पोखरामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले गरेको आन्दोलनको क्रममा पर्यटक सवारीका चालक-सहचालकमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ।
टुरिष्ट बस एसोसिएसन अफ नेपालले सोमबार विज्ञप्ति जारी गर्दै पर्यटकीय सवारीमा भएको तोडफोड, सवारीका चालक-सहचालकमाथि हातपात र पर्यटकहरूमाथि भएको अभद्र व्यवहार गर्नेहरूलाई कारबाही गर्न माग गरेको हो।
विज्ञप्तिमार्फत पर्यटकहरूको सेवासुविधा तथा सुरक्षासमेतलाई मध्यनजरमा राख्न एसोसिएसनले ध्यानाकर्षण गराएको छ।
‘आन्दोलनलाई थप संयमित, मर्यादित र शान्तिपूर्ण बनाउन आन्दोलनकारी संस्थाहरूलाई अनुरोध गर्दै सम्बन्धित निकायहरूसँग शान्ति सुरक्षाको प्रत्याभुती गराउन र नागरिकको अधिकारलाई हनन हुने विषयमा गम्भीर भइदिन पनि जोडदार माग गर्दछौं,’ एसोसिएसनका अध्यक्ष कृष्ण आचार्यले भनेका छन्।
आइतबार पोखरामा लामो तथा छोटो दुरीका सवारीसाधनहरू बन्द गरी यातायात व्यवसायीहरूले आन्दोलन गरेका थिए। गण्डकी प्रदेश सरकारले राइड शेयरिङ एप सम्बन्धी विधेयक ल्याउन लागेको भन्दै उनीहरूले विरोध जनाएका थिए।
आन्दोलनकै क्रममा यातायात व्यवसायीहरूले पर्यटक सवारीमाथि तोडफोड, चालक सहचालकमाथि दुर्व्यवहार समेत गरेका थिए।
त्यस्तै दुई जना पत्रकारमाथि समेत कुटपिट गरेका थिए। पछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका थिए।