सरकारले आज (भदौ १६) बाट लागू हुने गरी हिमाल आरोहणको दस्तुर बढाएको छ।
सरकारले गत मंसिरमा स्वीकृत गरेको पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मा शुल्कको नयाँ व्यवस्था गरेको हो।
यससँगै आरोहण दस्तुर बढाइएको पर्यटन विभागले जनाएको छ। विभागका महानिर्देशक नारायण रेग्मीका अनुसार अघिल्लो सिजनमा नै दस्तुर बढे पनि लागू भने यो सिजन (सेप्टेम्बर) बाट भएको हो।
‘हिमाल आरोहणको दस्तुर १० वर्षदेखि पुनरावलोकन भएको थिएन। त्यसैले यसलाई समसामयिक बनाइएको हो,’ महानिर्देशक रेग्मीले भने, ‘आरोहणलाई व्यवस्थित बनाउनका लागि पनि समय समयमा दस्तुर पुनरावलोकन गर्न जरूरी पनि छ।’
अब सगरमाथा आरोहणमा जाने पर्यटकका लागि १५ हजार डलर पुर्याएको छ। यसअघि यो हिमाल चढ्न प्रतिपर्यटक ११ हजार डलर थियो।
१० वर्षमा चार हजार डलर बढ्नु ठूलो विषय नरहेको महानिर्देशक रेग्मी बताउँछन्।
दस्तुरसँगै नियमावलीमा हिमालको सफाइ र अन्य विषयलाई पनि प्राथमिकतामा राखिएको उनले बताए।
‘कामदारका लागि बीमा सुरक्षाको व्यवस्था छ भने सम्पर्क अधिकृतलाई थप जिम्मेवार बनाइएको छ, उनले भने, ‘हिमाललाई सफा र दिगो विकासलाई लक्षित गरेर संशोधनका व्यवस्था गरिएको छ।’
त्यस्तै, पर्यटकको उद्धारका लागि बीमाको व्यवस्था र पर्वतारोहणमा जाने कामदारको ज्याला पनि बढेको छ।
यीमध्ये आरोहण दस्तुर भने सेप्टेम्बरबाट लागू भएको हो। अन्य विषय अघिल्लो सिजनबाटै लागू भएको उनी बताउँछन्।
पर्यटकका लागि सिजन मानिने सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा विशेषगरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँछन्।
यी सबै गन्तव्यका लागि यतिबेला पर्यटकहरूले अग्रिम बुकिङ थालिसकेका छन्। सिजन सुरू भएसँगै अहिले मनास्लु, आमादब्लम लगायतका हिमाल चढ्नका लागि आरोहीले धमाधम अनुमति लिइरहेका छन्।
कुन हिमाल चढ्न कति लाग्छ शुल्क?
सेप्टेम्बरबाट सगरमाथा आरोहणका लागि १५ हजार डलर तिर्नु पर्नेछ।
सगरमाथामा वसन्त ऋतुमा आरोहण गर्न यसअघि ११ हजार अमेरिकी डलर (१५ लाख ३२ हजार आठ सय १८ रूपैयाँ) प्रतिव्यक्ति थियो।
अब आरोहण गर्दा १५ हजार डलर (२१ लाख १२ हजार तीन सय रूपैयाँ) प्रतिव्यक्ति पुर्याइएको छ।
सगरमाथाको अन्य रूटको मूल्य भने वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा पाँच हजार र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय पुर्याइएको छ।
यसैगरी शरद ऋतुको मूल्य ७ हजार ५ सय डलर र शिशिर तथा वर्षा ऋतुको मूल्य तीन हजार ७ सय ५० डलर पुर्याइएको छ। यो मूल्य सगरमाथाको (दक्षिणपूर्वी धार) नर्मल रूटका लागि हो।
सगरमाथाको अन्य रूटको मूल्य भने वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा ५ हजार र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय पुर्याइएको छ।
नयाँ मूल्य अनुसार सगरमाथा बाहेक ८ हजारभन्दा बढी उचाइका अन्य हिमाल आरोहण गर्न वसन्त ऋतुमा ३ हजार डलर तोकिएको छ।
अन्य दुई सिजनको एक हजार पाँच सय डलर र सात सय ५० डलर पुर्याइएको छ।
त्यस्तै मनास्लु आरोहण गर्न वसन्त ऋतुमा एक हजार पाँच सय डलर र अन्य दुई सिजनमा तीन हजार र एक हजार पाँच सय डलर पुर्याइएको छ।
सात हजार पाँच सय एक मिटरदेखि आठ हजार मिटरसम्मका हिमाल चढ्न १ हजार डलर र अन्य दुई सिजनमा २ सय ५० डलर पुर्याइएको छ।
आमादब्लम हिमाल चढ्न वसन्त र शरदमा एकरएक हजार डलर र अन्य सिजनमा ५ सय डलर तिर्नुपर्ने भएको छ।
६ सय मिटरभन्दा साना हिमालमा भने तीन सय ५०, एक सय ७५ डलर समान शुल्क तोकिएको छ।
यस्तै नेपाली पर्वतारोही दलले सो दलमा संलग्न प्रत्येक सदस्यका लागि तिर्नुपर्ने शुल्क पनि बढेको छ।