तिम्बुङ पोखरी-कोशी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य। कतिपयले यो ठाउँलाई पूर्वको गोसाइकुण्ड भनेर पनि चिन्छन्।
चार हजार ३ सय ३८ मिटर उचाइमा रहेको तिम्बुङ पोखरीको धार्मिक महत्त्व पनि छ। स्थानीय बासिन्दा अमीर राईका अनुसार ताप्लेजुङको सिदिङ्वा र पाँचथरको याङवरक गाउँपालिकामा पर्ने यो पोखरी प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ।
तिम्बुङमा धेरैजसो धार्मिक पर्यटनका लागि पुग्छन्। जनै पूर्णिमा र नाग पञ्चमीका दिन धार्मिक आस्था राख्दै पर्यटकहरू पुग्छन्। अहिले सिजन सुरू भएकाले ट्रेकिङका लागि तिम्बुङ उपयुक्त गन्तव्य हो।
'धेरै पहिले आसपासका जिल्लाबाट धार्मिक आस्था बोकेर आउन पर्यटक मात्र हुन्थे। अहिले विस्तारै ट्रेकिङका लागि पनि आउन थालेका छन्,' उनले सेतोपाटीसँग भने, 'बाह्रै महिना तिम्बुङमा पर्यटक भित्र्याउन हामी लागि परेका छौं।'
मौसमअनुसार तिम्बुङका फरक विशेषता छन्। असोजदेखि वैशाख महिनासम्म तिम्बुङमा हिउँ पर्छ। हिउँ हेर्न र खेल्न रूचाउनेका लागि यो उपयुक्त समय र गन्तव्य बन्न सक्छ।
यसको अर्को विशेषता भनेको पोखरी आसपासमा फूल्ने 'केन्जो' अर्थात् पदमचाल फूल हो। यो फूल यहाँको पनि केही सीमित ठाउँमा मात्र राईले बताए।
वर्षाको समयमा तिम्बुङ जाँदा भेडी गोठको आनन्द लिन सकिन्छ। भदौदेखि असोजसम्म यी गोठमा बस्न पाइन्छ।
यसकारण पनि यतिबेला ट्रेकिङका लागि तिम्बुङ पोखरी उपयुक्त गन्तव्य रहेको राई बताउँछन्।
'यो सिजनमा तिम्बुङ आउँदा पर्यटकहरूले भेडाको जीवनशैली हेर्न र बुझ्न सक्ने छन्,' उनले भने, 'चौंरीको दूध र छुर्पी खान पाइन्छ। साथमा यहाँ आउने पर्यटकलाई केन्जोले स्वागत गर्छ।'
तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरी लगायत दर्जन पोखरी छन्। यसलाई पूर्वको गोसाइँकुण्ड समेत भनिन्छ। पोखरीबाट थोरै माथि चार हजार ६ सय मिटरको उचाइमा जाने हो भने आधा दर्जन बढी हिमाल हेर्न पाइने उनले जानकारी दिए।
'सगरमाथा, कञ्चनजंघा, मकालु, कुम्भकर्ण र भारतको सिक्किम, दार्जिलिङ लगायत ठाउँको दृश्यावलोकन गर्न पनि पाइन्छ,' उनले भने।
काठमाडौंबाट तिम्बुङ पोखरी जान ७ दिन छुट्ट्याउनुपर्छ।
सवारीसाधनमा पहिलो दिन काठमाडौंबाट झापा जान सकिन्छ। दोस्रो दिन झापाको बिर्तामोडबाट ताप्लेजुङको काली खोलासम्म गाडीमै जान सकिन्छ। तेस्रो दिन पदयात्रा सुरू हुन्छ। काली खोलाको आकासेबाट नुनथलासम्म र चौथो दिन नुनथलाबाट ठूलो भञ्ज्याङ हुँदै तिम्बुङ पोखरी पुगिन्छ।
पोखरीमा एक दिन बिताएपछि पाँचौं दिन काली खोलासम्म फर्किइन्छ। छैटौं दिन गाडीमार्फत झापासम्म र सातौं दिन काठमाडौं फर्किन सकिन्छ।
पदयात्रामा लाग्ने खर्च निश्चित हुँदैन। कस्तो ठाउँमा बस्ने र कस्तो खाना खाने भन्ने कुरा पदयात्रीमा भर पर्छ।
तर सामान्यत: तिम्बुङ पोखरी जान सरसामानबाहेक एक व्यक्तिलाई १५ हजार रूपैयाँ लाग्ने राई बताउँछन्।