भारतको उडान होटल एण्ड रिसोर्ट ग्रुपले झापाको पाँचतारे डिलक्स होटल मेची क्राउनको व्यवस्थापनको जिम्मा लिएको छ।
भारतको दार्जिलिङ, गान्तोक, सिक्किमस्थित लाचुङ, सिलीगुडी र कालिम्पोङ क्षेत्रमा होटल निर्माण तथा सञ्चालन गर्दै आएको उडान ग्रुपले मेची क्राउनको व्यवस्थापन सम्हालेको हो।
यसअघि आफ्नै व्यवस्थापनमा सञ्चालित यो होटल उडान ग्रुपले दुई वर्षसम्म व्यवस्थापन गर्ने गरी सम्झौता भएको सञ्चालक बलराम सापकोटाले जानकारी दिए।
'होटल सञ्चालमा हामीले चर्चित र ठूलो ग्रुपलाई भित्र्याएका छौं। उडान ग्रुपले सम्हालेसँगै होटलको बिजनेश अझ बढ्ने अपेक्षा छ,' उनले भने, 'भारतीय पर्यटकको आगमनमा वृद्धि हुने आशा लिएका छौं।'
होटल मेची क्राउन एक सय चार रोपनी क्षेत्रमा फैलिएको छ।
७० प्रतिशत जमिनमा हरियाली बगैंचा बनाइएको छ। होटलको मुख्य भवन चारतले छ। नौ वटा ब्लक छन्। फरक–फरक भवनमा पाँच वटा भिला, एउटा मुख्य होटल, कन्फरेन्स हल, स्पा, क्यासिनो लगायत छन्। प्याकेजअनुसार सुविधा दिइन्छ।
होटलमा दुई सय १५ वटा कोठा छन्। खानपिनका लागि तीन वटा रेस्टुरेन्ट छन्। स्विमिङ पुल, जिमहल, स्पा, पार्लर सुविधा पनि छ। होटलमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड बनाइएको छ। तीन हजार मान्छे अट्ने क्षमताको ब्यांकेट र तीन वटा सेमिनार हल छन्।
बिहे भोज तथा समारोह गर्न करिब दुई हजार मान्छे अटाउने सभाहल छ। यहाँ आउने सवारीका लागि पर्याप्त पार्किङ व्यवस्था रहेको छ।
नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएकाले बिहे, समारोह गर्न र स्वदेशी तथा विदेशी संस्थाका कार्यक्रमका लागि उपयुक्त हुने गरी होटलले पूर्वाधार तयार गरेको छ।