नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण भोलि (बिहीबार)देखि काठमाडौंमा सुरू हुने होटल संघ नेपालले जनाएको छ।
नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनको उद्देश्यले आयोजना गर्न लागिएको यो राष्ट्रियस्तरको सम्मेलन यही असोज ११ गतेसम्म काठमाडौंको बुढानीलकण्ठस्थित लेमोन ट्रि प्रिमियर होटलमा हुँदैछ।
उक्त सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय होटलहरूको नेतृत्ववर्ग, सेवाप्रदायक हुनेछन्।
साथै, यस क्षेत्रसँग सम्बन्धित करिब दुई सय जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरूलाई एकै छानामुनी ल्याउने पनि संघले जनाएको छ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा आतिथ्यता क्षेत्रसँग सम्बन्धित नेपालमा होटलहरूको वर्तमान अवस्था, समस्या एवं चुनौतीहरू, नयाँ चालचलन एवं अभ्यासहरू, नवप्रवर्तन, सहकार्य, आइटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारी लगायतका विषयहरूमा छलफल हुनेछ।
होटल संघ नेपालसँगको सहकार्यमा बिनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको संयुक्त रूपमा हस्पिटालिटी कन्क्लेभ आयोजना हुन लागेको हो।
दुई दिने कार्यक्रमबाट उठेका विषयवस्तु स्वेतपत्र बनाई सरकारी तथा सम्बन्धित निकायमा बुझाउने संघले जनाएको छ।