भैरहवाका उद्योगी व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन नगरे चुनाव नै बहिष्कार गर्ने चेतावनी दिएका छन्।
विमानस्थल निर्माण सम्पन्न भएको साढे तीन वर्ष भइसक्दा पनि नियमित संचालनमा नआएको भन्दै रूपन्देही-३ मा हुन लागेको निर्वाचनलाई स्थानीय जनप्रतिनिधि र व्यवसायीहरूले बहिष्कार गर्ने चेतावनी दिएका हुन्। उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
आइतबार सिद्धार्थनगर नगरपालिकाले स्थानीय व्यवसायीहरूसँग छलफल गरेको छ। सत्तामा दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले हुँदा पनि विमानस्थल संचालनमा ध्यान नदिएको व्यवसायीहरूले गुनासो गरेका हुन्।
मेयर इश्तियाक अहमद खाँले नगरपालिकाकै नेतृत्वमा आन्दोलन गर्न तयार रहेको बताए।
‘अर्बौं लगानी गरेर विमानस्थल निर्माण गरिएपनि संचालनका लागि आवश्यक कार्यालय खुलेका छैनन्, सरकारले हाम्रो कुरा केही गरे पनि सुनेन,’ उनले भने, ‘यदि यो विमानस्थल अझै पनि संचालन हुँदैन भने उपनिर्वाचन बहिष्कार गरेर जानुपर्छ।’
उनले यसका लागि आफू क्षेत्रका सबै जनताका घरघरमा पुग्न तयार रहेको बताए।
‘म नेतृत्व गरेर सबै वडाका नागरिकका घरमा पुगेर बुझाउँछु, हामीले विमानस्थल नचल्दासम्म निर्वाचन बहिष्कार गरौं,’ उनले भने, ‘निजी क्षेत्र डुब्यो, सरकार सुन्दैन। यही रूपन्देहीका अर्थमन्त्री विष्णुप्रसाद पौडेल हुनुहुन्छ, पूर्वगृहमन्त्री बालकृष्ण खाँण हुनुहुन्छ, उहाँहरूलाई विमानस्थलबारे चिन्ता छ। तर काम हुन सकेको छैन। यसैले आन्दोलन नै गरेर कडा कदम चाल्नुपर्ने देखिन्छ।’
उपप्रमुख उमा अधिकारीले उननिर्वाचन नजिकिँदै जाँदा सबै दलका ठूला नेता रूपन्देही आउने भएकाले पहिलो चरणमा ती नेताहरूलाई भेटेर छलफल गरी दवाव सिर्जना गर्नुपर्ने बताइन्।
‘भन्सार र एयरपोर्ट बन्द गरेर आन्दोलन गर्ने होइन्,’ उनले भनिन्, ‘अन्य माध्यमबाट दबाब दिऔं तर जसरी हुन्छ विमानस्थल चल्नुपर्छ।’
पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले सबैभन्दा पहिला विमानस्थल चलाउन आवश्यक कार्यालय खोलिनुपर्ने बताए।
‘उपचुनावलाई क्याच गर्नुपर्छ। ठुला नेतालाई झकझकाउनुपर्छ,’ उनले भने, ‘हुँदै नभए हामीले निर्वाचन बहिष्कार गरेर पनि जानुपर्छ। यसका लागि म सहमत छु। सबै सहमत हुनुपर्छ।’
उनले सबै संघसंस्था र राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। शर्माले विमानस्थल संचालनमा दवाव दिन सिद्धार्थनगरका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पनि बेवास्ता गरेको बताए।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा गौतमबुद्ध विमानस्थलको विषयलाई पहिलो एजेण्डा बनाएर लैजानुपर्ने बताए।
‘यसका लागि हामीले प्रधानमन्त्रीलाई यो कुरा भन्नुपर्छ, आवश्यक परे दबाब दिनुपर्छ,’ उनले भने, ‘केही सीप नलागे आन्दोलन र चुनाव बहिष्कारका कुरा छँदैछन्।’
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल उद्योगी व्यवसायीको लगानी र यहाँका जनताको भविष्यसँग जोडिएको भन्दै अब आन्दोलनको विकल्प नभएको बताए।
‘हामीले मुख्यमन्त्री, विभागीय मन्त्री, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेका छौं,’ उनले भने, ‘जति पहल गरे पनि सरकारले सुनेन अब निर्णायक आन्दोलन गर्नुपर्छ।’
उनले उपनिर्वाचनको लागि अहिले सबै पार्टीका नेताहरू भैरहवा आइरहेपनि विमानस्थलका बारेमा कोहि केहि नबोलेको बताए।
उद्योग व्यापार संगठन (च्याम्बर अफ कमर्श), रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले सरकारकै इच्छाशक्ति नहुँदा विमानस्थल नियमित संचालनमा नआएको बताए।
‘इच्छाशक्ति हुन्थ्यो भने तीन वर्ष अघि घोषणा गरेका भिसा सेन्टर, बिमा कम्पनी, स्वास्थ्य संस्था, म्यानपावर एजेन्सी यहाँ खुल्थे,’ उनले भने।
सिद्धार्थ संजाल रूपन्देहीका अध्यक्ष अनलिकुमार ज्ञवालीले अब बेलहिया नाका र विमानस्थल बन्द गरेर आन्दोलन गर्नुपर्ने बताए।
छलफलपछि गौतमबुद्ध विमानस्थल नियमित संचालनमा दबाब दिन सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ।
छलफलमा सहभागी निजी क्षेत्र र सरोकारवालाले अब संघर्ष गरेर जानुपर्ने निचोड निकालेपछि संघर्ष समिति गठन गरिएको नगरप्रमुख खाँले बताए।
भैरहवामा गठन भएका उद्योग, व्यापार, होटल, पर्यटन लगायतका संघसंस्थाका प्रतिनिधिहरू समितिमा छन्। समितिले विमानस्थल संचालनमा देखिएका समस्यासँगै समाधानका उपाय र संघर्षका कार्यक्रमबारे एक हप्ताभित्र खाका तयार पार्ने छ।
खाका तयार पारेपछि आन्दोलनका कार्यक्रम घोषणा गर्ने, सबै पार्टीका जिल्लादेखि केन्द्रसम्मका नेताहरूलाई भेट गरी ध्यानाकर्षण गराउने र विमानस्थल नियमित संचालनमा नआउँदासम्म निरन्तर दबाबका कार्यक्रम गर्ने नगर प्रमुख खाँले बताए।