न्यारोबडी जहाजको मर्मतमा कमजोरी गर्ने नेपाल वायुसेवा निगमका तीन जना इन्जिनियर निलम्बनमा परेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले म्यानुफ्याक्चर कम्पनीको सिफारिस बिनाका पाटपूर्जा प्रयोग गरेको र जहाज मर्मतमा कमजोरी गरेको भन्दै निगमका तीन जना इन्जिनियरलाई निलम्बन गरेको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार तीनै जना इन्जिनियरलाई अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको छ।
उनका अनुसार निगमको न्यारोबडी जहाज मर्मतमा गम्भीर कमजोरी भएको गुनासो आएपछि प्राधिकरणले गत मंगलबार निरीक्षण गरेको थियो।
उक्त जहाज मर्मत गर्दा म्यानुफ्याक्चरिङ कम्पनी बाहेकको पाटपूर्जा प्रयोग गरेको भेटिएको उनले बताए।
बुधबार जहाज ग्राउन्डेड गरिएको थियो।
बिहीबार प्राधिकरणकै इन्जिनियरहरूको रोहबरमा मर्मत गरेर 'ह्यान्डलिङ फ्लाइट' गरेको थियो। उक्त उडान सफल भएसँगै अहिले न्यारोबडी नियमित उडानमा छ।