वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले आगामी चार वर्षभित्र गर्ने गरी मुख्य योजनाहरू सार्वजनिक गरेका छन्।
अध्यक्ष अधिकारीले अष्ट्रेलियाको सिड्नीमा सिधा उडान गर्ने, आन्तरिक उडानमा ९ वटा जहाज थपेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेदेखि अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी र वाइडबडी किन्नेसम्मका योजना सार्वजनिक गरेका हुन्।
योजना अनुसार आन्तरिकतर्फ ९ वटा तथा अन्तर्राष्ट्रियतर्फ ६ वटा गरी कुल १५ वटा जहाज खरिद गर्ने तयारी गरिएको छ।
निगमले आगामी चार वर्षभित्र पाँचवटा स्टल (सर्ट टेक अप ल्यान्डिङ), चारवटा सहरी क्षेत्रमा उडानका लागि, चारवटा न्यारोबडी र दुई वटा वाइडबडी गरी १५ वटा जहाज खरिद गर्ने योजना तयार गरेको हो।
साथै, पहिलो चरणमा तीन वटा स्टल (सर्ट टेक अप ल्यान्डिङ)जहाज खरिदको लागि आरफपी प्रकाशित भई हाल मूल्यांकनको प्रकियामा रहेको बताएका छन्।
अध्यक्ष अधिकारीले अगाडि सारेको यस्तो योजनामा निगमले अष्ट्रेलियाको सिड्नीमा नियमित उडान गर्ने अन्तिम तयारी गरिहेको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी विमान भाडामा लिने र आन्तरिकतर्फ सहरी क्षेमा उडानका लागि तीन वटा जहाज भाडामा लिने कार्यका लागि अध्ययन गर्न उपसमिति गठन भई अघि बढिसकेको बताएका छन्।
निगमले आन्तरिक तथा वाह्य उडानमा जहाज थप्नकै लागि सहुलियतपूर्ण ऋण लिने योजना अगाडि सारेको छ। यसका लागि १ खर्ब ३५ अर्ब रूपैयाँको लागि निगमले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव पेस गर्न आह्वान पनि गरेको छ।
त्यस्तै निगमले सिनामंगलमा व्यवसायिक भवनसहितको कर्पोरेट कार्यालय बनाउने, आफ्नै क्याटरिङ चलाउने आफ्नै ह्यांगर बनाउने, चिनियाँ र बोइङसहितका पुराना जहाजको व्यावस्थापन गर्नेसहितको योजना अगाडि सारेको छ।
निगमले अघि सारेको योजनामा हाल ग्राउन्डेड रहेका चिनियाँ जहाजहरूलाई अब के गर्ने भन्नेमा अन्योल देखिन्छ।
सरकारले विगतमा नै ती चिनियाँ जहाजहरू लिजमा दिने र लिजमा नगएमा बिक्री गर्ने निर्णय गरेको थियो।
पहिले लिज र पछि बिक्रीका लागि टेण्डर आह्वान गर्दा पनि कुनै पनि पार्टी नआएकोले अब ती जहाजलाई के गर्ने भन्ने अन्योल देखिएको छ। अध्यक्ष अधिकारीले हालका लागि कसरी यी जहाजको व्यवस्थापन गर्ने भनेर सञ्चालक समितिमा प्रस्ताव पेस गरेका छन्।
त्यस्तै, निगमले आइबेरियामा रहेको बोइङ जहाजको इन्जिन उचित मूल्यांकन गरेर बिक्री गर्ने, विमानस्थलमा थन्किएर बसेको एउटा बोइङ जहाज बिक्री गर्ने, सेल्फ फ्लाइट किनेच सञ्चालन गर्नेसम्मको योजना युवराज अधिकारी नेतृत्वको निगमले अगाडि बढाउने गरी महत्वकांक्षी योजना सार्वजनिक गरेको छ।
निगमले आफ्नो तथा अन्य वायुसेवाहरूका लागि पनि सुविधा प्रदान गर्ने गरी 'सेल्फ फ्लाइट किचेन' स्थापना तथा सञ्चालनको योजना अघि सारेको छ। यसबाट निगमलाई उल्लेख्य आयआर्जन हुने र थप रोजगारी सिर्जना हुने उक्त योजनामा उल्लेख छ।