुपर्नेछ।
प्राधिकरणले यी निर्देशनहरू तत्काल कार्यान्वयनमा ल्याउन सबै कम्पनीलाई आग्रह गरेको छ।