थाइ एयर एसियाले बैंकक-काठमाडौं र बैंकक-भैरहवाका लागि उडान गर्ने अनुमति पाएको छ।
एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले बिहीबार भैरहवामा उडान गर्ने अनुमति दिएको हो। यससँगै अब थाइ एयर एसियाले सातामा चार दिन भैरहवा र तीन दिन काठमाडौंबाट उडान गर्ने अनुमति पाएको हो।
'थाइ एयर एसियाले सेप्टेम्बरबाट नेपालका लागि दैनिक उडान अनुमति मागेको थियो,' प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, 'सातामा चार दिन भैरहवा र तीन दिन काठमाडौंबाट गर्ने गरी उडान अनुमति दिइएको छ।'
उनका अनुसार थाइले आगामी असोज ४ देखि बैंकक-काठमाडौं दैनिक उडानका लागि अनुमति मागेको थियो। तर, विमानस्थल स्तरोन्नतिको काम भइरहेकाले कात्तिक २३ (नोभेम्बर ८)बाट १० घन्टा बन्द हुँदैछ।
विमानस्थलको क्षमता घट्ने भएकाले थाइको चार वटा उडान भैरहवाबाट गर्ने गरी स्वीकृत गरिएको उनले बताए।
नेपालमा नियमित उडान गर्न थाइ एयर एसियाले लामो समयदेखि प्रयास गरिरहेको थियो। यसको मूल कम्पनी एयर एसियाले मलेसियाबाट उडान गर्दा काठमाडौं विमानस्थलको बक्यौता नतिरी बाहिरिएको थियो।
करिब २४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत् नेपाल फर्किन चाहे पनि पुरानो बक्यौता नतिरी उड्डयन प्राधिकरणले उडान अनुमति दिएको थिएन। एयर एसियाले किस्ता सुविधा माग गर्दै बक्यौता तिर्ने सम्झौता गरेको थियो।
प्राधिकरणका अनुसार पछिल्लो केही महिनादेखि उक्त एयरलाइन्सले नियमित किस्ता बुझाइरहेको छ।
थाइ एयर एसियाले हाल बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ।
२०७९ जेठमा सञ्चालनमा आएको यो विमानस्थलमा यसअघि कुवेतको जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान गरेका थिए। चार्टर्ड उडान भइरहे केही समय यता नियमित उडान भने भएको छैन।