नेपालमा पहिलो पटक 'इन्टरनेसनल बलुन फेस्टिबल' आयोजना हुने भएको छ।
बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव हुन लागेको हो।
महोत्सव पोखराको लौरूकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ। नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरूको सहभागिता रहने छ। पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए।
'पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास थप आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढाउन महोत्सव आयोजना गर्न लागिएको हो,' अध्यक्ष बाडेले भने, 'यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरेका छौं।'
फेस्टिबलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने अपेक्षा गरेको उनले बताए। कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिबल प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकोमा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिवद्धता व्यक्त गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गरे। 'एयर स्पोर्टस् एड्भेञ्चर सबै पोखराबाटै सुरू भएका छन्। हामीले जुनसुकै क्षेत्रमा आबद्ध भएर काम गरे पनि ती सबै राष्ट्रिय हितकै लागि भएका छन्। तसर्थ पोखरामा आयोजना हुन लागेको 'इन्टरनेसनल बलुन फेस्टिबल'ले पनि नेपालको समग्र पर्यटन प्रवर्द्धन नै टेवा पुर्याउनेछ,' भुलले भने।
कम्पनीका निर्देशक बिबि ढकालले महोत्सवमार्फत पोखराको पर्यटनमा नयाँ आयाम थपिने बताए।
प्राकृतिक स्रोत र साधनले धनी पोखरा पछिल्लो समय साहसिक पर्यटनका लागि पनि गन्तव्य बन्दै गइरहेको छ। यस सन्दर्भमा बलुन महोत्सवले पोखरालाई साहसिक पर्यटकीय गन्तव्य बनाउने योजनामा थप सहयोगी हुने विश्वास व्यक्त गरे।
कार्यक्रमले पोखरामा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने बताउँदै बेलुन नेपालका प्रबन्ध निर्देशक सबिन महर्जनले बताए।
विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेसन बलुन फियस्ता सुरू भएको थियो।
प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब पाँचसय वटा हट एयर बलुनले उडान गर्छन्। उक्त महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन्। सन् १९७९ मा इङ्ग्ल्याण्डको ब्रिस्टोलमा स्थापना भएको बलुन फेस्टिबलल पनि विश्वभर प्रख्यात छ।
त्यसबाहेक जापानमा सागा इन्टरनेसनल बलुन फियस्ता, फ्रानसमा मोन्डायल एयर बलुन्स इभेन्ट, टर्कीमा क्यापाडोसिया इन्टरनेसनल बलुन फेस्टिबल विश्वका प्रमुख बलुन महोत्सवमा पर्छन्।
आयोजकका अनुसार फेस्टिबल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरूले हट एयर बेलुनको उडान गर्ने छन्। एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुने छन्।
जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ। महोत्सवमा करिब तीन सय वटा गैर व्यावसायिक उडान हुनेछन्। फेस्टिबलका अवसरमा पोखरामा मिनी बलुन सो पनि हुनेछ। उक्त अवधिभर ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ।
फेस्टिबलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ। सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ। त्यसबाहेक फेस्टिबलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ।
फेस्टिबल आयोजना गर्नका लागि ६ करोड ८२ लाख ३० हजार रूपैयाँ खर्च हुने आयोजकको अनुमान छ।
हट एयर बलुनमा सामान्यत: ४० मिनेटको लामो उडान हुन्छ। उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरीलगायतका हिम श्रीङ्खलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ।
त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फुडकोर्ट, सांस्कृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ।
विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ। कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न 'इन्टरनेसनल बलुन फियस्ता, २०२४' मा सहभागिता जनाइसकेको छ।