दसैं नजिकएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले दैनिक करिब ८ हजार यात्रुले काठमाडौं छाडिरहेका छन्।
विमानस्थलका महाप्रबन्ध हंशराज पाण्डेका अनुसार अहिले बुद्ध, यती र श्री एयरलाइन्सले दैनिक एक सय ४० वटा उडान गरिरहेका छन्। जसकारण यसपालि हवाई यात्राका लागि यात्रुले टिकटको समस्या भोग्नु नपर्ने उनी बताउँछन्।
‘सामान्य दिनमा दैनिक ४ देखि ५ हजार यात्रु काठमाडौंबाट विभिन्न गन्तव्यका लागि उड्थे भने अहिले त्यो संख्या करिब ८ हजारमा पुगेको छ,’ उनले भने, ‘यो संख्या असोज १ गतेदेखि नै बढेको हो।’
गत भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् सरकारले विद्यालयबन्द गरेसँगै सोही बेलादेखि नै यात्रु गन्तव्यका लागि निस्किन थालेका हुन्। यसले दसैंकै लागि भनेर टिकट काटेर बस्ने यात्रुको चाप घटाएको वायुसेवा कम्पनीहरू बताउँछन्।
यद्यपी केही गन्तव्यका लागि भने टिकट सकिएको छ।
तुम्लिङटार, सिमरा र भरतपुरका लागि टिकट सकिएको बुद्धका सूचना अधिकारी दिपेन्द्र कर्णले बताए। उनकाअनुसार तुम्लिङटारको टिकट केही दिनअघि नै सकिएको हो। तुम्लिङटारमा बुद्ध एयरले दैनिक एउटा उडान गर्दै आइरहेको छ।
त्यस्तै भरतपुरमा पनि अहिले टिकट अभाव रहेको उनले बताए। बुद्धले काठमाडौं-भरतपुर दैनिक ७ वटा उडान गरिरहेको छ। ‘अन्य समयमा पनि यो गन्तव्यमा यात्रु अकुपेन्सी राम्रो हुन्थ्यो,’ उनले भने, ‘दसैंका लागि त झन लगभग टिकट सकिएको छ।’
सिमरामा पनि अहिले टिकटको अभाव छ।
यीबाहेक अन्य गन्तव्यका लागि भने अहिले पनि टिकट बुकिङ गर्न सकिन्छ। आफुले चाहेकै समयमा टिकट नपाएपनि समय हेरफेर गरेर लिन सकिन्छ।