शुक्रबारदेखि परेको वर्षातको कारण अन्तर्राष्ट्रिय हवाई उडानमा छुटेका यात्रुहरूले निःशुल्क टिकट सार्न पाउने भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार (असोज ११ गते)देखि आगामी असोज २५ गतेसम्म (१५ दिनको) लागि सबै अन्तर्राष्ट्रिय वायुसेवालाई यात्रुको सहजता हुने गरी सेवा दिन निर्देशन दिएको छ।
प्राधिरकणको निर्देशनपछि अब असोज ११ देखि टिकट लिएका र समयमै उडान गर्न नपाएका यात्रुले १५ दिनभित्र निःशुल्क समय परिवर्तन गर्न पाउने भएका छन्।
प्राधिकरणले यात्रुको सहजताका लागि १५ दिनको निम्ति समय परिवर्तन शुल्क (डेट चेन्ज चार्ज)नलिन सम्बन्धित सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई परिपत्र जारी गरेको छ।
यो अवधिको लागि यात्रुले अतिरिक्त शुल्क तिर्नु पर्दैन।
प्राधिकरणको निर्देशनपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले छुट दिने गरी सूचना जारी गरिसकेका छन्।