देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका एक सय ६३ जना विदेशी पर्यटकहरूको उद्धार गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उद्धार गरिएको हो।
सेलले नेपालस्थित विदेशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकहरुको उद्धार गरीरहको छ। पर्यटक प्रहरी र सेल आफ्नैको हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरू गरिएको छ।
सेलले वेभसाइटमार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लागायतका जानकारी उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
यसै क्रममा बाढी पहिरोमा हराइ रहेको भनिएका सिंगापुरका पर्यटक यापसी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला परिएको छ।
त्यस्तै, रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटको पनि उद्धार गरिएको छ।
आइतबारबाटै मनसुनी वर्षाको प्रभाव कम भएसँगै जनजीवन केही सहज भएको र पर्यटन क्षेत्रपनि केही सहज हुँदै गएको छ।