संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौं पर्यटकहरू भित्र्याउन सकिने बताएका छन्।
मंगलबार अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
'सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ,' उनले भने, 'देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आँक्नु हुँदैन।'
मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए।
मन्त्री पाण्डेले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरू भित्र्याउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व भित्र्याउन सक्ने बताए।
उनले सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला? भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्र्रिय विमान कम्पनीहरूलाई विश्वास दिलाएका छन्।
मन्त्री पाण्डेले रूटका विषयमा सरकार चीन भारतसँग कुटनीतिक रूपमा अघि बढिसकेको समेत बताए।
छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरूको उपस्थिति रहेको थियो।