सरकारले काठमाडौंबाहिर रहेका दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ।
सहुलियत दिएर भए पनि पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउने तयारीमा सरकार जुटेको हो।
सरकारले यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने तयारी गरेको छ।
दुई विमानस्थल पूर्ण क्षमतामा चलाउने विकल्प र उपायबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिएर भए पनि पूर्ण क्षमतामा विमानस्थल सञ्चालन गर्ने निचोडमा सरकार पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रालयका मन्त्री तथा पदाधिकारीहरूबीच यस विषयमा कुराकानीसमेत भइसकेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा निश्चित समयका लागि सहुलियत दिन लागिएको जानकारी दिए।
‘जुन किसिमले विमानस्थल चल्नुपर्ने हो त्यसरी चल्न सकेन। विमानस्थल बनाउनको लागि लिएको ऋणको साँवाब्याज तिर्न पनि नसकिने हो कि भन्ने अवस्था सिर्जना भयो,’ मन्त्री पाण्डेले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने, ‘विमानस्थल सञ्चालनमा देखिएका कठिनाइ निराकरण गर्न प्रधानमन्त्रीको नेतृत्वमा अर्थ, परराष्ट्र, श्रम र उद्योग वाणिज्य मन्त्रालयका मन्त्रीसहित छलफल गरिएको छ।’
मन्त्री पाण्डेका अनुसार आगामी २०८३ भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ।
कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिने सेवा शुल्क आगामी २०८३ भदौसम्म नलिने योजना बनाएको उनले बताए।
पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको उनको भनाइ छ।
सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको उनले बताए।
इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनेको मन्त्री पाण्डेको भनाइ छ।
अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको मन्त्री पाण्डेले जानकारी दिए।
विमानस्थलमा क्वारेन्टाइन चेकजाँचका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले गर्नुपर्ने गरी कार्ययोजना मन्त्रिपरिषदमा पेस भएको उनको भनाइ छ।
सरकारले विमानस्थलमा दिने सहुलियतले विमानस्थल सुचारू हुने आशा गरिएको उनी बताउँछन्।
दुवै विमानस्थल रणनीतिक महत्वका रहेको भन्दै मन्त्री पाण्डेले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारका निकायहरूले समन्वयकारी रूपमा समाधान खोज्ने प्रयास गरिरहेको पनि बताए।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भिडिओ टुर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिडिओ टुर