यती एअरलाइन्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन 'आयटा'बाट उत्कृष्ट मान्यता पाएको छ।
आयटाअन्तर्गत स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्टमा उत्कृष्ट भएसँगै यतीले आयटाबाट उक्त मान्यता पाएको हो।
यससँगै हवाइ सुरक्षा र परिचालन प्रक्रियाहरूको गुणस्तर बढाउन महत्त्वपूर्ण उपलब्धि भएको एयरलाइन्सका सिइओ सुभाष सापकोटाले बताए।
उड्डयनको क्षेत्रमा यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र दिने गरिन्छ।
'आयटाको प्रमाणपत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौं। हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धि हो,’ उनले भने, ’यस उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ, साथै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।'
आयटा कार्यक्रमले प्रमाणपत्र दिनुअघि एयरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्यांकन गर्ने गर्दछ।
विभिन्न चरणमा मूल्यांकन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एयरलाइन्सले यो मान्यता पाएको सिइओ सापकोटाले बताए।
उनका अनुसार पछिल्लो समय एयरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको छ।
आयटाद्वारा प्रदान गरिएको यो प्रमाणपत्र यती एयरलाइन्सको अन्तराष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण रहेको उनको भनाइ छ।