अपांगता भएका १२ जनासहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।
नेपालस्थित इजरायली राजदूतावासको समन्वयमा नेपाल आएको सो टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका हुन्।
सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ।
बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकप्टर मार्फत मनाङको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौं फर्कने तालिका छ।
अपांगता भएका पर्यटकहरूको आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपांगमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रवाह गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए।
'हामीले कतिपय स्थानमा अपांगता मैत्री ट्रेल निर्माण गरेका छौं। यस्तै अन्य स्थानमा पनि अपांगता मैत्री पूर्वाधार बनोस् भन्ने कुरामा जोड दिएका छौं,' उनले भने, 'जसले नेपाल शारीरिक रूपमा सशक्तका लागि मात्र नभई अपांगता भएकाहरूलाई समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्ने छ।'
विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपांगमैत्री गन्तव्य भएको उल्लेख गरे।
इजरायली राजदूतावासको समन्वयमा गत वर्ष पनि अपांगता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो।
सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।