ट्रेकिङ एजेन्सिज एसोसियसन अफ् नेपाल (टान) अध्यक्षमा नेकपा (माओवादी केन्द्रका उम्मेदवार सागर पाण्डे निर्वाचित भएका छन्।
पर्यटन व्यवसायी पाण्डेले सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)का साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन्।
टानको ४६ औं साधारण सभा सोमबारबाट सुरू भएको हो। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कांग्रेसको असन्तुष्ट खेमाले पाण्डेलाई सघाएको थियो।
पाण्डे निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै खुसी बाँड्ने अवसर मिलेको भन्दै प्रतिक्रिया जनाएका छन्।
‘शुभ प्रभात! बिहानै खुशीको खबर बाड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईंहरूको अथक मिहिनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दह्रो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु!,’ अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्।
अरू पदाधिकारी कोको भए निर्वाचित?
वरिस्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वित्तीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्।
त्यस्तै महासचिवमा सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन्। उनी पाण्डे समूहबाटै उम्मेदवार थिए।
सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले निर्वाचित भएका छन्।
सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा, महिला सदस्यमा पवित्रा तामाङ निर्वाचित भएका छन्। खुला सदस्यहरूमा छाप्ते लामा शेर्पा, राजु गुरूङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा, विनोदकुमार तामाङ निर्वाचित भएका छन्।