७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर दुर्घटनाबारे प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा जहाज दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालिएको थियो।
यो पनि पढ्नुस्ः पोखरामा दुर्घटना भएको यतीको जहाजमा अन्तिम समय अत्तालिएकी को-पाइलट अञ्जु (अडिओ)
२०८० पुस १२ मा आयोगले तयार पारेको प्रतिवेदनमा सुरक्षाबारे सुझाव पनि दिएको थियो। प्रतिवेदनमा वायुसेवा सञ्चालक (अपरेटर), नागरिक उड्डयन प्राधिकरण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (सरकार) लाई तोकेर ९ बुँदामा सुझाव दिइएको थियो।
यस्ता छन् आयोगले दिएका सुझावहरूः
वायुसेवा सञ्चालक (अपरेटर) लाई सुझाव
१. वायुसेवा सञ्चालकहरूले नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाउनका लागि डिजाइन वा प्रस्ताव गर्दा स्टेबलाइजेसन (स्थिरीकरण) मापदण्डलाई ध्यानमा राख्नुपर्छ।
२. नयाँ विमानस्थलमा (पहिलोपटक) विमान सञ्चालन गर्नुअघि अपरेटरले चालक दललाई पर्याप्त मात्रामा आवश्यक सबै तालिम दिनुपर्छ। यी तालिम सीपमा आधारित हुनुपर्छ।
३. कुनै पनि उडानका क्रममा चालक दल संसाधन व्यवस्थापन (सिएमआर) अनुशासन सम्बन्धी नियमहरू उल्लंघन भए-नभएको र चेकलिस्ट अनुसार पालना गरे-नगरेको बारेमा सुरक्षा विभागले प्रभावकारी अनुगमन गर्नुपर्छ। र, आवश्यक परे तुरून्त सुधार्ने गरी कामकारबाही अगाडि बढाउनुपर्छ।
४. कुनै पनि नयाँ वातावरणमा विमान सञ्चालन गर्दा, विमानको क्लियरेन्सको मापदण्ड बनाउनु र चालक दललाई स्वीकृति दिनुभन्दा अगाडि अपरेटरले मानवीय कारकहरू र अरू सम्भावित सुरक्षाका विषयहरूलाई ध्यानमा राखेर विस्तृत रूपमा मेन्टिनेन्स अपरेसन कन्ट्रोल (एमओसी) अध्ययन गर्नुपर्छ।
५. अपरेटरले चालक दलका लागि पर्याप्त प्राविधिक आधारभूत कक्षा र तालिम दिनुपर्छ।
नागरिक उड्डयन प्राधिकरणलाई सुझाव
६. सुरक्षित उडान सुनिश्चित गर्नका निम्ति विमानस्थलमा उडान/अवतरणको स्थान प्रमाणीकरण प्रकियामा विमानस्थल सुरक्षा मापदण्ड विभाग (एटिएटएस) ले सुरक्षाका सबै मापदण्ड ध्यानमा राख्नुपर्छ। हरेक विमानका लागि एटिएसका प्रक्रियाहरू, भिजुअल सर्किटहरू र स्ट्याबलाइजेसन मापदण्डहरू विचार गर्नुपर्छ। त्यस्त विमानको डिजाइन र सो विमान उड्ने वातावरणबारे जानकारी पनि यकिन हुनुपर्छ।
७. विमान उड्नका लागि स्पष्ट र उपयुक्त मार्ग स्वीकृत गरिएको छ भन्ने प्राधिकरणले सुनिश्चित गर्नुपर्छ। यसले अपरेटरलाई नयाँ विमानस्थल (पहिलोपटक) वा गइरहेकै विमानस्थलको नयाँ फ्लिटमा उडान भर्न सहज हुन्छ।
८. प्राधिकरणले हवाई प्रणाली (एभिएसन) मा भएको कुनै पनि परिवर्तनको प्रभाव मूल्याकंन र व्यवस्थापन गर्नुपर्छ। परिवर्तनपछि सम्भावित सबै सुरक्षा जोखिमहरूको मूल्यांकन गरिनुपर्छ। जोखिम मूल्यांकन र नियन्त्रण नगरी नयाँ प्रणालीमा कुनै पनि उडान हुन दिन हुँदैन।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव
९. नेपाल सरकारले शिकागो कन्भेन्सनको परिशिष्ट १३ का अनुसार अन्तर्राष्ट्रिय मापदण्ड पूरा हुने गरी पर्याप्त वित्तीय, मानवीय र प्राविधिक स्रोतहरू भएको स्थायी अनुसन्धान इकाई स्थापना गर्नुपर्छ।