संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
सोमबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ४६ औं वार्षिक साधारण सभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए।
'मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ,' साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, 'पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ।'
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनु पर्नेमा जोड दिए। उनले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटकहरू भित्र्याउन सकिने बताए।
त्यस्तै नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको जानकारी दिए।
हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको बताए।