संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ।
बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएका हुन्।
४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको नम्बर एक एयरलाइन्सको रूपमा रहेको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ।
'पर्यटकीय राजधानी पोखरा र गौतम बुद्धको जन्मस्थल भैरहवा उडान गर्ने कुरामा स्वागत गर्न चाहान्छु,' मन्त्री पाण्डेले भने, 'यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्ने छ। नियमित उडानले नेपाल र चीन दुबै मुलुकलाई फाइदा पुग्ने छ।'
मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिने समेत प्रष्ट पारे।
साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गरे।
त्यसैगरी द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत बताए।