तारा एयरले भोलि (मंगलबार) देखि पोखरा–जोमसोम नियमित उडान गर्ने भएको छ।
प्रतिकूल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको नियमित उडान मंगलबारदेखि नियमित गर्न लागेको हो।
जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ।
हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्ने गरी तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै हुनेछ।
मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ।
यसैगरी, पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला–रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ।
सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि विभिन्न वायुसेवा कम्पनीहरूले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन्।
यो सिजनका लागि तारा एयरको २ वटा ट्विनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका राखेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन्।
रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको कम्पनीले जनाएको छ।
ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ।