नागरिक उड्डयन प्राधिकरणले दुई वटा हेलिकप्टर कम्पनीको अनमुतिपत्र (एओसी)निलम्बन गर्ने तयारी गरेको छ।
सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर(सेफ्टी म्यानेजमेन्ट सिस्टम) अति नै न्यून भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बनको तयारी गरेको हो।
हाल प्राधिकरणले सबै वायुसेवा कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर कार्यान्वयनको अवस्थाको विषयमा अडिट गरिरहेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनकाअनुसार प्राधिकरणले तोकेकोभन्दा कम दर हुनेलाई उडानमै प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको थियो।
प्राधिकरणले गत मंगलबार वायुसेवा कम्पनीहरूको सेफ्टी म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ६० प्रतिशतभन्दा कम देखिएमा सम्बन्धित एयरलाइन्सको उडानमा रोक लगाउने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम दुई हेलिकप्टर कम्पनीको अडिट ६० प्रतिशतभन्दा कम देखिएकाले तत्कालका लागि उडानमा रोक लगाउँदै स्पष्टीकरण मागेको छ।
'एसएमएस अडिटमा देखिएको कमजोरीलाई कसरी हटाउन सकिन्छ भनेर प्राधिकरणले दुबै हेलिकप्टर कम्पनीलाई ७२ घन्टाभित्र सफाइ पेस गर्न पत्र पठाएका छौं,' उनले भने, 'यो समयमा एक्सन प्लान बुझाएन भने एओसी निलम्बन हुनेछ।'
सबै एयरलाइन्स सहितको 'हाइ लेभल सेफ्टी कोर्डिनेसन कमिटी'को सहमतिअनुसार प्राधिकरणले आइकाओको सेफ्टी रणनीतिअनुसार नेपालमा 'एसएमएस' परिपालनाको न्यूनतम दर ६० प्रतिशत कायम गर्ने निर्णय गरेको उनले बताए।
प्राधिकरणले ६० देखि ७५ प्रतिशत परिपालना दर भएका एयरलाइन्समाथि पनि कडाइ गर्ने भएको छ।
यस्तो दर भएका एयरलाइन्सलाई उडान विस्तारको अनुमति नदिने, स्वीकृत उडानको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने, नयाँ जहाज खरिदको अनुमति नदिने जस्ता निर्णय प्राधिकरणले गरेको छ।