संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन्।
मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशन अगावै ऐनहरूलाई मूर्त रूप दिने काम हुने विश्वास व्यक्त गरे।
'हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ। हामीले पर्यटन, संस्कृति, हवाई उड्डयन, लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेका छौं,' मन्त्री पाण्डेले भने, 'संसदको हिउँदे अधिवेशन सुरू हुनु अगावै नीतिलाई अन्तिम रूप दिने छौं।'
मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आह्वान गरे।
उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरूरी रहेको समेत बताए।
फरक प्रसंगमा बोल्दै मन्त्री पाण्डेले मुलुकको स्थायित्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको बताए।
'नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन,' उनले भने, 'यो स्वभाविक पनि छैन। तर, स्थिर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौं।'
यो सरकार ०८४ सम्मै चल्छ। उनले मुलुकको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षीमा रहेका दल नेकपा माओवादी, राप्रपा लगायत मधेशवादी दलहरूसँग समेत सहकार्य गर्न सकिनेमा जोड दिए।