भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न सहरहरूबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन्।
भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा यस विषयमा छलफल गरेका हुन्।
भेटका क्रममा मन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको बताए।
साथै, भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न सहरबाट नेपाली सहरहरूमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरे।
उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रूपमा विकसित भइ रहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गराए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सिधा उडान गर्न भारतीय उड्डयन कम्पनीहरूलाई प्रोत्साहित गनुपर्ने विषयमा जोड दिए।
यसैबीच बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गरे।
सो क्रममा भारतीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले दुई देशबीचको प्रभावकारी आपसी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिए।
भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरूबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक सझादारी पत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जन सहित पुन: नवीकरण गर्ने विषयमा छलफल भएको छ।
दुई देशबीच रहेका नाट्य प्रतिष्ठान कला प्रतिष्ठान जस्ता निकायबीच सांस्कृतिक तथा प्राज्ञिक ज्ञान आदानप्रदान गर्ने जस्ता विषयमा पनि छलफल भएको छ।