नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंमा जारी उक्त अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औं कंग्रेसमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह र मञ्चका अध्यक्ष हे डन जुंगले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त समझदारीपत्रमा मञ्चका अध्यक्ष कोरियाली पत्रकार हे डन जुंगले नेपाली रैथाने परिकारको अन्तर्राष्ट्रिय सद्भावदूतको जिम्मेवारी बहन गरेका हुन्।
उक्त कंग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका वरिष्ठ खेलकुद पत्रकारहरूको सम्मानमा होटल संघ नेपालले आयोजना गरेको रात्रिभोजमा १० जना नेपाली माष्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो।
स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार, आयोजक होटल संघ नेपाल, पर्यटन सम्बन्ध संस्थाहरू, नेपाल खेलुकद पत्रकार मञ्चका पदाधिकारीहरूबीच खेलकुद लगायत पर्यटन प्रवर्द्धनका विविध विषयहरूमा भावी कार्य योजनाका बारेमा छलफल भएको थियो।