संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले बुधबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।
बुधबार नाथमको रविभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वरस्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै उनले आगामी हिउँदे अधिवेशनबाट नाथम सम्बन्धी विधेयक संसदमा पेस गर्ने विश्वास व्यक्त गरे।
नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि प्रमाणित भएको बताए।
उनले नाथमले अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समेत सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिए।
नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले विश्वास दिलाए।