त्रिभुवन विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालिएको छ।
सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ मा पुगेपछि बुद्ध एयरको ३५१ जहाजबाट सबै यात्रु ओरालिएको हो।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको जानकारी दिए।
जहाज बिहान साढे ७ बजे उड्ने तालिका थियो। जहाज केही ढिला गरी बिहान ७:५० बजे उडानका लागि पार्किङस्थलबाट धावनमार्गतर्फ लागेको थियो।
प्राविधिक समस्या देखिएपछि ‘ट्याक्सी वे’ मा ओरालिएका यात्रुहरूलाई बुद्धकै अर्को जहाजमा पठाउन लागिएको प्रवक्ता शेर्पाले जानकारी दिए।
‘प्राविधिक समस्या देखिएको भनिएको जहाज प्राविधिकहरूले हेर्दै हुनुहुन्छ। ओरालिएका यात्रुहरूलाई अर्कै जहाजमा पठाउन लागिएको छ,’ प्रवक्ता शेर्पाले भने।
जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन्।
जहाज पार्किङबाट मुख्य धावनमार्गतर्फ छिर्ने बाटोलाई ट्याक्सी वे भनिन्छ। जहाज त्यहाँ रोकिएको हुनाले विमानस्थलमा उडान र अवतरणमा असर नगरेको प्रवक्ता शेर्पाले जानकारी दिए।