संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रूपमा सञ्चालन गर्न छिमेकी मुलुकहरूको बलियो सहयोग आवश्यक रहेको बताएका छन्।
भारतको नयाँ दिल्लीमा बुधबारबाट सुरू भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलन उद्घाटन सत्रलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
साथै उनले आइकाओ तथा अन्य सदस्य मुलुकहरूलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न जोडदार रूपमा आग्रह गरेका छन्। त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताएका छन्।
'हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरू अहिलेसम्म सर्टिफाइ भइ सकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रूपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौं,' उनले भने, 'यसबाट पनि हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको प्रतिबद्धता स्पष्ट हुनेछ।'
मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकीहरूको सहयोगका लागि विशेष जोड दिँदै भने, 'यी दुई विमानस्थलको प्रभावकारी सञ्चालनका लागि छिमेकी देशहरूको बलियो सहयोगको अपेक्षा गरेको छ।'
नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (युएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गराए।
सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अंक हासिल गरेको बताए।
'नेपालले ग्लोबल एभिएसन सेफ्टी प्लानका मुख्य सिद्धान्तहरूलाई नेशनल सेफ्टी प्लानमा सफलतापूर्वक एकीकृत गराइ सकेको छ,' उनले भने।