नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) मा दीपकराज जोशी नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय कार्यकारी प्रमुख छनौट उपसमितिले गरेको सिफारिसको आधारमा बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
उक्त उपसमितिले अन्तिम १४ जना उम्मेदवारमध्येबाट जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो।
सञ्चालक समितिले तीन जनामध्ये जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
जोशीले यसअघि पनि बोर्डमा सिइओका रूपमा काम गरिसकेका छन्। उनलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरिएको हो।