घर पालुवा जनावरलाई पनि अब हवाई यात्रा गर्दा साथमै लैजान पाइने भएको छ।
श्री एयरलाइन्सले छिट्टै यो सुविधा ल्याउने तयारी गरेको छ। एयरलाइन्सले यात्रुको सहजता र आवश्यकतालाई मध्यनजर गर्दै यस्तो उडानको तयारी गरेको हो।
यसअघि कोभिडअघि पनि आन्तरिक उडानमा घरपालुवा जनावर बोकेर जान पाइन्थ्यो।
कोभिडपछि भने अब श्रीले सुरू गर्न लागेको हो। कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार यात्रुले यसका लागि सुरूमा आफ्नो जनावरको भेटनरी डाक्टरबाट चेकजाँच गरी 'फिट टु फ्लाइट र क्वारेन्टाइन सर्टिफिकेट' लिनुपर्नेछ।
यो प्रकिया पूरा गरेपछि मात्र उडान गर्न पाइने उनले बताए।
'धेरै यात्रुहरूले घरमा पालेका जनावर विशेषगरी कुकुर पनि साथमै लैजान पाउनुपर्यो भनेर माग गर्नुभएपछि यो व्यवस्था ल्याएका हौं,' उनले भने, 'यसका लागि भेटनरी डाक्टरबाट सर्टिफिकेट लिएको हुनुपर्छ।'
घरपालुवा जनावरको साथमा यात्रा गर्दा सोही दिनको टिकट भने पाइँदैन। डाक्टरको सल्लाह अनुसार जनावरलाई क्वारेन्टाइनमा राख्नुपर्छ। यो अवधि २४ घन्टासम्मको पनि हुन सक्छ।
यसरी यात्रा गर्दा भाडादर भने दोब्बर नै पर्नेछ।